वैज्ञानिक वन व्यवस्थापनका नाममा अनियमितता गर्ने कर्मचारीमाथि कारबाही गर्न अख्तियारमा सिफारिस

ban
सुदूर प्रेस संवाददाता

धनगढी– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैज्ञानिक व्यवस्थापनको नाममा जथाभावी वन फँडानी गरेर अधिकारको दुरुपयोग गरेको निष्कर्ष निकाल्दै सम्बन्धित कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले वन फँडानी गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखिपठाउने निर्णय गरेको छ ।

समितिले २०७१ सालदेखि लागू गरिएको वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरेर वन ऐन र वन नीतिअनुसार राष्ट्रिय मापदण्ड लागू गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले व्यवस्थापनको नाममा अधिकार क्षेत्रबाहिर गएर जंगल फँडानी गरेर संकलन गरेको झन्डै ६० लाख क्विफिट काठ ई–टेन्डरमार्फत खुला प्रतिस्पर्धाबाट लिलाम गर्न भनेको छ । समितिको बैठकले चुरे र संरक्षित वन क्षेत्रमा वैज्ञानिक व्यवस्थापना लागू गर्न नहुने निष्कर्ष निकालेको छ ।

समितिका सचिव रोजनाथ पाण्डेका अनुसार चुरेक्षेत्रमा वैज्ञानिक व्यवस्थापनबाट भएको हानिनोक्सानीको अनुगमन गर्न चुरे विकास समितिलाई निर्देशन दिइएको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यविधि लागू गर्ने क्रममा उद्देश्यअनुसार काम नगरी अनियमितता भएको भन्दै महालेखा परीक्षकको कार्यालयले आफ्नो ५६औं प्रतिवेदनमा बेरुजु देखाएको थियो । महालेखाको प्रतिवेदन र समितिमा परेको उजुरीका आधारमा लेखा समितिले सांसद प्रदीप यादवको संयोजकत्वमा गत असारमा तीन सदस्यीय अध्ययन उपसमिति गठन गरेको थियो । सोही उपसमितिले गत असोजमा बुझाएको १७ पृष्ठको प्रतिवेदनका आधारमा समितिले उक्त निर्देशन दिने निर्णय गरेको हो ।

उपसमितिले व्यवस्थापना लागू भएका ५८ जिल्लामध्ये सालका रूखहरू बढी कटान भएका १० जिल्लाको अध्ययन एवं छानबिन गरी निकालिएको निष्कर्षबमोजिम दोषीमाथि सम्बन्धित नियकाले थप छानबिन गरी कारबाही गर्नुपर्ने सिफारिस गरेको थियो । सामुदायिक र साझेदारी वनलाई वैज्ञानिक व्यवस्थापन गरेर व्यापारिक प्रयोजनका लागि काठ कटान गरी व्यवसायीकरण गर्ने उद्देश्यले यो कार्यविधि लागू गरिँदै आएको छ । सरकारले यस्तो व्यवस्थापनबाट करिब १३ लाखलाई रोजगारीको अवसर सिर्जना हुने र वार्षिक करिब १ खर्ब राजस्व संकलन हुने लक्ष्य राखेको थियो । तर कार्यान्वयन क्रममा अनियमितता भएको भन्दै समितिमा उजुरी परेको थियो । वन ऐन २०७६ र वन नीति लागू भएको अवस्थामा त्यसका आधारमा नियमावली र कार्यविधि बनाउनुपर्ने सुझाव समितिले दिएको छ ।

वन फँडानी र उपयोगको नाममा काठ व्यवसायी, जनप्रतिनिधि, बहावलावा कर्मचारी तथा शिक्षकहरू उपभोक्ता समितिमा बसेर नेतृत्व गरेको, नक्कली उपभोक्ता समिति बनाएको, परामर्शदाताको बहानामा जथाभावी रकम खर्च गरेको, बिचौलिया र काठ व्यवसायीसँग मिलेमतो गरेको, गलत कार्ययोजना तयार पारेको, जैविक विविधता, जलाधार र सिमसार क्षेत्रको विनाश गरेको, संरक्षित क्षेत्रको वन विनाश गरेको, चुरे गुरुयोजनाको उल्लंघन गरेको, चराचुरुंगीको प्रजनन र विचरणमा नकारात्मक प्रभाव परेको, वन्यजन्तुको बासस्थानको विनाश गराएको, वन तथा वातावरणसँग सम्बन्धित ऐन, कार्यविधि, निर्देशिकाहरू उल्लंघन गरेको निष्कर्ष उपसमितिले निकालेको थियो ।


छानबिनका क्रममा उपसमितिले ३४ वटा उपभोक्ता उपसमितिले कुनै न कुनै रूपमा अनियमितता गरेको निष्कर्ष निकालेको थियो । महालेखाको प्रतिवेदनअनुसार कैलालीको काठ उत्पादन वार्षिक लक्ष्य १ लाख ५१ हजार घनफिट छ । तर आव २०७४/२०७५ मा ४ लाख ४१ हजार घनफिट उत्पादन गरिएको छ । यो उत्पादित लक्ष्यको २ सय ९२∞ बढी हो । सोही वर्ष बाँकेको लक्ष्य ६५ हजार रहेकोमा १ लाख ५० हजार घनफिट उत्पादन गरिएको छ । महालेखा प्रतिवेदनमा भनिएजस्तै संसदीय उपसमितिले गरेको स्थलगत अध्ययनका क्रममा उपभोक्ता समितिहरूले कार्यविधिलाई बेवास्ता गरेर रूख कटान गरेको भेटिएको हो । यस्तो अनगिन्ती उदाहरण रहेको उपसमितिका संयोजक यादवले बताए । उनले भने, ‘अख्तियारले थप छानबिन गरेर दोषी कर्मचारीमाथि कारबाही गर्नुपर्छ ।’

सचिव पाण्डेका अनुसार उपसमितको प्रतिवेदनकै आधारमा सांसदहरूबीच भएको छलफलको निष्कर्षका आधारमा समितिले वन व्यवस्थापनसँग सम्बन्धित २१ वटा निर्णय गरेको छ । ‘निर्देशन मात्र होइन सुझाव पनि दिएका छौं,’ उनले भने, ‘सरोकारवाला सवै निकायमा शुक्रबार पत्राचार गर्दै छौं ।’ उपसमितिको प्रतिवेदनअनुसार सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्टसहित कञ्चनपुर, कैलाली, धनगढी, नवलपुर, कपिलवस्तु, र सिन्धुलीका वन अधिकृतहरूले अख्तियारको दुरुपयोग गरेर वन फँडानीको स्वीकृति दिएर अनियमितताका संलग्न भएको उल्लेख गरिएको छ । धनगढीका डिभिजन वन अधिकृत रामचन्द्र कँडेल र महलमानपुर कैलालीका डिभिजन वन अधिकृत कृष्णदत्त भट्टले काठ व्यवसायीसँग मिलेमतो गरी अवैधसम्पत्ति आर्जन गरेर उच्चस्तरी जीवनशैली अपनाएको प्रतिवेदनमा उल्लेख छ ।

चालु वर्षको वन मन्त्रालयको बजेट शीर्षकमा प्रतिनिधिसभामा भएको छलफलमा सांसदले वैज्ञानिक व्यवस्थापनको बाहनामा व्यापक रूपमा वन फँडानी भएको भन्दै छानबिनको माग गरेका थिए । सांसदले सोधेका प्रश्नको उत्तर दिँदै वनमन्त्री शक्तिबहादुर बस्नेतले व्यवस्थापनमा भएको नीतिगत विषयमा छलफल गर्न सकिने बताएका थिए । प्रतिनिधिसभामा बोल्दै उनले भनेका थिए, ‘अनियमितता भए आफू छानबिन र कारबाही गर्न तयार छु ।’

संसद् र सरकारका छुट्टाछुट्टै छानबिन

संघीय संसद्, विषयगत समिति, महालेखा परीक्षकको कार्यालय र उपभोक्ताहरूको चासो एवं दबाबका कारण वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयनका क्रममा भएको त्रुटि र लापरबाहीको दोहोरो अध्ययन र छानबिन गरिए पनि सुझाव र निर्देशन कार्यान्वयनमा कठिनाइ उत्पन्न भएको छ । सरकारले गत जेठमा नेत्र तिमिल्सिना संयोजनमा गठित पाँच सदस्यीय छानबिन समितिले बुझाएको प्रतिवेदमा उल्लेखित सुझाव कार्यान्वयन भएको छैन । उक्त प्रतिवेदन गत भदौ अन्तिम साता प्रधानमन्त्री केपी ओलीलाई बुझाइएको थियो । सुझावमा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गर्न भनिएको छ ।

वैज्ञानिक वन व्यवस्थापनका नाममा रूख कटानी बढेको र त्यस क्रममा व्यापक अनियमितता भएको आवाज उठेपछि मन्त्रिपरिषद्ले सबै प्रकारका वन फँडानी छानबिन गर्न समिति गठन गरेको हो । सरकारी छानबिन समितिले कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीलाई कारबाहीको सिफारिस गरिएको छैन । कार्यविधिका आधारमा कटान गरेकाले नीतिगत त्रुटि भएको निष्कर्षसहितको प्रतिवेदन ओलीलाई बुझाएका थिए । प्रतिवेदनमा मन्त्रालयले बनाएको वैज्ञानिक वन व्यवस्थापन कार्यविधिमा त्रुटि देखाइएको छ ।

समितिका एक सदस्यका अनुसार मन्त्रिपरिषद्को गत असोज ११ गतेको बैठकले प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न निर्देशन दिए पनि वन मन्त्रालयले अग्रसरता देखाएको छैन । मन्त्रालयले तिमिल्सिना समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै फेरि सहसचिव तथा मन्त्रालयका प्रवक्ता प्रकाश लम्सालको संयोजनमा अर्को समिति बनाएको छ ।

प्रकाशित:
2020/12/18, 12:50