नेपाली सेनामा पेन्सन पाक्ने समयावधि घट्यो

Army
सुदूर प्रेस संवाददाता

काठमाडौँ — सरकारले नेपाली सेनामा अन्य दर्जा (फलोअर्सदेखि हुद्दासम्म) र पदिक (जमदार, सुवेदार र प्रमुख सुवेदार) सैनिकले स्वैच्छिक अवकाश लिँदा निवृत्तिभरण (पेन्सन) पाउने अवधि घटाएको छ ।


सेनाभित्र तल्लो दर्जाका कर्मचारीमा पेन्सन अवधि लामो हुँदा राजीनामा दिने लहर बढेपछि सैनिक सेवा नियमावली संशोधन गरेर पेन्सन पाक्ने अवधि घटाइएको हो । अब पेन्सन अवधि दर्जाअनुसार १६ देखि २० वर्ष हुनेछ । यसअघि २० वर्ष मात्र थियो ।


संशोधित नियमावलीमा पेन्सन अवधि दर्जागत रूपमा १६ देखि २० वर्षसम्म कायम गरिए पनि तोकिएको अवधि पूरा गरेर बीचमै स्वैच्छिक अवकाश लिए पनि पेन्सन भने २० वर्षपछि मात्र पाइनेछ ।

संशोधित नियमावलीअनुसार सेनाका फलोअर्स (कार्यालय सहयोगी) र सिपाहीले १६ वर्ष, प्यूठदेखि अमल्दारसम्मले १७ वर्ष, हुद्दा र जमदारले १८ वर्ष तथा सुवेदार र प्रमुख सुवेदारले १९ वर्षमा स्वैच्छिक अवकाश लिन चाहे पेन्सन पाउनेछन् । ‘नयाँ प्रावधानअनुसार २० वर्ष समय अवधि पुगेपछि पेन्सन आए पनि रकम भने १६ वर्ष काम गरेकै आधारमा सैनिकहरूले पाउनेछन्,’ सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने ।

सैनिक अधिकृतहरूले भने पहिलेकै प्रावधानअनुसार स्वैच्छिक अवकाश लिएर पेन्सन पाउन २० वर्ष नै कुर्नुपर्नेछ । मन्त्रिपरिषद्ले पुस २९ गते सैनिक सेवा (तेस्रो संशोधन) नियमावली–२०७७ स्वीकृत गरेको हो ।

यसअघि सैनिक सेवा नियमावली–२०६९ मा अन्य दर्जाका सैनिकले स्वैच्छिक अवकाश लिँदै पेन्सन पाक्ने अवधिलाई १६ वर्षबाट बढाएर २० वर्ष पुर्‍याइएको थियो । जसमा २०६० वैशाख २८ गतेभन्दा अघि नेपाली सेनामा भर्ना हुनेको हकमा १६ वर्षे प्रावधान र त्यसपछिको हकमा २० वर्ष रहने व्यवस्था गरी निवृत्तिभरण पाउने व्यवस्था गरिएको थियो ।

सहायक सेनानी र सोभन्दा माथिका अधिकृतले अवकाश पाउन २० वर्षको सेवा अवधि पूरा गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित:
2021/01/31, 11:22