कैलालीमा लागू औषध कारोबारीको जालो भयावह,अधिकांश युवा कुलतमा

एघार महिनामा ४१ किलो चरेस र ७ सय २७ ग्राम खैरो हेरोइन बरामद
सुदूर प्रेस संवाददाता

धनगढी – कैलाली जिल्ला कारागारमा कैदीबन्दी भेट्न आउनेहरूमाथि प्रहरीले विशेष निगरानी बढाएको छ । यो हठात् गरेको भने होइन । धनगढी–६ चटकपुरका २५ वर्षीय भीम बोगटीलाई असार १५ मा प्रहरीले धनगढीस्थित कारागारको गेटबाट पक्राउ गर्‍यो । जबर्जस्ती करणी मुद्दामा जेलमा रहेका आफन्त ३१ वर्षीय करन बमलाई भेट्न उनी आएका थिए । करनका लागि उनले ल्याएको स्याम्पुको बट्टामा १३ ग्राम खैरो हेरोइन बरामद भएको थियो । यस्तै घटना असार १० मा पनि भएको थियो । धनगढीकी ५० वर्षीया कमलादेवी अवस्थी कारागार गेटबाटै खैरो हेरोइनसहित पक्राउ परिन् । लागूऔषधकै मुद्दामा कारावास सजाय भुक्तान गर्दै रहेका २१ वर्षीय छोरा ओमप्रकाशलाई उनले बिस्कुट लगिदिएकी थिइन । बिस्कुटभित्र ५४० मिलिग्राम लागूऔषध लुकाएको भेटिएको थियो ।यी दुई घटनाले सघन सुरक्षा घेरा मानिने कारागारभित्रै लागूऔषधको ओसारपसार भइरहेको संकेत गर्दछ । यसलाई पुष्टि गर्ने अरू दुई घटना पनि छन् । असार ८ मा प्रहरी प्रशासनले जेलभित्र अनुगमन गर्दा कैदीबन्दीबाट १५ थान मोबाइल, ३३ थान चार्जर र जेठ २३ मा अनुगमन गर्दा २० थान मोबाइल बरामद गरेको थियो ।

अनुगमनका यी दुई दृष्टान्तले कारागारभित्रको सुरक्षामा कुन हदसम्मको लापरबाही भइरहेको छ भन्ने मात्रै देखाउँदैन, लागूऔषधको कारोबार अति सुरक्षा घेराभित्र पनि चलिरहेको हुन सक्ने संकेत गर्दछ । जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी निरीक्षक खगेन्द्र साउँदले कारागारमा खटिएका प्रहरी टोलीको कमजोरी आफूहरूले स्विकार्नै पर्ने बताए । सुदूरपश्चिमको सबैभन्दा धेरै कैदीबन्दी राख्ने क्षमता रहेको कैलाली कारागारमा १ सय ५० जना राख्ने क्षमता भए पनि ६ सय ६३ कैदीबन्दी राखिएका छन् । जसमा लागूऔषध कारोबारमा पक्राउ परेका कैदीबन्दीको संख्या ३ सय ३४ छ ।

कैलालीमा लागूऔषधको कारोबार कसरी फैलिरहेको छ र त्यसमा संलग्नता रहेकाहरूको पुष्टि भएकाले भयावह अवस्था रहेको संकेत गर्दछ । कात्तिक ११ गते कैलालीको कैलारी–६ बनकटुवाबाट ३३ वर्षीय यादवकुमार चौधरी १३ ग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परे । घटनामा कैलाली कारागारमा कार्यरत प्रहरी हवल्दार अपिल भाट पनि रहेको अनुसन्धानबाट खुलेपछि उनी पनि पक्राउ परे । यो घटनामा प्रहरीले कारागारकै चौकीदार वसन्त बुढा पनि संलग्न रहेको सुइँको पाएपछि कारागार प्रशासनले उनलाई सेवाबाट हटायो । लागूऔषध ओसारपसारमा प्रहरीको संलग्नता खुलेको यो नै पहिलो घटना भने थिएन । वैशाख ८ मा साडेपानी अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी जवान अंकित चौधरी ३३ ग्राम खैरो हेरोइनसहित पक्राउ परे । वैशाख २४ मा सशस्त्र प्रहरीको कैलालीस्थित ४३ रिजर्व गण हेडक्वार्टर बनवेहडामा कार्यरत हवल्दार प्रेमसिंह सुनार सीमावर्ती भारतीय बजार तिकुनियाबाट ९ सय १० मिलिग्राम खैरो हेरोइन ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका थिए ।

दुर्व्यसनको बढ्दो ग्राफ

सुदूरपश्चिमको अस्थायी राजधानी एवं मुख्य व्यापारिक केन्द्र धनगढी र कैलालीमा बर्सेनि लागूऔषध कारोबारीको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कैलालीमा दैनिक दुई जना लागूऔषध सेवन तथा कारोबारका घटनामा पक्राउ पर्छन् । गत वर्ष ०७९ मा गृह मन्त्रालयको लागूऔषध नियन्त्रण शाखाले धनगढीमा आयोजना गरेको लागूऔषधसम्बन्धी अन्तरक्रियामा कैलालीमा वार्षिक ३६ करोडको लागूऔषधको कारोबार भइरहेको विवरण प्रस्तुत गरेको थियो ।

प्रहरी निरीक्षक खगेन्द्र साउँद कतिपय अभिभावक लागूऔषध दुर्व्यसनको दलदलमा फसेका सन्तानबाट बेहिसाब आजित बनेको सुनाउँछन् । उनले दुर्व्यसनमा फसेको छोराबाट आजित एक आमाले आफ्नो छोराको मृत्युको कामना गरेको घटना पनि सुनाए । उनले भने, ‘एकातिर जेल परेका छोरालाई जेलभित्रै लागूऔषध पुर्‍याउन खोज्ने आमादेखि दुर्व्यसनी छोराको मृत्युको कामना गर्नेसम्मका आमा यहीं भेट्नु परिरहेको छ ।’

दुर्व्यसनको बढ्दो ग्राफले लागूऔषधको अवैध कारोबार मात्रै बढाएको छैन, हिंसाका घटना पनि बढाएको छ । लागूऔषधको विषयमा झगडा हुँदा ०७५ कात्तिक ३० गते धनगढीको उत्तर बेहडीमा २७ वर्षीय विजय थापाको हत्या भयो । उनकै साथी आशिष सेठीले थापाको हत्या गरेको पुष्टि भयो । ०७५ माघ ५ गते अत्तरियामा सञ्चालित प्रादेशिक महोत्सवमा साथी–साथीबीच विवाद बढ्दा खकुरी प्रहारबाट २० वर्षीय अरुण भट्टको हत्या भयो । लागूऔषधकै विषयमा विवाद र हिंसा भएको प्रहरी अनुसन्धानबाट खुल्यो ।

लागूऔषधको कारोबार र सेवनमा पक्राउ परेका अधिकांश युवा देखिन्छन् । कैलाली प्रहरीको तथ्यांकअनुसार लागूऔषध सेवनकर्तामध्ये २० वर्षमुनिमा ३० प्रतिशत, २० देखि ३५ वर्ष उमेर समूहका ४० प्रतिशत र ३५ देखि ४५ वर्ष उमेर समूहका २० प्रतिशत छन् ।

प्रहरीले सेवनकर्ता र कारोबारीबाट तीन वर्षको अवधिमा चरेस, गाँजा, ब्राउनसुगर, चिकित्सकको निगरानीमा मात्रै खानुपर्ने मनोद्विपक औषधि ठूलो मात्रामा बरामद गरेको छ । प्रहरीले आर्थिक वर्ष ०७४/०७५ मा ८७ किलो चरेस बरामद गरेको थियो भने ०७८/०७९ मा ४४ किलो चरेस र ६ सय ८८ ग्राम खैरो हेरोइन बरामद गरेको थियो । ०७९/०८० को एघार महिनामा ४१ किलो चरेस र ७ सय २७ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

कैलाली र कञ्चनपुरमा भारतसँग सीमा जोडिएका सहरका युवा लागूऔषधको दुव्यर्सनी तथा कारोबारमा फसेको देखिन्छ । प्रहरीका अनुसार खुला सीमाका कारण सजिलै तस्करी हुने गरेकाले नयाँ प्रयोगकर्ता बढाउन र दुर्व्यसनको लतमा परेकालाई लागूऔषध महँगोमा बेच्न ठूलो गिरोह सक्रिय भएको देखिन्छ । कैलालीमा सीमापारिका भारतीय बजार बनगाउँ, पलिया, तिकुनियालगायत लागूऔषध ओसारपसार हुने केन्द्र रहेको प्रहरी अनुसन्धानले देखाएको छ । विद्यालय र समुदायका युवाहरूबीच लागूऔषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आएको धनगढीस्थित गैरसरकारी संस्था कटक भण्डारी फाउन्डेसनका अध्यक्ष गणेश भण्डारीले जनाए । उनका अनुसार प्रहरीले लागूऔषध कारोबारको जरो थाहा पाएर पनि भत्काउने प्रयास नगर्नु, अभिभावक र समुदायको सक्रियताको कमी र प्रहरीकै संलग्नतामा कारागारभित्र लागूऔषधलगायत गैरकानुनी क्रियाकलाप हुनु मुख्य कारण हो । कान्तिपुरवाट

प्रकाशित:
2023/07/06, 12:34