धनगढी–कैलालीमा दुईजना सुरक्षाकर्मी तस्करबाट मारिए । सिमानामा अपराध नियन्त्रण गर्न पुगेका सुरक्षाकर्मी आफैं मारिनु सामान्य विषय होइन, जहाँ गृह मन्त्रालय मातहतकै सशस्त्र प्रहरी बल पनि तैनाथ हुन्छ । अझ बयलगाडामा केराउ तस्करी गर्ने समूहले समेत चुनौती दिन सक्ने सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कति फितलो रहेछ भन्ने पनि प्रश्न उठाएको छ ।
कैलालीमा नेपाल प्रहरीका सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउद गत शनिबार तस्करबाट मारिए । तस्करीको निगरानी गर्न दसगजा पुगेका सुरक्षाकर्मीमाथि ज्यानै लिने गरी आक्रमणमा उत्रिनेहरु ठूलै आपराधिक समूह थिएनन । प्रहरीले अहिलेसम्म संकलन गरेको विवरण अनुसार, त्यो समूह बयलगाडामा केराउको दाल भारततिर तस्करी गर्न अभ्यस्त थियो । कैलाली जिल्लाको सिमानामा मात्रै नेपाल प्रहरीका १० वटा चौकी छन् भने अर्धसैन्य सुरक्षा फौज सशस्त्रका १२ वटा पोष्टहरु छन् । अन्तरदेशीय संगठित अपराधदेखि लागु औषध, मानव तस्करी तथा सीमा क्षेत्रमा हुने गम्भीर अपराधसम्म रोक्न तैनाथ गरिएका सुरक्षाकर्मी नै सामान्य केराउ तस्करबाट नै मारिने अवस्था कसरी आयो ? गम्भीर प्रश्न बनेको छ । कैलालीको घटनाले गृह मातहतका दुई सुरक्षा संयन्त्रलाई एकसाथ परिचालन गरे पनि सिमानामा उपस्थिति कति कम्जोर छ भन्ने पनि यस घटनाले प्रष्ट पारेको छ । सुरक्षा अधिकारीहरूले भने बल्ल सशस्त्र र नेपाल प्रहरीका संयुक्त गस्ती आवश्यक ठानेको छ ।
यो त घटना भएपछि स्थानीय स्तरमा भएको प्रयास हो । गत जेठमा सर्लाहीमा सीमा बन्द भएका बेला जबरजस्ती नेपाल प्रवेशका नाममा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण भयो । सशस्त्र प्रहरी बलले जवाफी कार्वाही गर्दा एक भारतीयको ज्यान गयो । गत चैत यता मात्रै २३ पटक भन्दा बढी नेपाली सुरक्षाकर्मीमाथि सीमा क्षेत्रमा आक्रमण भएका छन् । अधिकांश घटना ठूला अपराधीसँगको घम्साघम्सी होइन, खासै चुनौती दिन नसक्ने हैसियतका समूह संलग्न छन् । एकातिर सिमाना सुरक्षाका लागि भन्दै सशस्त्रका सीमा चौकी बढाइएको छ, सुरक्षा प्रणाली किन कमजोर भयो भन्नेतर्फ समीक्षा हुन सकेको छैन ।
सिमानामा सुरक्षा फौज राख्नुले मात्रै राज्यको उपस्थिति देखाउँदैन, सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सकियो भने मात्र त्यसले महत्त्व राख्छ । त्यसैले एकपटक सीमा सुरक्षा व्यवस्थामाथि गहन समीक्षा गर्ने हो कि ?