बैतडीमा मरेका १४ गाईको व्यवस्थापन गरियो, पक्राउ परेकामाथि मुद्दा

gau hatya
सुदूर प्रेस संवाददाता

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिका-६ मुडेली नजिक मरेको अवस्थामा फेला पारेका १४ गाईको व्यवस्थापन गरिएको छ।  पुर्चौडी नगरपालिकाका प्रतिनिधि, पाटन नगरपालिकाका प्रतिनिधि, प्रहरी र स्थानीय बासिन्दाले मरेका १४ गाईलाई व्यवस्थापन गरेको हो। 

मरेका गाईलाई खाल्डोमा गाडेर व्यवस्थापन गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।  पाटन नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि प्रतिगाई २ हजार ५ सयका दरले रकम तिरेर २९ छाडा गाईलाई ठेकेदारको  जिम्मा लगाएका थिए। तर जिम्मा लगाइएका भनिएका पुर्चौंडी नगरपालिका ५ का लक्ष्मण पार्की र  सुरेश पार्कीले भीरबाट खसालेर गाई मारेको आशङ्का गरिएको छ।

आशंका गरिएकामध्ये  लक्ष्मण पार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

यस्तै, सोही कार्यमा संलग्न रहेको आशंका गरिएको सुरेश पार्की भनेर फरार रहेका छन्। पक्राउ परेका पार्कीमाथि गौहत्या अभियोगमा मुद्दा दायर गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

पाटन नगरपालिकाबाट प्रतिगाई २ हजार ५ सयका दरले ताक्ला कोट लैजान्छु भनेर गाई लिएका दुवै जनाले भीरबाट खसालेको हुनसक्ने जनाइएको छ।

नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि दुवै जनालाई केही दिनअघि प्रतिगाई २ हजार ५ सयका दरले रकम तिरेर २९ छाडा गाई जिम्मा लगाएका थिए। तर बिहीबार १४ गाई मरेको अवस्थामा फेला परेका थिए।

गौहत्या गरे यस्तो छ कानुन

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को पशुपक्षीसम्बन्धी कसुरमा गाई, गोरु मार्न वा कुट्न नहुने उल्लेख छ।

परिच्छेद २७ को दफा २८९ को उपदफा १ मा भनिएको छ, ‘कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन।’

सोही दफाको उपदफा (२) मा उपदफा (१) बमोजिमको कामबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने उल्लेख छ।

उपदफा (३) मा कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पुर्‍याएमा पचास हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ।

तर गाई वा गोरुले जिउ ज्यानमा क्षति पुगाउन लागेका बेला मर्न गएकामा कसुर गरेको नमानिने व्यवस्था समेत गरिएको छ।

उपदफा ४ मा भनिएको छ,  उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै गाई वा गोरुले आफ्नो वा अरूको जिउ वा ज्यानमा पुर्‍याउन लागेको क्षति बचाउन आवश्यक परेको कुनै काम गर्दा त्यस्तो गाई वा गोरु मर्न गएमा वा त्यस्तो गाई वा गोरुलाई कुनै चोट पुग्न गएको रहेछ भने यस दफाबमोजिम कसुर गरेको मानिने छैन।

प्रकाशित:
2020/11/21, 8:25