अमेरिका निर्वाचन: रिपब्लिकनहरूले 'वास्तविकता स्वीकार' गर्नै पर्ने डेमोक्रयाटहरूको भनाइ

बीबीसी

बीबीसी–डेमोक्र्याटिक दलका दुई वरिष्ठ नेता सभामुख न्यान्सी पेलोसी र सिनेट भनिने माथिल्लो सदनका नेता चक सुमरले रिपब्लिकन पार्टीका नेताहरूलाई "वास्तविकता स्वीकार" गर्न र कोरोनाभाइरसका कारण उत्पन्न सङ्कटसँग जुझ्ने विषयमा सहयोग गर्न आग्रह गरेका छन्।

अमेरिकी निर्वाचन पछिको पहिलो टेलिभिजन सम्बोधनका क्रममा पेलोसीले सङ्क्रमणको बढ्दो दर र मृत्यु हुनेहरूको सङ्ख्या लगायतका विषयलाई प्राथमिकताका साथ उठाएकी थिइन।

अमेरिकामा लगातार आठ दिनसम्म कोरोनाभाइरस सङ्क्रमणका नयाँ घटना दैनिक एक लाख भन्दा बढीले थपिएको विषयलाई पनि उनले उठाइन।

उनले राष्ट्रपति ट्रम्प र रिपब्लिकन दलले सङ्कटलाई "बेवास्ता गर्दै" चुनावमा नचाहिँदो रूपमा विवाद गरेको आरोप लगाइन्।

"उनीहरू अहिले बेतुकको सर्कसमा संलग्न छन् र वास्तविकता स्वीकार गर्न अस्वीकार गर्दै छन्," सङ्कटसँग सामना गर्ने विषयलाई "झनै कठिन" बनाएको भन्दै उनले भनिन्।

"यो सर्कस बन्द गर र अमेरिकी जनतालाई साँच्चै मतलब हुने कार्य - उनीहरूको स्वास्थ्य र आर्थिक सुरक्षा जस्ता विषयमा काम गर्न फर्क," उनले भनिन्।

बाइडन र ट्रम्प

तस्बिर स्रोत,REUTERS

सुमरले आर्थिक र स्वास्थ्य सङ्कटलाई सल्टाउन डेमोक्र्याटिक दललाई सहयोग गर्न रिपब्लिकनहरूलाई आग्रह गरे।

अमेरिकामा कोभिड १९ बाट सङ्क्रमित हुनेहरूको सङ्ख्या १ करोड नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार त्यहाँ १ करोड ५ लाख १३ हजार ६८ जना सङ्क्रमित भएका छन्। त्यस्तै २४२,५२७ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ।

अमेरिकी राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएको भए पनि डोनल्ड ट्रम्पले हालसम्म हार स्वीकार गरेका छैनन्।

मतगणनामा समस्या देखिएको सङ्केत गर्दै उनले कानुनी बाटो रोज्ने बताउँदै आएका छन् र उनको यो अडानमा अधिकांश रिपब्लिकन दलका नेताहरूले समर्थन जनाए जस्तो देखिन्छ।

यसै हप्ता एउटा कार्यक्रमका क्रममा अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडनले डोनल्ड ट्रम्पले आफूले राष्ट्रपतीय निर्वाचनमा हार बेहोरेको स्वीकार गर्न नमान्नुले "राष्ट्रपतिको विरासतलाई सहयोग नगर्ने" बताएका थिए।

यसैबीच विगतमा दक्षिण अफ्रिकाका दिवंगत नेता नेल्सन मन्डेलाको नेतृत्वमा गठन भएको पूर्व विश्व नेताहरूको समूहले हार स्वीकार नगरेको विषयमा ट्रम्पको निन्दा गरेका छन्।

उक्त कार्यले "अमेरिकी प्रजातान्त्रिक पद्धतिलाई जोखिममा पारेको" उनीहरूले बताए।

प्रकाशित:
2020/11/13, 9:56