‘सबैका प्रिय’ थिए मन्त्री पृथ्वीबहादुर सिंह

सुदूर प्रेस संवाददाता

बझाङ–मंगलबार बिहान आठ बजे डडेलधुराबाट बझाङ जाँदै गर्दा प्रेस युनियन आबद्ध पत्रकारहरूले सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहलाई बाटैमा खादा लगाएर बधाई दिएका थिए । गृहजिल्ला जाँदै गरेका सिंहले भेटमा प्रेस युनियन डडेलधुराका अध्यक्ष योगेन्द्र रावललाई फर्किंदा पत्रकार सम्मेलनको आयोजना गरिदिनसमेत भनेका थिए ।


‘अहिले हतार छ । फर्किंदा यहाँ पत्रकार सम्मेलन आयोजना गरिदिनुहोला । बजेटबारे धेरै कुरा प्रस्ट गर्नु पर्ने छ भन्नु भएको थियो,’ रावलले भने । तर मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला जाँदै गरेका सिंह सवार गाडी मंगलबार दिउँसो २ बजेतिर बझाङको केदारस्युँमा दुर्घटनाग्रस्त भयो ।

दुर्घटनामा मन्त्रीसहित उनकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको समेत निधन भयो । भाउजू र पत्नीको घटनास्थलमै मृत्यु भएको थियो भने मन्त्री सिंहको उपचारका क्रममा कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

मन्त्री सिंहले बझाङकै वित्थडचिर गाउँपालिकामा आयोजना भएको बधाई तथा शुभकामना कार्यक्रमपछि केदारस्युँको देउरामा पनि कार्यकर्तालाई भेट्ने कार्यक्रम थियो । पहिलो पटक जिल्ला आएका मन्त्रीलाई बधाई दिनका लागि जिल्ला सदरमुकामलगायत विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरिएको थियो ।

मन्त्री जिल्ला आउने खबरले उत्साहित बनेका जिल्लावासीहरूमा दुर्घटनाको खबरले एकाएक स्तब्धता छाएको छ । ‘सुदूरपश्चिम सरकारमा पहिलो पटक बझाङले क्याबिनेट मन्त्री पाएकोमा खुसीले माला लगाउन भनेर हिँडेको थिएँ,’ देउराका व्यवसायी केस विष्टले भने, ‘दुर्घटना भयो भन्ने खबरले सबै उत्साहमा पानी खन्याएजस्तै भएको छ ।’


मन्त्री सिंह दम्पती र भाउजूको निधनले बझाङ जिल्ला नै शोकमग्न भएको छ । जिल्लामा मिलनसार व्यक्तिका रूपमा छवि बनाएका सिंहलाई अकास्मात गुमाउनुपर्दा अकल्पनीय क्षति भएको भन्दै सामाजिक सञ्जालका भित्ताहरूमा जिल्लावासीले शोक प्रकट गरिरहेका छन् ।

प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीले जिल्लाले होनहार नेता गुमाएको बताउँदै दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताए । यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले पनि जिल्लाले एक असल राजनीतिज्ञ गुमाएको बताए । सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीले जनताले प्रिय नेता गुमाउनु पर्दा जिल्ला नै मर्माहत भएको र बझाङको राजनीतिले अपुरणीय क्षति भोग्नु परेको बताए ।

२०७९ सालको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१, बाट विजयी सिंह एक महिनाअघि जेठ ६ गते मन्त्री नियुक्त भएका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका भैरवबहादुर सिंहसँग पराजित भएका सिंह विद्यार्थी कालदेखि नै राजनीतिमा आबद्ध थिए । लामो समयदेखि चर्चित अधिवक्ताका रूपमा कानुन व्यवसाय गर्दै आएका सिंह २०३१ सालमा एसएलसी पास गरेलगत्तै नेपाल विद्यार्थी संघमा आबद्ध भएका थिए ।

२०३७ देखि २०४० सालसम्म नेविसंघ बाँकेको जिल्ला अध्यक्षका रूपमा काम गरेका उनी २०४१ देिख २०४८ सम्म कांग्रेस बझाङको जिल्ला सदस्य रहेका थिए । सिंह २०४८ देखि २०६० सालसम्म कांग्रेसको जिल्ला सचिव र पटक–पटक महाअधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत भएका थिए ।

२०६२ देखि २०७३ सम्म लगातार दुई कार्यकाल कांग्रेस जिल्ला सभापति भएर संगठन चलाएका उनी २०४९ सालको स्थानीय निर्वाचनमा तत्कालीन लुयाटा गाविसको अध्यक्ष निर्वाचित भएका थिए । पेसाले कानुन व्यवसायी सिंहले परिआउँदा राजनीतिक पूर्वाग्रह नराखी सबैको काम गरिदिने नेताका रूपमा जिल्लामा लोकप्रिय छवि निमार्ण गरेका थिए ।

मन्त्री सिंहको जन्म २०१५ साल माघमा बझाङको कैलासमा भएको हो । सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरको पहिलो ब्याचमा आईएस्सी उत्तीर्ण सिंहले बीए र बीएलसम्मको औपचारिक शिक्षा हासिल गरेका थिए ।

पत्नी अमृता सिंह पनि कांग्रेस राजनीतिमा सक्रिय थिइन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट जयपृथ्वी नगरपालिकाको उपप्रमुख पदको उम्मेदवार थिइन् । सिंह दम्पतीका दुई छोराबुहारी र दुई नाति–नातिना छन् । कान्तिपुरवाट साभार

प्रकाशित:
2023/06/21, 6:37