यस कारण आबश्यक छ कोभिड बिरामीका लागी आईसीयू

Corona Update
डा. हेमराज पनेरू
सुदूर प्रेस संवाददाता

कोभिड–१९ को महामारीमा संसारभरि नै आईसीयूको आवश्यकता टड्कारो रूपमा देखापर्‍यो । सारा संसारले आईसीयू अपुग भएर कैयौँ जनताको ज्यान गुमाउनुपरेको तीतो यथार्थ झेल्नुप¥यो । नेपाल पनि अछुतो रहेन । यस महामारीले हाम्रो स्वास्थ्य सेवा व्यवस्था कति कमजोर छ भन्ने उदाङ्गो पर्‍यो । यसक्रममा हाम्रो देशमा आईसीयूको उपलब्धता, त्यहाँ काम गर्ने जनशक्ति तथा उपकरणहरूका बारेमा धेरै चर्चा भयो तर समस्या समाधानका लागि प्रभावकारी उपायहरू सशक्त रूपमा अपनाइएको पाइएन । पर्याप्त खर्च देखाइए पनि सरकारले अलमलमै समय बिताएको अनुभूति स्वास्थ्यकर्मी तथा जनताले गरे ।
नेपालमा आईसीयूको विकास एकदमै मन्द गतिमा भइरहेको छ । सरकारको कोसिस नीतिगत रूपमा समेत अपर्याप्त छ । सिकिस्त बिरामीहरूको उपचारका लागि विशेष किसिमले तालिमप्राप्त स्वास्थ्यकर्मीहरूको अटुट निगरानीमा विभिन्न किसिमका उपकरणसमेतको सहयोग लिई उपचार गर्न व्यवस्था मिलाइएको कक्ष वा वार्ड आईसीयू हो । अस्पतालका अन्य वार्डहरूको दाँजोमा आईसीयूको भवन निर्माण, बनावट, स्वास्थ्यकर्मीहरूको तालिम, उपकरणको व्यवस्था र सञ्चालन प्रक्रिया फरक हुन्छ ।

 किन आवश्यक छ ?
रोगको प्रकृतिअनुसार विभिन्न अङ्गहरूमा हुने असरहरू फरक–फरक हुन्छन् । कतिपय रोगहरू समयक्रममा आफैँ ठीक हुन सक्छन्, कतिपय रोगहरू सामान्य उपचारले ठीक हुन्छन् भने केही रोगहरूले चाहिँ शरीरका विभिन्न अङ्गहरूमा गम्भीर असर गरी ज्यानलाई जोखिमको अवस्थामा समेत पु¥याउँछन् । ज्यानलाई नै जोखिमको अवस्थामा पु¥याउने रोगहरूको उपचार जटिल हुनुका साथै, खर्च र समयसमेत धेरै लाग्ने हुन सक्छ । उपचार सम्भव भएका तर तुरुन्त ज्यान जाने प्रकृतिका रोगहरूको उपचारका क्रममा ज्यान बचाइराख्ने कृत्रिम उपायहरू अवलम्बन गर्नु निकै आवश्यक हुन्छ, जसका लागि विशेष किसिमले तालिमप्राप्त स्वास्थ्यकर्मीहरू तथा उपकरणहरूको आवश्यकता हुन्छ । यस्तो उपचार व्यवस्थाका लागि आईसीयू अत्यावश्यक हुन्छ ।

हाम्रो अवस्था
हाम्रो देशमा आईसीयूका लागि चाहिने दक्ष जनशक्ति, उपकरण तथा बेड (शøया) सङ्ख्याको चरम अभाव छ । भएका आईसीयूहरू समेतको उपचार क्षमताका आधारमा वर्गीकरण गरिएको छैन । नेपाल सरकारले आफैँ बनाएका मापदण्डहरूसमेत व्यवहारमा लागू गरिएको देखिँदैन । सरकारले तोकेका मापदण्ड (२०७०) हरू हेरौं ः
१. अस्पतालमा कुल उपलब्ध बेडको पाँच प्रतिशतको अनुपातमा आईसीयू बेड व्यवस्था गरेको हुनुपर्छ ।
२. आईसीयू कक्षमा प्रति दुई शøयाका लागि एक भेन्टिलेटर हुनुपर्छ ।
३. प्रतिशøयाको अनुपातमा एकजना स्टाफ नर्सको व्यवस्था हुनुपर्छ ।
४. कडा सरुवा रोग भएका बिरामीलाई सघन उपचार आवश्यक परेमा बिरामीलाई छुट्टै आइसोलेसनमा उपचारको प्रबन्ध मिलाएको हुनुपर्नेछ ।
नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनले काठमाडौँ उपत्यकामा आठ महिनाअघि गरेको सर्वेक्षणअनुसार उपत्यकामा रहेका सबै सरकारी तथा निजी अस्पतालसमेत गणना गर्दा जम्मा ४८० वटा आईसीयू शøया रहेको पाइएको थियो । जसमध्ये झन्डै १५० शøयाचाहिँ सरकारी अस्पतालहरूमा थिए । भेन्टिलेटरको सङ्ख्या झन्डै २६० थियो भने जम्माजम्मी आठ सयजना क्रिटिकल केयर नर्सिङमा अनुभव वा तालिमप्राप्त नर्सहरू रहेका थिए । सरकारको पहलका साथै निजीस्तरबाट समेत बितेका आठ महिनामा केही आईसीयू बेड थपिएका छन् । विशेषज्ञताप्राप्त क्रिटिकल केयर फिजिसियन एकदमै थोरैमात्र अस्पतालहरूमा छन् । काठमाडौँ उपत्यकाबाहिरका मुख्य सहरहरूमा पनि आईसीयूहरू सञ्चालनमा छन् तर उपलब्ध सेवाका बारेमा यकिन तत्थ्याङ्क छैन । लेभल–३ सुविधा भने निकै थोरै आईसीयूहरूमा मात्र रहेको छ । धेरैजसो अस्पतालहरूमा छुट्टै आइसोलेसन बेड छैनन् ।
आईसीयू सञ्चालनको नेतृत्वविशेष किसिमले प्रशिक्षित क्रिटिकल केयर फिजिसियन वा इन्टेन्सिभिस्टले गर्नुपर्छ । आईसीयूको प्रभावकारी सञ्चालनका लागि आईसीयूकै लागि छुट्टै जिम्मेवारीसहितको जनशक्ति अत्यावश्यक हुन्छ । हाम्रो देशमा भने आईसीयू सञ्चालनमा रुचि भएका तर अरू पनि जिम्मेवारी निभाइरहेका चिकित्सकहरूले (जस्तै ः एनेस्थेसियोलोजिस्ट, इन्टर्निस्ट, जनरल सर्जन आदि) आईसीयूको समेत जिम्मेवारी सम्हालिरहेका छन्, जुन सराहनीय छ तर एकदमै अपर्याप्त छ । नर्सिङलगायत अन्य जनशक्तिसमेत नगन्यमात्र उपयुक्त किसिमले तालिमप्राप्त छन् । सरकारी निर्देशिका आईसीयू सञ्चालनको नेतृत्व कसले गर्ने भन्नेबारे मौन छ । आजसम्म नेपाल सरकारको स्वास्थ्य सेवामा क्रिटिकल केयर मेडिसिनलाई छुट्टै विधाका रूपमा अङ्गीकार गरिएको देखिँदैन, जुन आईसीयूको स्थापना, उपयुक्त सञ्चालन, र विकासका लागि निकै महŒवपूर्ण र अत्यावश्यक छ । इन्टेन्सिभिस्ट (क्रिटिकल केयर फिजिसियन)विनाको लेभल–३ आईसीयू कल्पनासमेत गर्न सकिँदैन । देशभरिका सरकारी स्वास्थ्य संस्थाहरू हेर्दा एकाध आईसीयूबाहेक धेरैजसो आईसीयूहरूमा लेभल–३ स्तरको सुविधा उपलब्ध छैन ।

कति आईसीयू बेड आवश्यक
नेपाल सरकारको २०७० को मापदण्डअनुसार ५० शøया क्षमताभन्दा ठूला अस्पतालहरूमा कुल बेडको पाँच प्रतिशतको अनुपातमा आईसीयू बेड व्यवस्था गरेको हुनुपर्छ । ठूला अस्पतालहरूमा कम्तीमा १० प्रतिशतको अनुपातमा लेभल–३ बेड हुनुपर्छ । अहिले स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेका कुनै पनि अस्पतालमा सरकारी मापदण्ड कार्यान्वयन भएको पाइँदैन । उदाहरणका लागि जम्माजम्मी २० बेडभन्दा कम आईसीयू बेड रहेको वीर अस्पतालमा लेभल–३ बेड सङ्ख्या न्यून रहेको छ । जब कि कम्तीमा पनि ६० बेड लेभल–३ आईसीयू हुनुपर्ने हो । त्रिवि शिक्षण अस्पतालमा पनि कम्तीमा ६० बेड हुनुपर्नेमा जम्मा ११ बेड लेभल–३ आईसीयू छ । अन्य प्रमुख अस्पतालहरूको स्थिति योभन्दा पनि नाजुक छ ।

आईसीयू कस्तो हुनुपर्छ ?
आईसीयूको निर्माण सिकिस्त किसिमका बिरामीहरूको उपचारमा केन्द्रित भई गरिएको हुनुपर्छ । यस्ता बिरामीहरू अटुट रूपले स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष निगरानीमा रहन्छन् । शरीरका विभिन्न अङ्गहरूले काम गर्न छोडिरहेको अवस्थामा मुख्य रोगको उपचारसँगै ती अङ्गहरूको कामलाई कृत्रिम रूपमा सघाउने प्रक्रियाहरूको (जस्तै ः कृत्रिम श्वासप्रश्वास वा मेकानिकल भेन्टिलेसन, रक्तचाप बढाउने औषधिहरू, हेमोडायालिसिस आदि) व्यवस्था आईसीयूमा गरिएको हुन्छ । यी र ज्यान बचाइराख्न आवश्यक पर्ने यस्ता किसिमका प्रक्रियाहरूका लागि विभिन्न विशिष्ट किसिमका तालिमप्राप्त जनशक्ति (जस्तै ः इन्टेन्सिभिस्ट वा क्रिटिकल केयर फिजिसियन, क्रिटिकल केयर नर्स, फिजियोथिरापिस्ट, फार्मासिस्ट, डायटिसियनलगायत अन्य सहयोगीहरू) चौबीसै घण्टा सेवामा उपस्थित रहनुपर्छ । सामान्य वार्डभन्दा निकै भिन्न किसिमले निर्मित आईसीयू सञ्चालन इन्टेन्सिभिस्ट (क्रिटिकल केयर फिजिसियन)को नेतृत्वमा हुनुपर्छ र एकजना बिरामी हेर्नका लागि एकजना समर्पित (डेडिकेटेड) नर्स हुनुपर्छ । बिरामीको मुटुको गति, रक्तचाप, श्वासप्रश्वासको गति, शरीरको तापक्रम लगातार रूपमा नापिरहने उपकरण र अन्य यन्त्रहरू बिरामीलाई जोडेरै राखिएका हुन्छन् ।

आईसीयूको निर्माण कसरी ?
निर्माणका हिसाबले आईसीयू निकै खर्च लाग्ने वार्ड हो । आईसीयूको निर्माणका लागि मुख्य रूपमा चारवटा क्षेत्र छुट्याउनुपर्छ । प्रत्येक क्षेत्रको निर्माण निश्चित मापदण्डहरू ध्यानमा राखी गर्नुपर्छ । जस्तै बेड राख्ने ठाउँ, बेडवरिपरि हुनुपर्ने खुला ठाउँ, झ्यालको साइज, भेन्टिलेसन, हावाको बहाव र चाप, हावा छान्ने या निर्मलीकरण गर्ने प्रविधि, तापक्रम नियन्त्रण गर्ने प्रविधि इत्यादि । यसका लागि विभिन्न व्यावसायिक संस्थाहरूले गाइडलाइनहरूसमेत प्रकाशित गरेका छन् ।

आईसीयूको सरकारी संरचना
हाम्रो अहिलेसम्मको अवस्था हेर्दा आईसीयू भनेको भवन, मोनिटर अनि भेन्टिलेटर हो भन्ने बुझाइ देखिन्छ, जुन खेदपूर्ण छ । विशिष्ट जनशक्ति र उपचार व्यवस्था सञ्चालन प्रक्रिया अपरिहार्य हो भन्ने बुझाइको कमी सरकारी अस्पतालहरूमा देखिन्छ । आजसम्म सरकारी संरचनामा इन्टेन्सिभिस्टहरूको दरबन्दी नै छैन । आईसीयू व्यवस्थापनको जिम्मेवारी अरू पनि थुप्रै जिम्मेवारी सम्हालिरहेका फिजिसियन या एनेस्थेसियोलोजिस्टहरूलाई दिइएको छ । यस किसिमले व्यवस्थापन गर्न खोज्दा उहाँहरूले पर्याप्त समय आईसीयूको व्यवस्थापनमा दिन सकिरहनुभएको छैन । आईसीयूहरूको विकास अति मन्द गतिमा हुनुमा यो पनि एउटा प्रमुख कारण हो ।

छुट्टै विधा
आईसीयू सञ्चालनका लागि भवन निर्माण र सामग्री खरिद एउटा सानो पाटोमात्र हो । वास्तविक आईसीयूका लागि त एउटा उपचार प्रणालीको समग्र रूपमा विकास र सञ्चालन सबैभन्दा प्रमुख कुरा हो । यस प्रकारको प्रणालीको विकास र सञ्चालन निरन्तर चलिरहनुपर्ने प्रक्रिया हो । जबसम्म क्रिटिकल केयरलाई छुट्टै विधाका रूपमा अङ्गीकार गरिँदैन तबसम्म यसको अपेक्षाकृत विकास हुन सक्दैन ।

 खर्च र गुणस्तरमा फरक
आईसीयू कस्तो हुनुपर्छ भन्ने हेर्न विदेश जानुपर्दैन, यहीँकै निजी अस्पतालहरूमा हेरे पुग्छ । प्राइभेट अस्पतालहरूले सरकारी अस्पतालहरूको तुलनामा धेरै बढी लगानी गरेको देखिन्छ । सरकारी अस्पतालहरूमा तालिमप्राप्त जनशक्ति अत्यन्तै न्यून छ या छँदै छैन भन्दा पनि हुन्छ । यसका कारणहरू निम्न छन् ः सरकारी संयन्त्रले विशेष किसिमले तालिमप्राप्त जनशक्ति नभई गुणस्तरीय सेवा दिन सम्भव छैन भन्ने कुरा स्वीकार गर्न नसक्नु । आईसीयूको उपचार खर्च अत्यधिक धेरै हुन्छ । किनभने निर्माणमा लगानी धेरै हुन्छ । तालिमप्राप्त नर्स चौबीसै घण्टा बिरामी स्याहारमा खटिनुपर्ने, डाक्टरहरू चौबीसै घण्टा आईसीयूभित्रै बसिरहनुपर्ने, बिरामीको रगत तथा अन्य रोग निदानका लागि आवश्यक जाँचहरू दिनदिनै र कतिपय अवस्थामा त प्रत्येक एक घण्टामै गरिरहनुपर्ने, सरसफाइ कर्मचारी धेरै र फोहोरमैला व्यवस्थापन खर्चिलो हुन्छ । निजी अस्पतालहरूको दाँजोमा सरकारी अस्पतालहरूको व्यवस्थापकीय पक्ष निकै कमजोर छ । निजी अस्पातालहरूले पर्याप्त मानवस्रोतको व्यवस्थापन गरेका छन्, सरकारी अस्पातालको तुलनामा ।

 सुधारका लागि
सरकारी संयन्त्रमा आमूल परिवर्तन आवश्यक छ । बिरामीको उपचारलाई ध्यानमा राखी आईसीयूको निर्माण निश्चित मापदण्डबमोजिम गरिनुपर्छ । आईसीयूहरूलाई लेभल–१, २ र ३ मा वर्गीकरण गर्नुपर्छ र सोहीअनुसार थप स्रोत परिचालन गरिनुपर्छ ।
बिरामी आफूखुसी आफैँले रोजेको अस्पतालमा जाने चलन छ । यसमा कुनै रोकावट वा सहजीकरण हुन सकेको छैन । निश्चित गाइडलाइन पालन गर्ने र आवश्यक सेवा स्थानीयस्तरमै उपलब्ध गराउनु अहिलेको आवश्यकता हो । सम्प्रेषण प्रणालीलाई चुस्त बनाउनु अपरिहार्य छ । आईसीयूहरूबीच समन्वय एवम् एकीकृत सञ्चालन व्यवस्था आवश्यक छ ।
विभिन्न संस्थाहरूमार्फत सरकारले नर्सहरूलाई आईसीयूसम्बन्धी तालिम सञ्चानल गरिरहेको छ तर ती तालिमप्राप्त नर्सहरूलाई उचित ठाउँहरूमा पदस्थापन गरिएको छैन । यसको प्रभावकारी व्यवस्थापन गर्न अत्यन्त जरूरी छ । आईसीयूको निर्माण, जनशक्तिको उचित व्यवस्थापन, सञ्चालनको ढाँचा नै नबनाई अन्धाधुन्ध भौतिक सामग्री खरिद गर्ने गरिएको देखिन्छ । यस्तो नीतिका कारण करोडौँको लगानी खेर गइरहेको छ । 
(लेखक नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका महासचिव हुनुहुन्छ ।)

 

प्रकाशित:
2020/12/05, 8:36
SPA
KN
Priya Gahana Pasal