नेकपाको विवादले कञ्चनपुरमा पालिकाका काम प्रभावित

kp pk
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई यतिबेला निकै समस्या परेको छ । वडा कार्यालयको कामकाजसँगै केही दिनयता नियमितजसो भइरहने पार्टीका कार्यक्रममा समेत उपस्थित हुनुपर्ने भएका कारण उनलाई गाह्रो भएको हो ।

उनलाई एकातिर सेवाग्राहीको कामको चाप, अर्कोतिर कार्यक्रममा नजाँदा फरक समूहको आरोप लाग्ने डर छ । ‘वडाध्यक्ष भनेको त कर्मचारी जस्तै हो, एक दिन कार्यालय नगए सेवाग्राहीका धेरै काम रोकिन्छन्,’ नाथले भने, ‘अहिले पार्टीका कार्यक्रमहरू पनि दिनहुँजसो भइरहेका छन्, कार्यक्रममा सहभागी हुन पनि त्यस्तै दबाब छ ।’ नाथ साविक नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । नेकपाको केन्द्रमा देखिएको विवादको असर वडा तहसम्मै पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल तथा माधव नेपाल समूहले दिनहुँजसो गर्ने कार्यक्रममा सहभागी हुनुपर्ने दबाबका कारण जनप्रतिनिधिहरूलाई कामको चाप बढेको हो ।

साविक एमाले र माओवादी केन्द्रबाट जितेका अधिकांश जनप्रतिनिधिहरू खुलेर लागिसकेका छन् । कतिपय अहिले पनि पर्ख र हेरको स्थितिमा रहेका छन् । ‘अहिले विकास निर्माणमा ध्यान दिने बेला हो,’ लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले भने, ‘यही बेला पार्टी विभाजित हुन थालेपछि तल्लो स्तरसम्मै कार्यक्रमहरू पनि हुन थालेका छन् ।’ साविक माओवादी केन्द्रबाट निर्वाचित भएका उनले पार्टीमा देखिएको विवादको असर स्थानीय तहमा सबैभन्दा बढी परेको बताए । पालिकाका प्रमुखदेखि वडा सदस्यहरूसमेत नेकपाका आआफ्ना समूहका कार्यक्रममा सहभागी हुन थालेपछि कामकाज ठप्प हुने अवस्था आएको छ ।

‘केन्द्र विवादको प्रभाव तल्लो तहसम्मै पुगेको छ,’ कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले भने, ‘स्थानीय तहका जनप्रतिनिधिमा अन्योलता पनि सिर्जना भएको छ, कुन समूह आधिकारिक हो र कता जाने भनेर ।’ उनका अनुसार जनप्रतिनिधिहरू फरकफरक गुटमा लागेमा स्थानीय तहमा काम गर्न समस्या हुन सक्छ । हमाल साविक नेकपा एमालेबाट मेयर निर्वाचित भएका हुन् ।

नौवटा स्थानीय तह रहेको कञ्चनपुरमा सात स्थानीय तह प्रमुख नेकपाबाट निर्वाचित छन् । ‘माथिको जस्तै तल पनि कार्यकर्ता विभाजित भए स्थानीय तहमा काम गर्न गाह्रो हुन्छ,’ बेलडाडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाले भने ।

प्रकाशित:
2021/01/07, 6:26