दसैँमा घर फर्किने बेला काम खोज्दै सुदूरपश्चिम बासी भारततिर

नाकामा दिनहुँ लर्को
sima naka
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिमको प्रमुख रोजगार गन्तव्य भारत हो। सजिलै आउजाउ गर्न पाइने भएपछि सुदूरपश्चिमबाट ठूलो सङ्ख्यामा मानिसहरू गुजाराका लागि भारत जाने गर्दछन्। यसरी भारत गएकाहरू विगतका वर्षमा दशैँ मनाउन भनेर एक महिना अगाडि नै घर आउने गर्थे। दीपावलीपछि फर्किन्थे। तर यसपालि भने दृश्य फेरिएको छ। घर फर्किने बेला कामको खोजीमा भारत जानेको लाइन नाकामा देख्न पाइन्छ।

कोभिड १९ महामारीले अवस्था फेरिएको हो। अधिकांश सुदूरपश्चिमेली चैतबाट नै हुलका हुल नेपाल फर्किए। भारतमा कोरोना महामारीको उकालो गति देखेर नेपाल फर्किएकाहरू नेपालमै बस्न भने ५ महिना पनि भ्याएनन्। वर्षकै ठूलो चाडको मुखमा परदेशिन बाध्य भइरहेका छन्। चाड भन्दा भोक ठूलो हो। खानलाई काम गर्नै पर्‍यो। स्वदेशमा काम पाइएन। अनि झोलाझिम्टी बोकेर, रोगको डरका बीच बाध्यतावश परदेशिएका हुन्।

गत भदौबाट रोग जिते पनि भोग जित्न नसकिने भन्दै उनीहरू फेरि भारत पस्ने क्रम फाटफुट सुरु भएको थियो। अहिले चाडबाडको मुखैमा झन् त्यो चटारो चुलिएको छ। गत जेठमा दैनिक पाँच हजारसम्म नेपाली स्वदेश फर्किएको गौरिफन्टा नाकाबाट अहिले दैनिक एक हजार जना फेरि भारत पस्न थालिसके। यसरी दशैँको मुखैमा भारत पस्नेहरू गरिबीको थिचोमिचोले मुगलान पस्ननुपर्ने बाध्यता आइलागेको बत्ताउँछन्।

गौरिफन्टा नाका सुदूरपश्चिमको प्रमुख नाका हो। विभिन्न ठाउँबाट भारत पस्न यहाँ आइपुगेकाहरूलाई लाइनमा बस्नुपर्ने हुन्छ। त्यहाँ भारततर्फ र नेपालतर्फका सुरक्षाकर्मीले उनीहरूको व्यवस्थापन गर्छन्। 

भारत पस्नेहरूको लाइनमा थिए कैलालीको लम्कीका अर्जुन विष्ट। उनलाई सोही नाका भएर घर फर्केको तीन महिना मात्रै भएको छ। उनी ३ महिनासम्म बेरोजगार बनेर बसेपछि ६ जनाको परिवार पाल्न स्वदेशमै गुजारा चलाउने विकल्प नदेखेर फेरि भारत जान थालेका हुन्। ‘घरमा न काम छ। काम नभएर पैसा पनि आउँदैन,’ उनी भन्छन्, ‘परिवारसँगै बसेर दशैँ मनाउने रहर त थियो। तर हामी गरिबलाई सधैँ सोचेजस्तो रहर पुरा गर्न कहाँ पाइन्छ र? थप चार महिना बसेर घर जाउँला र दशैँ मनाउला भनेर सोचेका अर्जुनको सपनामा कोरोना कहरको तुसारापात भयो। उनलाई चार महिना अगावै घर फर्किनुपर्‍यो। अब घरमा खानलाउन समेत समस्या हुन थालेपछि दशैँ मनाउन भन्दा दैनिक छाक टार्नका लागि दशैंको मुखैमा फेरि भारत जानुपरेको उनी बताउँछन्।

झन्डै चार महिनाको स्वदेश बसाईपछि घर खर्च चलाउन समेत नसकिने देखेर फेरि भारत जान थालेको कञ्चनपुरका जगदीश नाथले पनि सुनाए। स्वदेशमा न त रोजगारी छ त अब पाइने आश छ। त्यसैले उनी पनि चाडँबाडँको मुखैमा भारत पस्ने लाइनमा लागे।

असोज सुरु भएपछि मात्र गौरीफन्टा नाका भएर ७ हजारभन्दा बढी भारत प्रस्थान गरेका छन्।

प्रकाशित:
2020/09/30, 10:51
SPA
KN
Priya Gahana Pasal