इजरायलमा मारिएका हरुको शव कुर्दै परिवार

विपिनको अवस्था पत्ता लगाउन परिवारको माग
छोराको मृत्युको खबरले भावविह्वल कैलालीको घोडाघोडी नगरपालिका–४ जनकपुरका नारायणप्रसाद न्यौपाने बिचमा
सुदूर प्रेस संवाददाता

धनगढी– राति गाउँले दाजुभाइ हुन्छन्, दिउँसो आफन्तहरू सान्त्वना दिन घरमै पुग्छन् । घरमा पुगेकाहरूसँग हरिकृष्ण न्यौपाने हरक्षण भक्कानिरहन्छन् । कैलालीको घोडाघोडी नगरपालिका–४ जनकपुरका नारायणप्रसाद न्यौपानेको परिवारका आँखा साता दिनदेखि ओभाएका छैनन् । ६ कक्षा पढ्ने कान्छो छोरा पनि भक्कानिँदै हरिकृष्णलाई अँगालो मार्दा मन थाम्न नसकेर वरिपरिका सबैका आँखा रसाउँछन् । टीकापुर बहुमुखी क्याम्पसमा कृषि विज्ञान स्नातक तह अन्तिम वर्षमा पढिरहेको माइलो छोरा नारायणको इजरायलमा हमास समूहको आक्रमणमा परेर मृत्यु भएपछि न्यौपाने परिवार विक्षिप्त छ । शुक्रबार न्यौपाने परिवारलाई भेट्न पुगेका सुदूरपश्चिम प्रदेशका मन्त्री रमेश धामीले सान्त्वना दिने प्रयास गर्दा हरिकृष्णले केही बोल्न सकेनन् । ‘मानिस देख्दा भक्कानिन्छन्, एकोहोरो रोइरहन्छन्,’ नजिकै रहेका आफन्तले भने, ‘सास त पाएनौं पाएनौं, लास ल्याइदिनुपर्‍यो ।’  

हरिकृष्णका माइला छोरा नारायणले बाल्यकालमै जन्म दिने आमा गुमाएका थिए । कान्छी आमाले हुर्काइन् । नारायणका दाजु धर्मराज भारतको बैंग्लोर बस्छन् । भाइको घटना सुनेपछि उनी तीन दिनअघि घर आएका छन् । शोकमा डुबेका धर्मराज पनि केही बोल्दैनन् ।

हरिकृष्णका भतिजा मोतीलालले शव ल्याउन जति ढिला गर्‍यो, पीडा त्यति धेरै लम्बिने बताए । ‘जेठा बुबा बेलाबेला नारायण छँदै छ होला, उसलाई केही भएको छैन होला भन्दै रुनु हुन्छ,’ मोतीलालले भने ।

‘उहाँ राम्ररी ननिदाएको र नखाएको पनि सात दिन हुन थाल्यो,’ उनले थपे । दुई दिनअघि इजरायलबाट उद्धार गरी ल्याएका नेपालीहरूसँगै शव पनि आउने आस गरेको परिवारजनले बताए । ‘अब त हाडछाला पाइएला भन्ने विश्वास पनि नलाग्ने भइसक्यो,’ मोतीलालले भने । 

कैलालीकै जोशीपुर–५ मैनपोखरीका ७० वर्षीय कन्हैयालाल चौधरीको पीडा पनि उस्तै छ । श्रीमती उहिल्यै बितिन्, एक्लो छोरा सुरज ०५४ सालदेखि पक्षघात भएर अपांग छन् । कान्छी छोरीको छोरा आशिष चौधरी बालकदेखि आफूसँगै बस्ने बुढेसकालको एक्लो सहारा थिए । आशिषलाई बाल्यावस्थादेखि नै कन्हैयालालले आफैंसँग राखेर हुर्काए, पढाए । ‘त्यही एक्लो सहारा पनि दैवले चुँडिहाल्यो,’ उनले भने, ‘जिउँदो मुख त देख्न पाइएन पाइएन, अब सरकारले चाँडै लास ल्याइदिए हुन्थ्यो ।’

बझाङको जयपृथ्वी नगरपालिका–११ का धनलाल नेपालीको परिवार पनि शोकमा छ । छोरा गणेशको इजरायल घटनामा मृत्यु भएको हो । ‘छोरा छँदै छ भन्ने सोच्छु । छैन भनेर कसरी पत्याऊँ,’ बोल्दाबोल्दै भक्कानिने धनलालले भने, ‘ज्युँदो मुख देख्न नपाए नि लास त चाँडै ल्याइदिए हुन्थ्यो ।’

विपिनको अवस्था पत्ता लगाउन परिवारको माग

इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका भीमदत्त नगरपालिका–३ भाँसीका विपिन जोशीको परिवार अन्योलमा छ । एक सातादेखि सम्पर्कविहीन छोराको अवस्थाले पीडा बढेको आमा

पद्माले बताइन् । ‘आक्रमणकारीले अपहरण गरेको हाम्रो अनुमान छ, सञ्चारमाध्यममा पनि त्यही कुरा देखेका छौं, तर आधिकारिक कतैबाट पनि जानकारी पाएका छैनौं,’ उनले भनिन्, ‘यो अन्योल कहिलेसम्म ? हामीले छोराको अवस्था पनि थाहा पाउन नसक्ने भयौं ।’

उनका अनुसार बिहीबार राति इजरायलबाट आएका विपिनका साथीहरूले समेत अपहरण भएको जानकारी दिएका छन् । सञ्चारमाध्यममा आउने फरक–फरक सूचनाले झनै पीडा दिएको विपिनका बुबा महानन्द बताउँछन् । ‘कसैले अस्पतालमा उपचार भइरहेको भने, कसैले अपहरणमा परेको भने तर वास्तविकता कसैले भनेनन्,’ उनले भने, ‘आफन्तले फोन गरेर विपिनको बारेमा यस्तो आयो, उस्तो आयो भनेर सोध्छन् ।’

हमासले सुरुमा आक्रमण गर्दा विपिन १७ जना साथीसँग एउटै बंकरमा थिए । आक्रमणकारीले हानेको पहिलो ग्रिनेडलाई विपिनले समातेर उनीहरूतिरै फर्काएका थिए । त्यसपछि भने उनलाई अपहरण गरेर लगेको साथीहरूले जानकारी दिएको पद्माले बताइन् । ‘सरकारले चाँडोभन्दा चाँडो विपिनको अवस्था पत्ता लगाइदिनुपर्छ, हामीलाई यो अन्योलबाट मुक्त गर्नुपर्छ,’ उनले भनिन्, ‘अपहरणमा परेको कि कतै अस्पतालमा छ कि खोजी गर्ने काम त सरकारकै हो ।’ मानव अधिकारवादी अन्तर्राष्ट्रिय संघसंस्थालाई समेत छोराको खोजी गरिदिन उनले आग्रह गरेकी छन् ।कान्तिपुरबाट

प्रकाशित:
2023/10/15, 8:36
SPA
KN
Priya Gahana Pasal