आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस

सुदूर प्रेस संवाददाता

धनगढी– आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘बेचबिखनका हरेक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नाराका साथ यसवर्षको दिवस मनाउन लागिएको हो ।

दिवसले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता तथा बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणमा जोड दिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय प्रतिवेदन अनुसार पछिल्लो समय महिला र बालबालिकाको एसिया, अरब, अफ्रिका, युरोप र अमेरिकाका अन्य विभिन्न देशमा बेचबिखन तथा ओसारपसार हुन थालेको छ ।

प्रलोभनमा पारी, झुक्याइ, डरत्रास देखाइ कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनैरूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबरजस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याउने अवस्थालाई मानव बेचबिखन भन्ने गरिन्छ ।

मानवको बेचबिखन तथा ओसारपसार, बालश्रम, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासनजस्ता काम बढ्दै गएका छन् ।  

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वव्यापी सङ्कट, द्वन्द्व र जलवायु आपतकालले मानव बेचबिखनको जोखिम पनि बढाएको छ । विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौँ मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन् ।

यस्तै, गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुर्व्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् । मानव बेचबिखन बढ्दै गएको तर यसको रोकथाम र नियन्त्रण अहिले चुनौतीको विषय बन्दै गएको छ ।

पहिला लोभलालच वा झुक्याएर बेचबिखन हुन्थ्यो तर अहिले यसको आयाम फराकिलो भएको समाजशास्त्री मीना पौडेलले बताउनुभएको छ । अहिले महिलामात्र नभइ पुरुष पनि जोखिममा रहेका उहाँको भनाइ छ । मानव बेचबिखन नियन्त्रणका लागि समयसाक्षेप कानुनको संशोधन र निर्माण गर्न आवश्यक भएकोमा यो क्षेत्रमा काम गर्दै आएका साझेदार संस्थाहरुले जोड दिएका छन् । 

प्रकाशित:
2023/07/30, 7:25