कोभिडको असर बैंकका ठूला लगानीकर्तामा, सञ्चय कोषले पाउने लाभांश ६१ प्रतिशतले घट्यो

Commercial-Banks-Nepal
सुदूर प्रेस संवाददाता

काठमाडौं  - गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा करिब ३२ प्रतिशतले घटेको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३१.८६ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्ष ४६ अर्ब ७० करोड रुपैयाँ वितरणयोग्य नाफा गरेका बैंकहरुले गत आर्थिक वर्षमा ३१ अर्ब २७ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेका थिए ।

कोरोना भाइरस (कोभिड १९) संक्रमण सन्त्रासका कारण राष्ट्र बैंकले निर्देशन दिए अनुसारको व्याजदर र किस्तामा सुविधा दिनु परेका कारण बैंकहरुको वितरणयोग्य नाफा कम भएको हो ।

बैंकहरुको वितरणयोग्य नाफा कम भएपछि ठूला तथा संस्थापक सेयरधनीले पाउने लाभांश पनि घट्ने देखिएको छ । ११ वाणिज्य बैंकमा १ देखि १५ प्रतिशतसम्म संस्थापक सेयर लगानी गरेको सरकारी निकाय कर्मचारी सञ्चय कोषले पाउने लाभांश पनि उल्लेख्य रुपमा कम हुने देखिएको छ ।

कोषले ११ वाणिज्य बैंक, २ विकास बैंक तथा केही बीमा कम्पनी र जलविद्युत कम्पनीमा गरी २२ अर्ब रुपैयाँभन्दा बढी प्रमोटर सेयरमा लगानी गरेको छ । सेयरमा गरिएको लगानीबाट चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ जति लाभांश प्राप्त हुने प्रारम्भिक अनुमान गरिएको कोषका चिफ म्यानेजर अर्जुनकुमार गौतमले जानकारी दिए ।

‘गत आर्थिक वर्षमा बैंकहरुको वितरणयोग्य नाफा कम भएको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ, प्रारम्भिक नतिजालाई आधार मानेर विश्लेषण गर्दा यो वर्ष लाभांशबाट ३० करोड रुपैयाँ जति आम्दानी हुने निष्कर्ष निकालेका छौं, यद्यपि अन्तिम विवरण आउँदासम्म यो अंक फरक पर्न सक्छ,’ चिफ म्यानेजर गौतमले भने ।

कोषले गत आर्थिक वर्ष लाभांश वापत ७८ करोड रुपैयाँ प्राप्त गरेको थियो । यो वर्ष ३० करोड रुपैयाँ मात्रै प्राप्त गर्यो भने उसले लाभांश वापत पाउने रकम ६१.५४ प्रतिशतले कम हुनेछ ।

प्रकाशित:
2020/09/04, 10:01