कविता : मेरा बा

वासुदेव भट्टराई

मेरा बा

 

धमिलो क्षितिजको उकालो बाटो

चोर औँला समाएर

बालकजस्तै डोर्‍याउँदै लग्यो मृत्युले ।

 

मुटुको रोगी

कत्ति बढेन सास त्यस बेला,

दुखेनन् दुब्ला खुट्टाका गोली गाँठाहरू

सजिलै पहिलियो बाटो

आँखालाई चाहिएन मोटो चस्मा

खालि खुट्टा बतास टेक्दै

पुग्नुभयो

मेरा बा

सुनै सुनको नगरमा ।

 

हाम्रै अगाडि डढ्यो

कपासजस्तो उज्यालो कपाल,

आगोमा

जल्यो आँखाको थोपा-थोपा पानी,

जले

गोडा र हातका ती पन्जा,

जसले पहिलोपल्ट

उफारेका थिए

मलाई आकाशमा ।

 

यसरी जानु भो

बा

कुटिरो पारेर

आमाको सिन्दूर/ सुनको मडहरी

छोडेर मुटुमा

अत्यासको, पीडाको बलियो गाँठो ।

 

सुनको रथमा बाइपङ्खी घोडाले

दगुराउँदै पुर्‍यायो

देव नगरीका सडकहरूमा

र मेरा बा

हाँस्नुभयो थोते मुस्कान

त्यति बेला,

जति बेला नारायणीमा बगायौँ हामीले

एक टुक्रा अस्तु ।

 

-बुद्धि

बुबाले छोडेर जानु भएको आज ४ वर्ष पुरा भयो ।

जब अजङको भारीले थिच्छ अनि बुबाको काँध सम्झिन्छु ।

हजुरको आत्माले शान्ति पाओस् ।

 

प्रकाशित:
2020/11/20, 9:07