सर्पदंश रोकथाममा धनगढीको उपमहानगरेको आफ्नै जुक्ति

नगरवासीलाई सर्पदंश र सर्पलाई अकालमा मारिनबाट जोगाउन नगरप्रमुखको उद्धार अभियान प्रभावकारी
सुदूर प्रेस संवाददाता

धनगढी — गर्मीयाममा तराई क्षेत्रका बजार र बस्तीमा सर्प देखिनु नौलो होइन । घर, गाईवस्तुका गोठ, कुखुरा, सुँगुर बंगुरका खोरभित्र सर्प पसेको भेटिए त्यसलाई बाहिर पठाउन निकै सास्ती हुन्छ । मान्छेलाई सर्पबाट जोखिम, सर्पलाई मान्छेबाट । त्यसैले कतै मान्छे र घरपालुवा पशुपक्षी सर्पदंशको सिकार हुन्छन्, धेरै ठाउँ त्यसरी देखापरेका सर्प मारिन्छन् । धनगढी उपमहानगरपालिकाले नगरवासीलाई सर्प र सर्पलाई पनि जीवनरक्षा हुनेगरी अभियान थालेको छ । नगरभित्र कतै बस्ती क्षेत्रमा सर्प देखापरेमा टोली पुग्छ र सुरक्षित तवरले समातेर टाढा लगेर छाड्छ । उपमहानगरको विपद् व्यवस्थापन शाखाअन्तर्गतको स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रले बाढी, डुबान र आगलागीजस्ता प्राकृतिक प्रकोपसँगै सर्पबाट उद्धारको काम थालेको हो । 

यसले नगरवासीलाई सर्पदंशबाट जोगाउन सुरु गरेको छ भने सर्प पनि अनाहकमा मारिनबाट जोगिएको छ । ‘यो हाम्रो मेयरसाबको आइडिया हो । यसले राम्रो भएको छ,’ उपमहानगरको विपद् व्यवस्थापन शाखाका प्रमुख दीपक भण्डारीले भने, ‘असारको अन्तिमतिर २५ जना नगर प्रहरीलाई सर्प उद्धार तथा व्यवस्थापन तालिम दिएपछि साउन १ देखि हामीले यो काम थालेका हौं ।’ यसका लागि नगर प्रहरीलाई बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्रशिक्षक ल्याएर उक्त तालिम दिइएको उनले बताए ।

सर्प नियन्त्रणमा लिन प्रयोग हुने स्नेक स्टिक, टंग, हुक, ब्याग, पञ्जा र प्राथमिक उपचार सामग्री भारतबाट खरिद गरेर ल्याइएको छ । यो कार्यक्रमका लागि उपमहानगरपालिकालाई संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी)ले पनि सहयोग गरेको उनले बताए ।

‘धनगढीले सुरु गरेको यो कार्यक्रम देशमै नौलो हो,’ शाखा प्रमुख भण्डारीले भने, ‘यसबाट प्रभावित भएर अरु स्थानीय तहले पनि तालिम र उद्धार सामग्रीहरुबारे सोधपुछ गरिरहेका छन् ।’ वातावरणवादीले यो योजनालाई सराहना गरेको उनले बताए ।  

सर्प उद्धारका लागि उपमहानगरका तालिमप्राप्त २५ जनालाई विभिन्न सेक्टरमा विभाजन गरेर समूहमा खटाइने गरिएको छ । नगर क्षेत्रभित्र सर्प घरगोठमा देखिएमा वा त्यसबाट जोखिमको अवस्था देखेमा नगरवासीले टोल फ्री नम्बर १८१०५००००९० फोन गर्न सक्छन् । खबर आएपछि उद्धारकर्मी खटिन्छन् ।

‘आगलागी, बाढी, डुबान र सर्प उद्धारजस्ता विपद् व्यवस्थापनका काममा फोन आउनेबित्तिकै हामी उद्धारका लागि सम्बन्धित ठाउँमा पुग्ने गरेका छौं,’ सर्प उद्धार तालिम लिएका नगर प्रहरी कृष्णप्रसाद भट्टले भने, ‘मंगलवारसम्म हाम्रो टोलीले १ सय ६० भन्दा बढी सर्प नियन्त्रणमा लिएर उद्धार गरिसकेको छ ।’ सबैभन्दा विषालु मानिने राज गोमन सर्पका ७ वटा बच्चा एकै ठाउँबाट समातेको उनले बताए ।

अर्का नगर प्रहरी सन्तोष राईका अनुसार धनगढीका विभिन्न क्षेत्रमा देखापरेका विषालुमध्येका करेत र गोमनका विभिन्न प्रजाति टोलीले भेटेको छ । यस्तै विषालु नहुने अजिंगर, धामन, र पानी सर्प नियन्त्रणमा लिइ उद्धार गरेको उनले बताए ।

उद्धार गरिएका सर्पलाई ५ किलोमिटर भित्रको क्षेत्रमा सुरक्षित साथ छाड्ने गरिएको छ । टोलीले धेरै सर्प रातको समयमा नियन्त्रणमा लिएको छ ।

दलहरुको दबदबाबीच स्वतन्त्र निर्वाचित भएर आएपछि धनगढी उपमहानगरका नगरप्रमुख गोपाल हमाल कामका कारण चर्चामा छन् । वडा स्वास्थ्य शिविर, ६ लेनको सडकमा विद्युतीकरण, वृक्षरोपण र धनगढी बजार क्षेत्रको सडक स्तरोन्नति लगायतका योजनाले नगरवासीलाई सर्पबाट जोगाउने र सर्पलाई पनि मारिनबाट जोगाएर उद्धार गर्ने अभियान पनि उनले सुरु गरेका हुन् ।

विदेश भ्रमणको सिकाइलाई पछ्याउँदा नगरवासीका हितमा नौला योजना ल्याउन सकेको उनको भनाइ छ । ‘फिलिपिन्स भ्रमणमा जाँदा त्यहाँको मेट्रोपोलिटन कार्यालयहरुले जनताका लागि सेवा प्रवाह गर्ने सिलसिलामा सञ्चालन गरेका कार्यक्रमबारे जानकारी पाइयो,’ उनी भन्छन्, ‘नगरवासीले नगरपालिकालाई विभिन्न प्रकारका कर बुझाइरहेका हुन्छन्, उनीहरुले बुझाएको रकमले नै हामीले सेवा प्रवाह गर्ने हो । हामीले पनि नगरवासीलाई सक्दो सेवा प्रदान गर्ने लक्ष्य अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका हौं ।’

तराईमा गर्मी र बाढीका बेला सर्प घरगोठमा देखा पर्छन् । थाहा नपाउँदा सर्पदंशबाट मानिसलाई ठूलो जोखिम छ । घरमा सर्प पसेपछि सम्बन्धित परिवारलाई हुने डर, त्रासबाट मुक्त गराउन सर्प समात्ने कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

प्रकाशित:
2023/08/27, 7:39