भीमदत्त राजमार्ग ५ दिनदेखि अवरुद्ध,सर्बसाधारणलाइ सास्ती

सुदूर प्रेस संवाददाता

धनगढी –सुदूरपश्चिमका सातवटा पहाडी जिल्लालाई तराईसँग जोड्ने भीमदत्त राजमार्ग ५ दिनदेखि अवरुद्ध छ । पहाडी जिल्लालाई जोड्ने वैकल्पिक सडक नभएको सुदूरपश्चिममा भीमदत्त राजमार्गलाई पहाडी जिल्लाको लाइफलाइन मानिन्छ । 

यही सडक पनि लामोसमयदेखि अवरुद्ध हुँदा पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । कैलालीको बुढीतोलामा गएको पहिरोका कारण सडक यातायात पूर्ण रुपमा अवरुद्ध भएको हो ।

तराईका यात्रुहरु तराईमै रोकिएका छन् । पहाडी जिल्लाहरु डडेलधुरा, बैतडी, दार्चुला, डोटी, अछाम, बाजुरा र बझाङबाट तराईतिर झर्ने यात्रुहरुले पनि आफ्नो यात्रा स्थगित गरिरहेका छन् । अत्यावश्यक कामले नआइ नहुने पहाडी जिल्लाका यात्रुहरु, विरामी बोकेका एम्बुलेन्सहरु बुढीतोलासम्म पुग्ने गरेका छन् । एम्बुलेन्समा ल्याइएका विरामीलाई भेटिएका सहयोगीहरुद्वारा जोखिम मोलेर स्ट्रेचरबाट पहिरो क्षेत्रमाथिबाट बोकेर ल्याउनु परिरहेको छ । सयौंको संख्यामा सवारी साधनहरु बुढीतोला र खानीडाँडामा रोकिएका खानीडाँडाका बालकृष्ण सापकोटाले बताए ।

कैलाली कञ्चनपुर लगायत तराईतिरबाट कुनै पनि यातायात तथा ढुवानीका साधनहरु चार दिनदेखि सञ्चालन हुन सकेका छैनन् । ‘चार दिनदेखि पहाडी जिल्लामा जाने यातायातका साधनहरु चलेका छैनन्,’ धनगढीस्थित बस यातायात ब्यवसायी कुलबहादुर शाहीले भने ‘पहाडी जिल्लाबाट आएका साधनहरु बुढीतोलाबाटै फर्किने गरेका छन् ।’ 

सडक अवरुद्ध भएकाले ढुवानीका साधनहरु नचल्दा पहाडी जिल्लामा खाद्यान्न, औषधी, इन्धनलगायत दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन थालेको छ । पहाडी जिल्लाहरुबाट तरकारी तराईमा आउने गर्छ । पहाडी जिल्लामा उत्पादित टमाटर, गोलभेडा, काउली, आलु, सिमी, बन्दालगायत दाल तरकारीहरु तराई आउने गर्छ । ‘दैनिक उपभोग्य वस्तुको अभाव उत्पन्न हुन थालेको छ,’ उद्योग बाणिज्य संघ बाजुराका उपाध्यक्ष तुलाबहादुर रोकायाले भने ‘यात्रीहरु त रोकिएकै छन् । औषधी लगायत अत्यावश्यक सामग्रीको ढुवानी हुन नसक्दा संकट हुन थालेको छ ।’

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक सुचारु भएका बेला भीमदत्त राजमार्ग खण्डमा दैनिक करिब दुई हजारको संख्यामा यातायात तथा ढुवानी साधनहरु ओहोरदोहोर गर्ने गरेका छन् ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख हरिप्रसाद सुवेदीले शुक्रबार एकतर्फी भएपनि सडक खोल्ने प्रयास गरिएको भएपनि वर्षाका कारण सम्भव नभएको बताए । ‘लगभग ८० प्रतिशत काम गरेका थियौं, शुक्रबार दिउसो फेरि वर्षा भएकाले मर्मत गरेको सडक खण्डमा पनि पहिरो आयो,’ सुवेदीले भने ‘कहिलेसम्म यातायात चल्न सक्ने अवस्था होला भन्न सक्ने अवस्था छैन । पहिरोको अवस्था निकै अप्ठेरो छ ।’

सुवेदीले एक सय मिटर सडकको पुरै बेस नै बगेकाले मर्मत गर्न निकै कठिन भएको बताए । तीन सय मिटर जति सडक माथिबाट आएको पहिरोमा परेको छ । माथिबाट आएको पहिरो पन्छाउने काम गर्दा वर्षा र पानीको मुहान भएकाले पहिरो निरन्तर बगिरहेको उनको भनाई छ । बुधबारदेखि पाँच वटा डोजर लगाएर पहिरो पन्छाउने काम भइरहे पनि उपलब्धी हुन नसकेको सुवेदीले बताए ।

यसैबीच सडक विभागबाट पहिरो विशेषज्ञसहितको टोली बुढीतोला पुगेर प्रारम्भिक अध्ययन गरेको छ । सडक विभागका सुपरिटेन्डिङ इन्जिनियर विनोद कुमार मौवार नेतृत्वको टोलीमा पहिरो विशषज्ञ डा. मधुसुदन आचार्यसहितको टोलीले पहिरो प्रभावित सडक क्षेत्रको स्थलगत अनुगमन गरेको सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख सुवेदीले बताए ।

‘पहिरो गएको राति बुढीतोला क्षेत्रमा घनघोर वर्षा भएको थियो । वर्षौअघि त्यस ठाउँमा पहिरो गएको र पहिरोमाथि नै सडक बनेकाले त्यहाँको जमिन असाध्यै कमजोर रहेको अध्ययनकर्ताहरुले बताएका छन्,’ सुवेदीले भने ‘सडक मर्मत तथा सञ्चालनका लागि पानी ब्यवस्थापन मुख्य चुनौति हो । जमिनबाट आउने पानी ब्यवस्थापन गर्न सकिएपनि वर्षाकोे पानीले पहिरो गइरहने अवस्था रहेको देखिएको छ ।’

प्रकाशित:
2023/08/12, 8:16