निर्वाचन प्रहरीका लागि आवेदन दिनेको घुइँचो

सुदूर प्रेस संवाददाता

धनगढी– निर्वाचन प्रहरीका लागि आवेदन दिनेहरूको देशैभरका प्रहरी कार्यालयमा भीड लागेको छ । 

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने गरि एक लाख ३३ हजार ९ सय निर्वाचन प्रहरीका लागि भर्ना खुलाएसँगै आवेदन दिनेहरूको भीड लागेको हो । शुक्रबार कार्यलय समयदेखि नै निर्वाचन प्रहरीका लागि दर्खास्त बुझाउनेहरूको भीड लागेको छ । आवेदन दिने समय १ माघसम्म तोकिएको छ ।

आवेदन दिन आएकाहरू छोटो समयकै लागि भए पनि रोजगारी मिल्ने र देशको सेवा पनि गर्न पाइने भएकाले निर्वाचन प्रहरी बन्न लागेको बताउँछन् । नियमिततर्फका सुरक्षाकर्मीबाट जनशक्ति अपुग भएपछि सरकारले नेपाल प्रहरीमार्फत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीमार्फत १५ हजार १ सय १० जनशक्तिलाई ४० दिनको अवधि तोकेर ‘निर्वाचन प्रहरी’ का रूपमा छनोट गरी परिचालन गर्न लागेको हो ।

सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरीका लागि केही दिनमै आवेदन खुलाउने तयारी गरेको छ। निर्वाचन सुरक्षाका लागि सरकारले करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्दैछ। जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग तथा ४० दिन कार्यअवधि तोकेर करिब डेढ लाख ‘निर्वाचन प्रहरी’ खटाउने सरकारको तयारी छ। 

केन्द्रीय सुरक्षा समिति बैठकको निर्णयअनुसार निर्वाचन सुरक्षामा आ-आफ्ना जिम्मेवारी र अधिकारक्षेत्र तोकेर सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका १ लाख ८८ हजार ३ सय ६३ जनशक्ति परिचालन गर्ने गरी सुरक्षा व्यवस्थापन खाका बनेको छ।

प्रकाशित:
२०८२ पुष २५, ०४:५४
SPA
KN
Priya Gahana Pasal