एक वर्षमै २० प्रतिशत साना तथा मझौला उद्योग बन्द, लगानीकर्ता निराश

सुदूर प्रेस संवाददाता

धनगढी– उच्च ब्याजदर र त्यसले वस्तुको मागमा ल्याएको कमीका कारण देशभरका उद्योगले धमाधम उत्पादन घटाएका छन् । त्यतिमात्रै होइन, पछिल्लो समय त उद्योगहरु नै बन्द हुने क्रम सुरु भएको छ । गत वर्ष २० प्रतिशत साना तथा मझौला उद्योग बन्द भएकामा ठूला उद्योग पनि बन्द हुने क्रम बढेको छ ।

राष्ट्र बैंकले गत वर्ष विदेशी मुद्रा सञ्चिति खस्किएपछि आयातमा कडाइ गर्दै कसिलो मौद्रिक नीतिमार्फत ब्याजदर उच्च बनायो । परिणाम, मागमा कमी आयो । सोहीकारण उद्योगहरु अहिले २५ प्रतिशत क्षमतामा मात्रै चलेको व्यवसायीको दाबी छ । सिमेन्ट उत्पादक संघका अनुसार अधिकांश सिमेन्ट उद्योग २० प्रतिशत क्षमतामा पनि चलेका छैनन् भने १० वटा उद्योगमा उत्पादन ठप्प छ । यस्तै, दैनिक उपभोग्य सामानको बिक्री १८ र विद्युतीय उपकरणको बिक्री ५५ प्रतिशतले घटेको छ । बजारमा वस्तुको मागमा आएको कमीसँगै उद्योग बन्द हुने क्रम बढेको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको भनाइ छ ।

नयाँ उद्योग स्थापनामा पनि निजी क्षेत्रको उत्साह घट्दै गएको छ । आर्थिक वर्ष ०७४/७५ मा ४९८ वटा उद्योग दर्ता भएकामा गत वर्ष ३२२ वटा मात्रै दर्ता भएका छन् । भएका उद्योग पनि बन्द भइरहेको उद्योग विभागले जनाएको छ । पछिल्लो एक वर्षमा मात्रै विदेशी लगानी भएका ५ वटा उद्योग खारेजीमा गएको विभागका निर्देशक हरि पंगेनीले जनाकारी दिए । 

उद्योग विभागमा अहिलेसम्म ८ हजार ९ सय ४७ उद्योग दर्ता छन् । यसमध्ये ठूला १५ दशमलव एक, मझौला २३ दशमलव १ र साना ६१ दशमलव ८ प्रतिशत हुन् । उच्च ब्याजका कारण गत वर्ष २० प्रतिशत साना उद्योगीले उद्योग नै नवीकरण गरेनन् । यो वर्ष पनि १५ देखि २० प्रतिशत उद्योग बन्द भइसकेका छन् । १० प्रतिशत उद्योग आंशिक रुपमा बन्द भएको घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले जनाए ।

घरेलु तथा साना उद्योग कार्यालय कैलालीका अनुसार तीन वर्षयतामात्रै ५५० उद्योग बन्द भएका छन् । गत वर्ष मात्रै २३२ उद्योगीले उद्योग दर्ता खारेजी गराएका थिए । मोरङ-सुनसरी औद्योगिक करिडोरका ५६० उद्योगमध्ये २५ प्रतिशतभन्दा बढी बन्द छन् । ५० प्रतिशत उद्योग आधा क्षमतामा मात्रै चलेको मोरङ व्यापार संघका उपाध्यक्ष विकास बेगवानीको भनाइ छ ।

उद्योग क्षेत्रमा अहिलेसम्म २७ खर्ब ८३ अर्ब रुपैयाँबराबरको लगानी भएको छ । जसमा ६ लाख ५७ हजार २ सय ३९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सिमेन्ट, स्टिल, चिया, पेन्टजस्ता उद्योगहरु आत्मनिर्भरता उन्मुख हुादै गएकामा मागमा आएको कमीका कारण धेरैजसो उद्योग संकटोन्मुख बनेका हुन् । 

प्रकाशित:
2023/10/02, 8:00