कफीको चुस्की सँगै कालो गाढा रङलाई नियाल्दै, हामीले जिवनमा पनी यही गाढा रङ्ग जस्तै सकारात्मक प्रभाव छाड्न सफल हुनेतर्फ सदैब प्रयासरत हुन सक्यौं भने जिवन साच्चै नै अर्थपुर्ण हुने तथ्यलाई स्मरण गरिरहँदा पृष्ठभुमीमा बजेको एक गितले ध्यानाकर्षण गरिदियो । “तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो....” सुप्रसिद्ध गायक कर्णदाशको कर्णप्रिय आवाजमा रहेको उक्त गित, साच्चै नै मानव जिवनमा रहेको विभिन्न सम्बन्धको महत्व अनि अपरीहार्यता सँगै सम्बन्धमा उत्पन्न हुने तिक्तता र निराशाको समिश्रण जस्तै लाग्दथ्यो। हाम्रो जिवन सम्बन्धहरुको मालामा उनिएर नै चलायमान भइरहेको हुन्छ नत्र भने मानिसलाई एक्लै जिउन सकसपुर्णनै हुन्थ्यो होला। त्यसैले नै होला मानिसहरुले सम्बन्धहरु सँग हातेमालो गर्दे जिवन जिउनुको सार्थकता खोजिरहेका हुन्छन र भन्ने गर्दछन- सम्बन्ध छ र त जिवन छ, अनि जिउनुको मजा छ। सम्बन्धहरुले नै जिवनमा उर्जा थप्दै जिवन जिउनको लागी सदैब प्रेरणा दिईरहेका हुन्छन। समग्रमा भन्नुपर्दा मानव जिवनको एक अभिन्न अङ्ग नै होसम्बन्ध। यसरी एक-अर्काका परिपूरक जस्तै रहेका जिवन र सम्बन्धको हातेमालो सोचेझैं सधैं सहजताका साथ अघी बढ्छ भन्ने पनी त छैन। त्यसैले गायकलाई उक्त गितमा सम्बन्धको अर्थ खोज्न कर लागेको हुनसक्छ। जे होस, गितले जिवन र जिवनमा समेटिने थुप्रै सम्बन्धहरुको बारेमा मज्जैले सोच्न अनि त्यसका थुप्रै पक्षहरुमा घोत्लिन बाध्य चाँही बनाइदियो।
म सधैं सोच्दथे सबै सम्बन्धहरुलाई सुमधुर बनाईराख्नु पर्छ र यसो गर्न सकिन्छ भनेर, तर म गलत पो रहेछु। सबै सम्बन्धहरु सधै एकनाशको गतिमा अघी बढ्न सक्छन भन्ने मेरो गलत बुझाईसँगै हरेक सम्बन्धहरुलाई समेट्न खोज्नु साच्चै नै मुर्खता मात्र पो रहेछ भन्ने आत्मबोध समेत भइरहेको थियो। समयको बहाबसँगै हुइकिनुपर्ने हामी, अनि हाम्रा परिस्थितिको परिधी भित्र सबै सम्बन्धहरु अट्न नसक्ने सत्य बोधले एक किसिमको बेग्लैपनाको महशुस भइरहेको थियो। यस्तो लाग्दथ्यो जिवन, व्यवहार र दर्शनको विषयमा मेरो चेतनास्तर समेत परिपक्व हुँदै गइरहेको थियो। मेरो आजको अवस्थाबाट जिवनलाई पुनरावलोकन गर्दा बालापनमा सँगै क..ख..रा भन्ने साथिहरुसँगको सम्बन्ध, अल्लारे बेलामा सँगै हुल बाँधि हिड्ने थुप्रै दोस्तियारी, अनि वैंशमा अनायसै जोडिने र छुटिने सम्बन्धहरुलाई विचार गर्दा आज आफुसँग हातका औंलामा गन्न सकिने साथिभाईहरुको सम्बन्ध पनी नरहेकोयथार्थताका बिच, आजसम्म कैंयौं सम्बन्धहरुसँग जोडिँदै आए पनि, ति सबै सम्बन्धहरु जिवनमा हुनु र नहुनुमा त्यस्तो खासै फरक त पर्दो रहेनछ भन्ने बुझाइमा अडिएर बसेको छुँ। आखिर जिवनले ति थुप्रै सम्बन्धहरु बिना पनि जिउन छाडेको त छैन। जिवनको रफ्तार कायमै छ। वास्तवमा यि सबै समयसँगै हुने परिवर्तित परिवेश नै त रहेछन। त्यसै ‘हिजो’ ‘आज’ र ‘भोली’ भनिएको होइन रहेछ किनकी जो हिजोमा थियो त्यो आजमा नहुन सक्छ र जो आज छ त्यो भोली सम्म रहीरहन्छ भन्ने पनीछैन। तर सम्बन्धको अर्थ र महत्वको पाटोबाट हेर्ने हो भने सधैं सँगै रहनुले सुमधुर सम्बन्ध र सँगै नरहनुले सम्बन्ध बिग्रिएको भन्ने पनी होइन रहेछ। सच्चा सम्बन्धले वर्षौपछीको भेटमा पनि उस्तै र उत्तिकै आत्मियताको आभाष गराउँदछ भने स्वार्थी सम्बन्धमा त्यो आत्मियता पाउन नै गार्हो हुन्छ। स्वार्थकेन्द्रितसम्बन्धहरु नियमित सम्पर्कमै भएपनी तिनले सकारात्मक उर्जा होइन तनाब र नकारात्मक वातावरणको सिर्जना गरिदिन सक्छन। त्यसैले कुन सम्बन्ध कस्तो हो भनेर समयमै चिनेर कुनलाई निरन्तरता दिने र कुनलाई नदिने भनेर सोच्न चैं जरुरी छ। किनकी जिवन जिउनको लागी हो, खुशी बाँड्नको लागी हो। यदी कोही कसैको दुःखको कारण बन्दछ भने त्यस्तो सम्बन्धलाई त्यहीँ अन्त्य गरेर अघि बढ्न सक्नुपर्दछ। भनिन्छ नि, सम्बन्ध राम्रो हुन्छ भने कहिलेकाँही झुकिदिँदा केही फरक पर्दैन, तर सधैं एकजनाले मात्रै झुक्नुपर्छ भने त्यस्तो सम्बन्धलाईपुर्णविराम लगाउनु मै बुद्धिमता हुन्छ । यहाँ बिचार नमिल्दा श्रीमान-श्रीमती कै त सम्बन्ध विच्छेद हुन्छ भने अन्य सम्बन्धको त के कुरा भो र।
यि कैयन सम्बन्धहरुको भिडमा एउटा सम्बन्ध भने छुट्टै छ, विशिष्ठ छ, जसले हिजो आज र भोलीलाई अनवरत रुपमा जोडीराख्न सक्ने सामर्थ्य राख्दछ, अनि जिवनमा सकारात्मक उर्जा थपेर सधैं खुशीसाथ जिउन प्रेरित गरिरहन्छ। त्यो हो एक अतुलनिय र सुमधुर “परिवारसँगको सम्बन्ध”। जुन सधैं जिवनको अपरिहार्य सम्बन्ध बनेर सदैव शिर्षस्थानमा रहेको हुन्छ। हरेकलेसाँस फेर्न शुरु गरेदेखी साँस छोड्दा सम्म सधैं सँगै रहिरहने यो सम्बन्धले हरेकको जिवनमा विशेष अर्थ राख्दछ। भनिन्छ नि साझा स्वार्थ हुँदा समस्या नै आउँदैन तर व्यक्तिगत स्वार्थ हाबि भयो भने समस्या उत्पन्न हुन्छ, हो त्यस्तै निस्वार्थपन र साझा स्वार्थ बाट गतिशिल हुन्छ परिवारसँगको सम्बन्ध। त्यसैले सबै सम्बन्धलाई समेट्न खोज्नु भन्दा परिवारसँगको सम्बन्ध मजबुत पार्नमा र माधुर्यता थप्नमै केन्द्रित रहनु नै श्रेयषकर ठहरिन्छ।
अहिलेको समयलाई नियाल्ने हो भने सामाजिक संजालसँगको सम्बन्ध पो महत्वपुर्ण हुँदै गईरहेको देखिन्छ। खालि समयमा परिवारसँग बसेर गफ गर्दै आत्मियता साट्ने, छिमेकमा सौहार्दता छर्ने, साथिभाई भेट्दा हार्दिकता साहित भलाकुसारी गर्ने जस्ता कुरा त एकादेशको कथा बनेर रहेको छ। मानिसहरु भौतिक रुपमा परिवारसँग त हुन्छन, साथिभाई सँग पनि हुन्छन, तर सबै प्रविधी र सामाजिक सँजालको संसारमा नै व्यस्त रहन्छन। सामाजिक संजाल आउनुभन्दापहिले समाजमा, छर-छिमेकमा सहयोग मिश्रीत सामाजिक भावना हुन्थ्यो, जसलाई सामजिक संजालले यति व्यक्ति केन्द्रित बनाइदियो कि, वल्लो घर र पल्लो घरको सम्बन्ध नै नहुने अवस्थाको सिर्जना भएको छ। हिजोको साथिसँग फुर्सदमा सुन्तला,बदाम खाँदै गरिने मनको कुरालाई आजको विभिन्न च्याटिङ्ग एप्सले विस्थापित नै गरिदिएको छ। बालापनमा खेलिने चुङ्गी, रुमाल लुकाई होस वा किशोरावस्थामा सबै भेला भएर खेलिने फुटबल, भलिबल जस्ता खेल होस, सबैलाई भिडियो गेम र पब्जीले उछिनेर साथीभाईको सम्बन्ध नै ओझेलमा परेको छ। यहाँकसैलाई कसैको कुरा सुन्ने, भावना साट्ने फुर्सद नै छैन, सायद त्यसैले होला धेरैको सम्बन्धहरु जिवित त हुन्छन तर त्यसमा आत्मा भने हुँदैन। प्रविधिमैत्रि र एक्काइसौं शताब्दीको नाममा सम्बन्धको परिभाषा समेत फेरिएको छ। यहाँ सम्बन्धलाई फेसबुकमा कसले कति लाइक, कमेन्ट गर्योसँग मापन गरिन्छ। मेसेज किन आएन? मेसेजको रिप्लाई ढिलो किन आयो? जस्ता बेतुकका कुरामा सम्बन्धहरु धरापमा परिरहेका छन अनि बिखण्डनतर्फ उन्मुख छन।अहिलेको समयमा सम्बन्ध जोड्ने रहर सँगै न सम्बन्ध टिकाउन सक्ने सामर्थ्य छ, न मनले नै सम्बन्ध निभाएको देखिन्छ। साच्चै भन्ने हो भने न त नियमित सम्पर्कले सम्बन्ध मजबुत हुने हो, न सामाजिक संजालको सक्रियताले नै हुने हो। सम्बन्ध त जिवन चलाउने आधार हो जसमा विश्वास जरुरी छ,अनि आत्मियता जरुरी छ, अनावश्यक आश होइन निःस्वार्थपन जरुरी छ। सम्बन्धले सकारात्मक उर्जा दियोस, प्रेरणा दियोस अनि जिवन जिउने बाहाना दियोस। खैर, सम्बन्ध जस्तोसुकै होस, जोसुकैसँग किन नहोस बस त्यसमा हार्दिकता भने सधैं रहिरहोस........।
- वेदजोशी