कोरोना निको भइसके पछि पुनः सङ्क्रमित हुने वा भाइरस सार्ने सम्भावना कति ?

Corona Update

बिबिसी–एक पटक सङ्क्रमित भएर निको हुँदैमा पुनः सङ्क्रमित नहुने र अरूलाई कोरोनाभाइरस सङ्क्रमण सार्न नसक्ने अवस्था नदेखिएको भन्दै विज्ञहरूले सजग गराएका छन्।

कोभिड-१९ रोग लागेर निको भएकाहरूमा पनि व्यक्ति एवम्‌ उमेर समूह अनुसार एन्टीबडी अर्थात्‌ रोगसँग लड्ने क्षमता फरकफरक हुने गरेको अध्ययनबाट देखिएको भाइरोलोजिस्ट र जनस्वास्थ्यविद्‌हरू बताउँछन्।

नेपालमा बुधवारसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख १० हजारभन्दा बढी पुग्दा एक लाख ७६ हजारभन्दा बढी निको पनि भइसकेका छन्।

तर निको भए पनि त्यस्ता व्यक्तिले पनि अरू मानिसले जस्तै जनस्वास्थ्यसम्बन्धी मापदण्डहरू कडाइका साथ पालना गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

उसो भए निको भइसकेका व्यक्तिले सक्रिय सङ्क्रमितसँग कुरा गर्दा वा नजिक रहँदा तेस्रो व्यक्तिलाई कोरोनाभाइरस सार्ने सम्भावना कति रहन्छ?

निको भएका मानिसमा एन्टीबडी केही समय रहने भए पनि बाह्य माध्यमले सक्रिय सङक्रमित व्यक्तिसँगको सम्पर्कले तेस्रो व्यक्तिमा रोग सार्न सक्ने सम्भावना भने रहने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान एकाइ प्रमुख डा. शेरबहादुर पुन बताउँछन्।

"सास फेर्दा आफैँमा भाइरस छिरेर सार्ने होइन कि थुकको छिट्टा वा सक्रिय सङ्क्रमितसँग हात मिलाएर अनि अर्को मानिसलाई छोयो भने सार्ने सम्भावना रहन्छ।"

सङ्क्रमण भएको नौ दिनपछि कुनै व्यक्तिको आरएनए पोजिटिभ देखिए पनि त्यो आरएनए सङ्क्रमण गर्ने खालको नहुने देखिएको भाइरोलोजिस्ट डा. लुना भट्ट शर्मा बताउँछिन्। 

रोगप्रतिरोधी क्षमता कति दिन रहन्छ?

"निको भएका व्यक्तिमा बढीमा दुई महिनासम्म एन्टीबडी रहने अध्ययनहरूबाट देखिएको छ। त्यसपछि ती व्यक्तिलाई फेरि कोरोनाभाइरस सङ्क्रमण हुने सम्भावना रहन्छ," भट्टले थपिन्।

जनस्वास्थ्यविद्‌ डा. सुरेश तिवारीका अनुसार कोरोनाभाइरस सङ्क्रमण भएर निको भएका व्यक्तिमा ठ्याक्कै रोगप्रतिरोधी क्षमताले कति समय काम गर्छ भन्ने निष्कर्षहरू प्रारम्भिक मात्रै हुन्।

"किङ्ग्स कलेज लन्डनले गरेको एउटा अध्ययनले सङ्क्रमण भएर निको भएको ९० दिनपछि एन्टीबडीको क्वालिटी र क्वान्टिटी ह्रास हुँदै गएको देखाएको छ।"

"त्यो भनेको एन्टीबडी तीन महिनाभन्दा बढी समयसम्म रहँदैन कि भन्ने प्रारम्भिक सङ्केत हो," उनले थपे।

विगतका उदाहरण हेर्दा मध्यपूर्वमा देखिएको मेर्स भाइरसबाट सङ्क्रमित भएका व्यक्तिहरूले तीन-चार वर्षपछि रोगप्रतिरोधी क्षमता विकास गरेको डा. तिवारी बताउँछन्।

'स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्छ'

एक पटक सङ्क्रमित भएर निको भएको भन्दै कोरोनाभाइरसविरुद्ध आजीवन प्रतिरोधी क्षमता विकास भएको रूपमा बुझ्न नहुने विज्ञहरूको सुझाव छ।

"एकचोटि भएर निको भइसकेपछि म नै कोरोनाभाइरसको औषधि भएँ भन्ने सोच राख्नुभएन," डा. तिवारीले भने।

"निको भएका व्यक्तिले पनि मास्क लगाउने र सामाजिक दूरी कायम गर्नेजस्ता मापदण्डको उत्तिकै पालना गर्नुपर्ने हुन्छ।"

भाइरोलोजिस्ट डा. शर्मा पनि निको भइसकेका व्यक्तिले पनि कोरोनाभाइरसलाई हल्का रूपमा लिन नहुने सुझाउँछिन्।

"एकचोटि म सङ्क्रमित भएँ अब मलाई जिन्दगीभरि भाइरसले छुदैन, ममा रोगप्रतिरोधी क्षमताको विकास भयो भनेर सोच्नु गलत हो," उनले थपिन्।

 

प्रकाशित:
2020/11/19, 6:08