बेरिएको छु पीपीइमा
डा. हेमराज पनेरु
असिन पसिन शरीर
तिर्खाले प्याक प्याक
भोकले ब्याकुल
आफैँ ढल्छुकि क्याहो म त?
अझैँ पाँच जना बिरामी हेर्नै बाँकी छ!
सोच्छु एकछिन निस्केर,
पानी पिएर फेरि आउँछु।
फेरि सम्झन्छु अर्को जोर पीपीइ नै छैन।
फेरि सोचमग्न हुन्छु,
भैगो एकैचोटि सबै बिरामी हेरेरै निस्कन्छु अब।
लाै तीन घण्टा बिति सकेछ।
सोच्छु – छ घण्टा पीपीइ लगाई
कसरी गर्दा हुन ड्युटी नर्सहरुले।
माया लाग्छ, दया पनि लाग्छ
तर फेरि बिरामी नै सम्झन्छु।
भन्छु –
सिस्टर, बिरामी को क्यानुला चेन्ज गर्नु।
इन्जेक्सन तुरुन्त दिइ हाल्नु।
प्रोन गर्न तयारी गर्नु।
भेन्टिलेटर सेटिङ्ग चेन्ज गरेको छु,
रेकर्ड राम्रो सँग राख्नु।
दुइ दुइ घण्टामा खान दिनु,
पोजिसन दुइ दुइ घण्टामा चेन्ज गर्नु,
मोनिटर चेक गरिरहनु।
पिसाब कति भो?
पानी कति पियो?
सलाइन कति गयो?
खाना कति खायो?
भाइटल्स के छ?
एक एक घण्टाको रेकर्ड राख्नु।
यी काम तुरून्त गरि हाल्नु
नत्र बिरामी मर्न सक्छ!
नर्सतिर हेर्छु,
टिलपिल आँसु।
सजिलै बुझ्छु
गर्न चाहेर पनि नसकेको भाव,
स्पष्ट छ आँखामा।
बल्ल पीपीइ खोलेर बाहिर आउँछु
बोल्न मन छैन कसैसँग।
एकैछिनमा घेरिन्छु बिरामीका आफन्तले
गुनासो एउटै छ सबैको,
हामीलाई बिरामीको अपडेट दिनु पर्दैन?
यस्तो लापरवाही गर्ने?
सबैलाइ भेट्न पनि नदिने?
यत्रो खर्च गरेपछि बिरामी निको हुन्न भन्ने?
लापरवाही गर्ने?
बिरामीको ज्यान सँग खेलवाड गर्ने?
पत्रकार बोलाऊँछाैँ हामी
छोड्ने छैनाैँ तिमीहरुलाइ।
छोड्ने छैनाैँ यो अस्पताललाइ।
लामो सास फेर्छु,
सम्झाउन खोज्छु,
प्रत्येक बिरामीको एकजनासँग
लामो काउन्सेलिँङ्ग।
मनले नमानेपनि
माफि माग्दै चुपचाप निस्किन्छु।
मोबाइल हेर्छु।
सयाैँ मिस्ड फोन कल छन।
पालै पालो रिप्लाइ गर्न थाल्छु।
गाली खेप्छु फोन नउठाएकोमा।
उताबाट आवाज आँउछ –
डाक्टर साप मेरो साथीको बुवाको साथी
कस्तो छ उहाँको अवस्था?
मेरो नजिकको नातेदारको टाढाको नातेदार
के छ अवस्था उहाँको?
मेरो अफिसको हाकिमको आफन्त रे!
भनिदिनुस न के छ???
त्रि. वि. शिक्षण अस्पताल काठमाडौँ