धनगढी– मनसुन सुरु भएयता यो वर्ष विपद्का घटनामा परेर १३० जनाको मृत्यु भएको छ । विपद्का घटना भने एक हजार ५९२ वटा भएका छन् । जलवायु परिवर्तनको प्रभावको जोखिममा चौथो स्थानमा रहेको नेपाल सबै प्रकारका विपद्का हिसाबमा भने २०औं स्थानमा छ । तर विपद् व्यवस्थापनको पूर्वतयारीका काम नगर्दा नेपालले हरेक वर्ष ठूलो मानवीय र आर्थिक क्षति बेहोरिरहेको छ ।
मनसुनजन्य विपद्का कारण यो वर्ष मात्र साना तथा सीमान्तकृत किसान तथा नागरिकको १३ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ । विपद्का बेला व्यक्तिको ज्यान जाने घरबारविहीन हुने तथा बालीनालीसमेत नष्ट हुने गरेको छ । सरकारले विपद् आउनेबित्तिकै व्यक्तिको खोजी तथा उद्धार र राहतमा बढी ध्यान दिने गरेको छ ।
पुन:स्थापनामा भने अहिले पनि विविध समस्या छन् । यही कारण नागरिकहरु वर्षौंसम्म घरबारविहीन भएर बस्नुपरिरहेको छ । तर विपद्मा नागरिकको बाली नष्ट भएको तथा पेसा-व्यवसायका आधारहरु गुमेको विषयमा भने त्यति धेरै चर्चा हुने गरेको छैन । जबकि तथ्यांकले हरेक वर्ष करोडौं रकमको क्षति हुने गरेको देखाउँछ । तर यस्तो क्षतिपूर्तिको कतैबाट भरपाइ नभएको बिमा विज्ञ रवीन्द्र घिमिरेको भनाइ छ ।
विपद्का कारण विकास पूर्वाधारमा समेत हामीले ठुलो क्षति व्यहोर्नुपरेको छ । जेठ २८ गते यता मात्र ६ वटा पुल र सयौं ठाउँमा सडक बगाएको छ । सडक र पुलमा मात्रै ४० करोड रुपैयाँको क्षति भएको प्रारम्भिक आकलन रहेको सडक विभागका सहायक प्रवक्ता अमितकुमार शर्माको भनाइ छ ।
सरकारले मंगलबार संसद्मा सार्वजनिक गरेको यो वर्षको क्षतिको तथ्यांकमा व्यक्तिगत मृत्यु र विपद्का घटना समेटिएका छन् । जेठ अन्तिम साता सुरु भएको मनसुनजन्य विपत्का कारण अहिलेसम्म १३० जनाको मृत्यु भएको छ ।
गृहमन्त्री रमेश लेखकले यो वर्ष मात्र एक हजार ५९२ वटा विपद्का घटना भएको संसद्लाई जानकारी दिनुभएको छ । यी घटनामा ४८ जना बेपत्ता हुँदा १४४ जना घाइते भएका छन् । चार हजारभन्दा बढी नागरिक विस्थापित भएको उहाँले जानकारी दिनुभयो ।
गृह मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो १० वर्षमा मनसुनजन्य विपद्का आठ हजार ७१६ वटा घटना भएका छन् । ती घटनामा दुई हजार ६७१ जनाको मृत्यु भएको छ भने ६५४ जना बेपत्ता छन् ।
८८ हजार ९६२ परिवार प्रभावित भएका छन् । १५ हजार आठ सय चारवटा घर पूर्ण क्षति हुँदा ४६ हजार ४४३ वटा घरमा आंशिक क्षति भएको छ । एक दशकभित्रै मनसुनजन्य विपद्बाट १८ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
विपद्को पूर्वतयारी गरेर धनजनको क्षति हुन नदिनु राज्यको पहिलो कर्तव्य हो । तर पनि हरेक वर्ष व्यक्तिको मृत्यु हुने गरेको छ भने नागरिकहरु विपद्कै कारण घरबारविहीन हुनुपरिरहेको छ । अर्कोतर्फ व्यक्तिले ज्यान र घरबार जोगाउन सफल भयो भने पनि उसको बालीलगायत पेसा व्यवसाय र आयस्रोत गुम्ने गरेका घटना पनि उत्तिकै छन् । तर यसको न गणना हुने गरेको छ । न त उनीहरुले उचित क्षतिपूर्ति नै पाउने गरेका छन् ।