दिदी ‘तँ’ लाई धेरै शुभकामना

ved joshi
-    वेदजोशी
सुदूर प्रेस संवाददाता

घरमा होस वा मामाघरमा,दिदीहरुप्रति छुट्टै सम्मान र आदरभावको वातावरण देखिरहेकोले होला मेरी छोरीको बालमस्तिष्कमा ‘दिदी’ भनेको त ठुलो र महत्वपुर्ण व्यक्ति हो भन्ने छाप परेको रहेछ। घरमा छोराको जन्मपश्चात अर्थात छोरीको एउटा सानो भाई समेत जन्मिसकेपछीको अवस्थामा एकदिन उनले मलाई भनिन; ‘पापा ! पापा ! हजुरलाई थाहा छ, अब म पनि ठुलो भए नि।‘ कसरी नानु ? भन्ने मेरो प्रश्न भुँइमा खस्न नपाउँदैउनले भनिन; ‘ म पनि त अब दिदी भए नि!मेरो भाई छ,उसले मलाईदिदी भन्छ, म भाइलाई आफुसँगै खेलाउँछु र धेरै माया गर्छु।अनि दिदी भएपछी म ठुलो भएन त? भनेर तर्क प्रस्तुत गरिरहँदा त्यो अबोधपनमा एककिसिमको दिदी भएको खुशी र जिम्मेवारीपनको महसुस भएको आभाष हुन्थ्यो। छोरीको उक्त कुराले साच्चै नै दिदीप्रतिको स्नेह र श्रद्धा मात्रै बढाईदिएन, दिदीसँगको मेरा यादहरुलाई समेत ताजा बनाइदियो। दिदी, तेरो र मेरो बालापनसँग जोडिएका थुप्रै यादसँगै एकाएक आँखासामु एकाएक नाच्न थाले। म जन्मिदा सायद तँ पनी यस्तै खुशी भइस होला, जसरी मेरी छोरी आफु दिदी हुँदा भएकी छ। जसरी तँलाई म जन्मेको दिन विशेष भएको थियो, त्यसरी नै आजको दिन मेरो लागि पनि उत्तिकै विशेष छ । किनकि आज तेरो ‘जन्मदिन’ हो। तँ जन्मिस र त मैले दिदी पाँए, माया मिश्रित न्यानोबुँई पाँए, अनि मेरो ताते-ताते को चालदेखि आजपर्यन्त उस्तै स्नेही साथ पाँए।तैले सोचेका मनोकांक्षा र देखेका सपनाहरु सबै पुरा होउन, तँलाई जन्मदिनको धेरै-धेरै शुभकामना.......!
सानो छँदा अक्षराम्भको लागी तँलाई बुवा-आमाले स्कुल पठाउन खोज्दा ‘भाइसँगै जान्छु’ भनेर जानै मान्दैनथिस अरे। सायद स्कुलमा अरु साथीहरुसँग खेल्दा,पढ्दा र उफ्रिदा तेरो आँखाले मलाई नै खोज्थ्यो होला। स्कुलको माहोलमा आफुले मात्रै पढ्दा र खेल्दा भाई पनी पढ्थ्यो होला, खेल्थ्यो होला ,रमाउँथ्यो होला भन्ने निस्वार्थ भावनाले गर्दा होला, म स्कुल जाने हुँदासम्म मलाइ नै पर्खेर बसेकी थिइस अरे। त्यसैले त एक कक्षा देखि क्याम्पस सम्म हामी सँगै भयौं। दिदी-भाइ सँगै हामी मिल्ने साथ पनी थियौं, र त हाम्रो सम्बन्ध अझै विशेष बनेर रहेको छ।
तँलाई थाहा छ नि, घरमा सबैभन्दा ठुलो डर बुवाकै हुन्थ्यो। घरको कडा अनुशासनको वातावरणमा हाम्रा बालापनमा थुप्रै रहरहरु रहरमै सिमित हुन्थे। त्यो बेला गाँउ-टोलमा राति कैयौं नाचगानका कार्यक्रमहरु हुन्थे तर रातिको समयमा निस्कन नपाउने नियमका कारण माइकमा सुनिने गित-संगितसँग कोठाभित्र नै रमाउने गर्दर्थ्यौं। टोलका सबै साथीहरु नाचगान हेर्न सहजै जाँदा हामीलाई मात्र किन जान नदिएको होला, हामीलाई खुशी लाग्ने उक्त कुरामा बुवा-आमा किन बाधक बनेको होला,भनेर कति मुरमुरिन्थ्यौं। तर अहिले सम्झँदा सायद त्यो बेलाको समय र परिवेशमा हाम्रो पाइला गलत मार्गमा नपुगुन भनेर हाम्रै सुनिश्चित भविष्यका लागीवहाँहरुले त्यसो गर्नुभएको रहेछ भन्ने महसुस हुन्छ। याद छ नि, बर्षदिनमा एकचोटि लाग्ने नदिपारीको ‘लिक्मा मेला’ घुम्न जान पनी कम्ति पापड पेल्नु पर्थ्यो। अझै घरबाट प्रतिबन्धित मेलामा पाइने डल्ले भुजा लुकेर खानसक्नु पनि युद्ध जितेजस्तै नै थियो हाम्रो लागि।त्यो बेला ‘बरेफ ठण्डा मिठा बरेफ’ भन्दै साइकलमा हिड्ने भारतिय भैयासँग नत हामीलाई बरफ किनेर खाने छुट थियो न त तँलाई औधी मन पर्ने बबलगम र चुइँगम नै चपाउने अनुमति।त्यसका बाबजुद दक्षिणाको पैसा जम्मा पारेर तैँले लुकी-लुकी बरफ किनेर खुवाएको क्षण होस वा तैले लुकेर चपाउने चुँइगम घर पुग्दा फाल्न लोभ गरेर आफु सुत्ने खाटमुनी टाँसेर भोलिपल्ट पुनः खाने तेरो बानी होस, अहिले सम्झँदा निकै आनन्द आँउछ।
बिहान सबेरै बुवा-आमाले लालटिन बालिदिएर हामीलाई पढ्न उठाईदिने दैनिकीसबैभन्दा सकसपुर्ण हुन्थ्यो हाम्रा लागि। बिहानै उठेर हामीलाई कहिल्यै पढ्न मन नहुने तर बुवा-आमाले पढ पढ भन्दा, आफ्ना लागी होइन वहाँहरुका लागी पढेजस्तो गर्ने कुरा कम्ति रमाइलो थिएन। अझै रमाइलो त, डर र करले उठेर पढेजस्तो गर्ने हामी केही क्षणमै लालटिनको प्रकाश सानो पारेर किताब अगाडि राखेर पुनः सुत्ने र बाहिरबाट वँहाहरुले ढोका खोलेको आवाजसँगै हत्त न पत्त उठेर पढेको स्वाँङ्ग गर्नुमा हुन्थ्यो। तँलाइ याद छ नि, तैले स्कुलको कक्षाकोठामा कर्ण सरले पढाउने क्रममा वहाँ कालोपाटि तिर फर्केर लेख्दा तैंले पछाडीबाट चकले हान्दा सबैले गाली खाएको कुरा, अनि त्यस्तो उटपट्याङ गर्ने तँ आफु चाँही कहिल्यै शंकाको घेरामा पर्दैनथिस। स्कुलबाट फर्कदा मुखिया बाको घरको किम्बु चोरेर खाएको, अन्तिम कक्षा छाडेर नदिचौरमा बयर खान गएको हिजो जस्तै लाग्छ।स्कुले साथिहरु मिना, दुर्गा, शिवचरण, माधवहरु सँग स्कुलबाट भागेर बुवाले पढाउने अर्को स्कुल छेउको फिल्महलमा फिल्म हेर्न जाँदा बाटोमा बुवाले देख्दा सात्तो गएको अनि घर फर्कदा भेटेको पिटाइ होस या सुवेदी सरले घरमा आई हाम्रो पढाइमा त्यति ध्यान नभएको भनि कुरा लाइदिँदा बेस्सरी गाली खाएको क्षण होस, ति घटनाक्रमहरुले हाम्रो निम्ती घरको नियम झन झन कडा हुँदै जानुमा सहयोगीको भुमिका खेलेका थिए। जुन कुरा हाम्रो जिन्दगीको मिठा स्मृति बनेर रहेका छन।
हाम्रो स्कुले बेलामा साथीहरुको अटो(डायरी) भर्ने र पत्रमित्रता मार्फत नयाँ साथिहरु बनाउने खुब प्रचलन थियो। तँ पनि त्यसको एउटा सक्रिय पात्र थिइस र त्यसको लागी चाहिने फोटो खिच्न लुकेर वा केही बहाना बनाएर साझा बजारको ‘काका फोटो स्टुडियो’मा कैयौं पटक धाउँथिस हिसाब किताब नै छैन। फोटो खिच्न त जसो-तसो पुग्थिस तर धुलाइएको फोटो लिन भने म गइदिनुपर्थ्यो, किनकि तँ छोरी मान्छे तँलाई बाहिर हिडिरहन पाउने छुट थिएन। तेरो तुलनामा केही हदसम्म बरु मलाई थियो। त्यसैले तँलाइ तेरा थुप्रै स-साना रहरहरु मेरो त्यही छुटको सदुपयोग गर्दै पुरा गर्नुपर्ने बाध्यता थियो ।फेरी मैले त्यसरी तेरो काम गरिदिन तैले मलाई फकाइरहनु पर्थ्यो,कहिले पैसा दिएर त कहिले केही मिठो खानेकुरा दिएर।अहिले यसो फर्केर हेर्दा, त्यो बेलाको घरभित्रको सुक्ष्म लैङ्गिक विभेदको बातावरणमातेरा साना रहरहरु पुरा गर्न साथ दिएर होस वा छोरी भएर एक्लै हिड्न नहुने तेरो हिडाईको साक्षी बनेर तैले चलाएको साइकलको पछाडी बसेर हिँडिदिएर होस, मैले हरदम साथ दिने प्रयास गरेको रहेछु। अझै तैले नै गर्नुपर्ने घरको कामहरुमा समेत हात बढाइदिएरनजानिदो तबरले विभेदमा मलम लगाउने काम पो गरेको रहेछु, सम्झिदा खुशी लाग्छ।
यि सबै साथ र सहयोगका बाबजुद बालापन देखि हरेक सुख-दुःखमा सगै रहेको तेरो भाइ, तेरो जिवनको सबैभन्दा खुशीको क्षणः तेरो बिवाहमा भने सामेल  हुन सकेन। सायद भाविको लेखान्त त्यही थियो होला, तैपनि त्यो कुरा सधै खड्किरहन्छ। तेरो विवाहमा यो गर्ने, त्यो गर्ने, सबै कल्पनामै सिमित भए,अनि तैले सानो छँदा मलाइ बुँई बोकेर लाएको ऋण तँलाई बुँईमै बोकेर बिदाई गरेर तिर्ने अवसर पनि जुरेन। तथापी आजपर्यन्त मेरो दिर्घायुको लागी कैयौं ओखर फोडेर गरेको कामनाहरुको अगाडी यही जुनिमातँलाई धेरैथोक गर्न नसकेपनी तेरो आँशु पुछिदिन सकुँ अनिखुशी दिन सकुँ, यही नै मनैदैखिको चाहना भएर रहेको छ।
खै किन हो किन, तँलाई ‘दिदी’ र ‘तँपाइ’ भनेर कहिल्यै भन्न सकिन। घरमा सधैं गाली खान्थे दिदीलाई किन तँ भनेको भनेर। सायद तँ शब्दमा झन आत्मियता देखेर होला तँपाई शब्दको प्रयोगले तँलाइ टाढा बनाउनै सकिन। हुन त हाम्रो संस्कार अनुसार दिदीलाई गर्नुपर्ने आदर र सम्मानलाइ राम्ररी बुझेको छुँ र तँप्रतिको त्यो आदरभाव मनभित्र अथाह रहेको छ मात्र मेरो व्यक्त गर्ने शैली फरक भएको हुन सक्छ। थाह छ दिदी, तँसँगका हिजोका कैंयन मिठा स्मृतिहरुले हामीलाई आजमा खुशी भएर जिउन उर्जा र प्रेरणा दिइरहेको छ। हामी आफ्नो आफ्नो जिन्दगी बाँचिरहेका छौं तर हाम्रा बालापन देखिका अविष्मरणिय यादहरुले हाम्रो अटुट बन्धनलाई झन मजबुत बनाइरहेको छ।जानि नजानि मैले तेरो मन दुखाएको रहेछु भने पनि यिनै मिठा स्मृति सम्झेर मलाई माफ गरिदिनु ल। तेरो जिवनमा रहेको खुशियालीको मौसम कहिल्यै नबदलियोस, तेरो खुशीमा कसैको नजर नलागोस, सधै हाँसि खुशी जिवनको प्रगतिपथमा लम्किरहनु, तेरो भाईको सुवेक्षा सधै तेरो साथमा छ। मेरो शिरमा तेरो हात सधैं भइरहोस, जिवनमा अथाह खुशी मिलोस, जन्मदिनको तँलाई धेरै-धेरै शुभकामना......!!!
 

प्रकाशित:
2021/04/11, 6:41
SPA
KN
Priya Gahana Pasal