कैलालीको चुरेका पहिरो विस्थापितको बिचल्ली

धनगढी–छोरी जन्मेको एक महिना पुगेको थिएन, पहिरोले घर भत्काइदियो । त्यसपछि २४ वर्षीया भावना कार्कीको बसाइ त्रिपालमुनि छ । छोरी अहिले सात महिनाकी भइन् । एक सातादेखि ज्वरो आएको छ । लगातार बान्ता गरिरहेकी छन् । औषधिमूलोका लागि उनीसँग पैसा छैन । पुसको चिसोमा उनलाई छोरी जोगाउन मुस्किल भएको छ ।


गत साउन १४ देखि ६ दिनसम्म अविरल वर्षा हुँदा चुरे गाउँपालिकाको गौजन बस्तीमाथि पहिरो गएको थियो । भदौसम्म स्कुलमा बसेका गौजन र ववडी गाउँका २३ परिवार असोजमा भीमदत्त राजमार्गको सहजपुर सडक खण्ड छेउमा त्रिपाल टाँगेर बसेका थिए । गत मंसिर २७ मा चुरे गाउँपालिका ३, ४, ५ र ६ का करिब १ सय ५० पहिरोपीडित एकीकृत भई तराई झरे । उनीहरू गौरीगंगा नगरपालिका–१ पशुपति सामुदायिक वन छेउमा आएर बसेका छन् ।

यस अवधिमा भावना र उनको काखे बालक धेरै पटक बिरामी परे । केही दिनअघि मात्रै २ वर्षको छोरोलाई पनि ज्वरो आएको थियो । छोरो निको हुन नपाउँदै काखे छोरी फेरि थलिएकी छन् । आफन्तबाट एक हजार रुपैयाँ सापटी लिएर छोरोको उपचार गरेको उनले बताइन् । ‘त्यही हजार रुपैयाँ पनि तिर्न सकेको छैन,’ उनले भनिन्, ‘फेरि छोरीका लागि कोसँग हात थापौं ?’ ववडीकी सपना कार्की ३ महिनाको छोरा लिएर शिविरमा आइपुगिन् । चिसोले उनको छोरा पनि बिरामी परेको छ । सपनाको चार जनाको परिवार त्रिपालको बासमा छन् । दुई वर्षको जेठो छोरालाई पनि सन्चो छैन । शिविरमै बस्दै आएकी पुष्पादेवी कार्कीका दुई छोरालाई पनि चिसोले ज्वरो आएको छ ।

त्यस्तै महिमा कार्कीले पनि आफू र दुई छोराछोरीलाई ज्वरो आएको बताइन् । ‘खुला आकाशमुनिको सामान्य त्रिपालको बास अति नै कष्टपूर्ण भएको छ,’ उनले भनिन्, ‘सरकारले कहिले हाम्रो समस्यालाई बुझिदिने हो ? कति दिन यसरी बस्नुपर्ने हो ? बालबच्चा सबै बिरामी पर्न थालेका छन् ।’ उनले खाद्यान्नको पनि समस्या भएको बताइन् ।


तराईको कठ्याङ्ग्रिँदो चिसोमा गतिलो ओढ्ने–बिछ्याउने र लगाउने लुगा नहुँदा पहिरोपीडित बालबालिकाहरू निमोनिया, रुघाखोकी र ज्वरोले थला पर्न थालेका छन् । गर्भवती, बूढापाकाहरूमा पनि चिसोले टाउको दुख्ने, ज्वरो आउने र खोकी तथा दम चलेको छ । वयस्क महिला–पुरुषलाई पनि ज्वरो आएको ५९ वर्षीय सूर्ज कार्कीले जनाए ।

विस्थापित अर्जॅन कार्कीले यहाँ बिरामी परेकाहरूको कोरोना परीक्षणसमेत नभएको बताए । ‘कोरोना लक्षण भएका बिरामीहरू पनि छौं,’ उनले भने, ‘परीक्षण गरिएको छैन ।’ उनले स्थानीय चौमलाको अस्पतालमा जाँदासमेत राम्रो उपचार नपाएको गुनासो गरे । पहिरोपीडितको शिविरबाट आएको भनेपछि आफ्नै स्थानीय तह चुरेको अस्पतालमा जाऊ भन्ने गरेको उनले बताए ।

उनले शिविरमा बसेकाहरूले खोलाको पानी खानुपरेको गुनासो गरे । पहिरोपीडित संघर्ष समितिका अध्यक्ष टीकाराम कार्कीले यहाँ बसेको २२ दिन पुगे पनि सरकारको ध्यानाकर्षण नभएको बताए । ‘यहाँको बसाइ निकै कष्टपूर्ण छ, सरकारले चाँडो व्यवस्था मिलाउने पहल गरोस्,’ उनले भने ।कान्तिपुरबाट

प्रकाशित:
2021/01/04, 7:16
SPA
KN
Priya Gahana Pasal