ट्राफिक प्रहरीले ढुकेर बीच सडकमै चेकप्वाइन्टको धराप थाप्दा दुर्घटनाको जोखिम उच्च

दैनिक ९७ वटासम्म दुर्घटना हुदा एक वर्षमा २३ सय ६९ जनाको मृत्यु
धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी चौराहाको बिच सडकमा शुक्रवार चिट काटदै ट्राफिक प्रहरी । पछिल्लो समय ट्राफिक प्रहरीले अनावश्यक दुःख दिने गरेको सर्वसाधारणको गुनासो छ ।
सुदूर प्रेस संवाददाता

धनगढी– भक्तपुरको गठ्ठाघरमा बिहीबार ट्रकले स्कुटीका चालकलाई पेलेरै किचेपछि मृत्यु भएको घटनालाई लिएर चौतर्फी आलोचना भइरहेको छ । धेरैले ट्राफिक प्रहरीले गर्ने व्यवहारमा टिप्पणी गरिरहेका छन् भने सवारी चालकको अनुशासनको विषय पनि उठान गरेका छन् । ट्राफिक अनुशासन पालना गराउने प्रहरीले लुकेर तथा ढुकेर गर्ने कारबाहीमा धेरैको आक्रोश छ ।

सवारी दुर्घटनामा अधिकांश चालकको लापरबाहीमा हुन्छ भने नियम पालना गराउने ट्राफिक प्रहरीकै चेकिङ शैलीले पनि दुर्घटना बढाइरहेको छ । बिहीबार काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भयो । जबकि ट्राफिक प्रहरी घटनास्थल नजिकै थियो । ट्राफिकले सडकको बीचमै बसेर सवारी रोक्दा सडक लेन साँघुरो भएको थियो सोही क्रममा दुर्घटना भयो । दुर्घट्नापछि स्थानीयले ट्राफिक प्रहरीविरुद्ध दिनभर प्रदर्शन गरे । अहिले देशभर ट्राफिक प्रहरीले राजस्व संकलनका नाममा बीच सडकमै धराप थापेजस्तै चेकप्वाइन्ट राख्दा पनि दुर्घटनाको जोखिम बढाइरहेको छ । तर यो घटनाले सडक प्रयोगकर्ता र नियमपालना गराउने दुवैले संयम अपनाउनुपर्ने देखाएको छ ।

एकातिर नियम उल्लंघन गरेर ट्राफिक प्रहरीको आँखा छल्दै भाग्ने र अर्कोतिर धराप थापेको शैलीमा ट्राफिकले चेकप्वाइन्ट राख्नु दुवै जोखिमपूर्ण देखिन्छ । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो एक वर्षमा मात्रै देशभर ३५ हजार ४ सय ४ वटा सवारी दुर्घटना भएका छन् । दैनिक ९७ वटासम्म दुर्घटना हुदा एक वर्षमा २३ सय ६९ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनाको यति डरलाग्दो तथ्यांक हुँदासमेत चालक र ट्राफिक प्रहरीसँगै पैदलयात्रु स्वयम् पनि सचेत हुनु आवश्यक छ ।

एक वर्षमा भएका ३५ हजार सवारी दुर्घटनामा सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर मात्रै १९ हजार ९ सय ८४ छन् । कार र जिप ६ हजार ८ सय, ट्रक र ट्यांकर १४ सय, बस २१ सय ९३ दुर्घटनामा परेको तथ्यांक छ । देशैभर ६ सयभन्दा बढी स्थानमा चेकप्वाइन्ट हुन्छ । ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकलाई लुकेर तथा ढुकेर फुत्त समात्न खोज्दा पनि बढी दुर्घटना हुने गरेको छ ।

ट्राफिक प्रहरीको यो शैलिले कतिपय अवस्थामा ट्राफिक नै दुर्घटनामा पर्ने तथा ज्यान जानेसम्मका घटना भएका छन् । सचेत मात्र गराउन सकिने घटनामा पनि जरिवाना तिराउने शैलीले सवारी चालक समेत ट्राफिक प्रति आक्रोशित हुने गरेका छन् ।

 

एक वर्षमा ट्राफिक प्रहरीको जरिवानाबाट मात्रै १ अर्ब ७५ करोड राजश्व संकलन भएको छ । तर त्यो रकम सडक बत्ती र सवारी दुर्घटना न्यूनीकरणमा प्रयोग भएको छैन । यसले सरकार राजस्व उठाउन मात्र केन्द्रित भएको दर्शाउँछ । नेपालमा जरिवाना कम हुँदा पनि नियम उलंघनको घटना बढेको र ट्राफिक प्रहरीले पनि आफ्नो चेकिङ शैली फेर्नुपर्ने पूर्वप्रहरी अधिकृत बताउँछन् ।

सरकारले सडक र सवारी व्यवस्थित गर्न छुट्टै प्राधिकरण बनाउने योजना बनाएको धेरै वर्ष भयो । देशैभर ४० लाखभन्दा बढी सवारी साधन दर्ता भएका छन् । तर त्यसको व्यवस्थापन गर्न करिब पाँच हजार मात्र ट्राफिक प्रहरी छन् । तर पनि नागरिकको सेवामा खटिने ट्राफिक प्रहरिले सेवा भन्दा अभियुक्तशैलिको व्यवहार गर्ने तथा राजस्व उठाउने तर्फ मात्रै ध्यान दिँदा पनि विवाद र झडप धेरै हुने गरेको छ ।

प्रकाशित:
2024/08/17, 8:54
SPA
KN
Priya Gahana Pasal