शक्ति प्रदर्शन दाहाल–नेपाल र ओली समूहको ‘प्रतिष्ठा’

nekapa
सुदूर प्रेस संवाददाता

काठमाडौँ — राजनीतिक एवं सांगठनिक रुपमा विभाजित र आधिकारिताका लागि संघर्षरत नेकपाका दुवै समूहले शक्ति प्रदर्शनलाई  ‘प्रतिष्ठा’ बनाएका छन् । ठूलो सहभागितासहितका भेला, सभा गरेर शक्ति प्रदर्शन गर्ने र त्यहाँमार्फत विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो पक्षमा राख्ने दुवैपक्षका रणनीति छन् । 


नेकपाका दुवै समूहको केन्द्र र प्रदेशस्तरमा शक्ति प्रदर्शनको होडबाजी छ । शक्ति प्रदर्शनमा उत्रेका दुवै पक्षले एक–अर्काका कार्यक्रममाथि कटाक्ष पनि जारी राखेका छन् । दुवैपक्ष संगठन निर्माणमा पनि जुटेका छन् । आरोप–प्रत्यारोप त उनीहरुको पहिलो कार्यसूची जस्तै छ ।


संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्षसहित त्यसको राजनीति, संवैधानिक र कानुनी प्रतिवादमा उत्रेको दाहाल–नेपाल समूहले सडक संघर्ष र शक्ति प्रदर्शनमार्फत आफ्नो मुद्दा स्थापित गराउने रणनीति लिएको छ । त्यसैगरी प्रधानमन्त्री ओलीले चालेको संसद् विघटनको कदम सही हो भन्ने ठह्राउन ओलीपक्ष पनि सडकमा उर्लिएको छ ।

ठूला जनसभाबाहेक दुवै पक्षले अन्य विभिन्न कार्यक्रममार्फत सडकमा उपस्थिति जनाइरहेका छन् । तर, दुवै पक्ष काठमाडौंमा शक्ति प्रदर्शन गरेर संसद् विघटन प्रकरणपछि कानुनीरुपमा जोडिएका सर्वोच्च अदालत र निर्वाचन आयोगलाई पनि सन्देश दिने कोसिसमा छन् । संसद् विघटनविरुद्धको मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ भने आयोगले नेकपा विभाजनको कानुनी विवाद हेरिरहेको छ ।

दाहाल–नेपाल समूहका नेताहरुले व्यापक शक्ति प्रदर्शन र जनपरिचालनमार्फत संसद् विघटनको गैरसंवैधानिक कदम सच्चाउन दबाब बनाउने बताएका छन् । ओली समूहका नेताहरु आफूहरुले गरेको प्रदर्शनले चुनावी वातवरण बनाउने बताउँछन् । तर, शक्ति प्रदर्शनमार्फत दुवै समूह एक अर्कामाथि दबाब बनाउने खेलमा पनि छन् ।

माघ ९ मा काठमाडौंमा 'अर्थपूर्ण' शक्ति प्रदर्शन गरेर दाहाल–नेपाल समूह उत्साही थियो । त्यसैले सहभागी संख्यालाई लिएर माधवकुमार नेपालले मञ्‍चबाटै भनेका थिए, ‘यो उपस्थितिले जनआन्दोलनको झल्को दिएको छ । यो कास्टिङमात्रै हो, फिल्म त सुरु हुन बाँकी छ । दायाँतिर, बायाँतिर सिंगै टुँडिखेल वरिपरि भरिएको छ, यसबाट जनता के चाहन्छन् भन्ने प्रस्ट भएको छ ।’

जिल्ला–जिल्लाबाट काठमाडौंमा कार्यकर्ता ल्याएर संघर्ष गरेको दाहाल–नेपाल समूहप्रति त्यसैदिन ओलीले कटाक्ष मात्र गरेनन्, चुनौती पनि दिए । ‘आमसभा कस्तो हुन्छ भन्ने २३ गते काठमाडौंमा हेर्नुहोला । म उहाँहरूलाई भन्न चाहन्छु–आमसभा कस्तो हुन्छ र केलाई आमसभा भन्छन्, जनपरिचालन केलाई भन्छन् भन्ने २३ गते हेर्नुहोला । २३ गते अलिकति झलक दिन्छौं, कास्टिङ दिन्छौं । साँच्चैको जनसभा त्यसपछि आउँछ । जनप्रदर्शन त्यसपछि आउँछ’, आफ्नो समूहनिकट पेसागत बुद्धिजीवी जिल्ला कमिटी काठमाडौंको भेलामा ओलीले भनेका थिए ।

दाहाल–नेपाल समूहको प्रदर्शनबाट ओली समूह दबाबमा थियो । त्यसैले ओली समूहले माघ १२ मा पत्रकार सम्मेलनमार्फत काठमाडौंमा माघ २३ मा जनप्रदर्शन गर्ने जानकारी दिएको थियो । प्रदर्शनलाई प्रतिष्ठा बनाएको ओली समूहले जनसभामा कम्तीमा दुई लाख जनसहभागिता रहने दाबी गरेको छ । ओली समूहले जनसभाका लागि कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार एक सय ११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरेको छ ।

जनसभा अगाडि माघ २१ मा १० हजार मोटरसाइकलको र्‍याली निकाल्ने ओली समूहको तयारी छ । तर, नेकपा ओली समूहको वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले अर्को पक्षसँग प्रतिस्पर्धाका लागि नभई भ्रम चिर्न सभाको आयोजना गरेको दाबी गरे । ‘हामी शक्ति प्रदर्शन गर्दै छैनौं । अहिले विपक्षीहरुले सदन विघटन गरेको सन्दर्भमा जुन ढंगले भ्रम सिर्जना गरेको छ, त्यो भ्रमलाई चिर्ने काम गर्छौं,’ पोखरेलले भने, ‘सभामा प्रधानमन्त्री आफै बोल्ने भएकाले तीन वर्षको अवधिमा सरकारले गरेका काम पार्टीको अन्तरकलहका कारण छोपिएका छन् । त्यसको संम्प्रेषण गर्छौं । त्यसबाहेक अब मुलुक चुनावमा गयो, सबै पार्टी चुनावका लागि तयार हुनुस् भन्ने सन्देश दिन चाहन्छौं । हामी कसैको प्रतिस्पर्धाका लागि सभा आयोजना गरेको होइन ।’

ओलीको कटाक्षपछि दाहालले काठमाडौंमा अझै ठूलो प्रदर्शन चाहिएको बताएका थिए । माघ १२ मा पेरिसडाँडामा भएको कार्यक्रममा अध्यक्ष दाहालले माघ ९ गतेको भन्दा अब २८ गते हुने प्रदर्शन ठूलो हुने दाबी गरेका थिए । दाहालले संसद् विघटनविरुद्धको संघर्षको कार्यक्रम काठमाडौंमै केन्द्रित गर्ने अवस्था आएको पनि बताएका थिए ।

‘अस्तिको भन्दा काठमाडौंमा अझै ठूलो प्रदर्शन गर्नुपर्ने भयो भन्ने महसुस गर्‍यौं । किनभने टाउकोमै हान्नुपर्ने स्थिति आयो । अन्त हानेर त्यत्ति धेरै चोट पुग्दैन कि भन्ने सोचेर टाउकोमै हान्ने निष्कर्षमा पुगेका छौं । काठमाडौंमा अझै ठूलो जनसभा र प्रदर्शन हुन्छ । अब निर्णायक संघर्ष हुन्छ,’ दाहालले भनेका थिए । आफूहरुले माघ ९ मा गरेको प्रदर्शनको ओली समूहले जवाफ दिन थालेपछि दाहाल–नेपाल समूह फेरि काठमाडौं केन्द्रित अर्को कार्यक्रममा जुट्यो । दाहाल–नेपाल समूहले माघ २८ मा माघ ९ को भन्दा ठूलो विरोध प्रदर्शन गर्ने तयारी थाल्यो । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले माघ २८ गते संसद् विघटनविरुद्धको प्रदर्शन अहिलेसम्मकै ठूलो बनाउने निर्णय लिएको छ ।

दाहालले टाउकोमै प्रहार गर्ने बेला आएको बताएकै दिन बसेको बैठकले काठमाडौंमा तय भएको सभा हालसम्मकै ठूलो बनाउन कार्ययोजना पनि बनाएको छ ।

एक अर्काका कार्यक्रममाथि पनि दुवै पक्ष अनुदार छन् । ओलीले माघ ८ मा प्रेस संगठन नेपालको राष्ट्रिय भेलामा दाहाल–नेपाल समूहको आन्दोलनलाई तमासा भनेका थिए । ‘देश र जनताप्रति जिम्मेवार नभएकाहरूले जनतालाई सिनेमा देखाउँछन् । सिनेमामा हिरो हुन्छ, हिरोइन हुन्छे, लभ पर्छ । हिरोइन घाइते हुन्छे, हिरो तनाव लिन्छ । तर, वास्तवमा केही पनि होइन, तमासामात्रै हो । केही मान्छेले त्यसैगरी तमासा गर्छन्, जनता झुक्याउँछन्’ ओलीको भनाइ थियो ।

अर्को दिन दाहालले जवाफ दिए । ओली ‘कमेडियन’ र ‘जोकर’ का रुपमा पेस हुन थालेको आरोप लगाए । ‘अहिले संविधान मर्ने हो कि बाँच्ने हो भन्ने गरी घाइते छ । संविधान आईसीयूमा छ । तर, उहाँचाहिँ सबैलाई हँसाउदै हिँड्नुभएको छ । कमेडी प्रदर्शन गरिरहनुभएको छ । उहाँ उल्टो खोपडी भएको मान्छे हुनुहुन्छ,’ ९ माघमा दाहालले भनेका थिए ।

१२ माघमा त दाहालले ओली नेतृत्वको नेकपाले गरिरहेको र्‍यालीलाई पञ्चहरुको संज्ञा दिए । ‘राजा, पञ्चहरुले पनि आफू ढल्नुअघि र्‍याली गर्थे । त्यस्ता र्‍यालीको केही अर्थ छैन । जनताको पक्षमा, राष्ट्रको पक्षमा, गणतन्त्रको पक्षमा, लोकतन्त्रको पक्षमा सामानुपातिक, समावेशीको पक्षमा भएको हुँदा हाम्रो र्‍याली जनताको र्‍याली हुन्छ, प्रदर्शन पनि जनताको प्रदर्शन हो’, दाहालको भनाइ थियो ।

पुस ५ गते प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको दाहाल–नेपाल पक्षले चरणबद्ध आन्दोलनमा छ । दाहाल–नेपाल समूह आन्दोलन अझै सशक्त बनाउने तयारीमा छ । तेस्रो चरणको संघर्षका कार्यक्रमअनुसार दाहाल–नेपाल समूहले बिहीबार बुटवलमा विरोध प्रदर्शन एवं सभा गरेको छ । शुक्रबार विराटनगर र शनिबार धनगढीमासभा राखेको दाहाल-नेपाल समूहले माघ १३ मा काठमाडौंमा सिटी जुलुस प्रदर्शन गरेको थियो ।

माघ १४ देखि २१ माघसम्म माइतीघर मण्डलामा संविधानसभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्यहरूले धर्ना पनि दाहाल नेपाल समूहको आन्दोलनका कार्यक्रमभित्र परेका छन् । यो समूहले १६ माघमा जुलुससहित श्रद्धाञ्जली कार्यक्रम, माघ २२ मा काठमाडौंमा युवा र्‍याली, माघ २६ मा देशव्यापी मसाल जुलुस र माघ २८ मा काठमाडौंमा प्रदर्शन गर्दैछ । ओली समूह आफूमाथि लागेका राजनीतिक आरोपको सफाई दिँदैछ । र, वैशाखका लागि चुनावी प्रचारमा पनि जुटेको छ । कान्तिपुरबाट

प्रकाशित:
2021/01/30, 8:39