सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि

६ हजार ७ सय २ जनाले कोरोना जिते,१ हजार ९९ सक्रिय सङ्क्रमित
Corona Update

धनगढी–सुदूरपश्चिम प्रदेशका बिहीबार थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका तीन वटा प्रयोगशालामा ६ सय २० जनाको कोरोना परीक्षण भएकोमा ४१ जनामा सङ्क्रमण पुष्टि भएको हो।  

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय १३ जनाको कोरोना परीक्षण भएकोमा धनगढीका १२ सहित थप २४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले आज धनगढी उप–महानगरपालिकाका १२ जना, गोदावरी नगरपालिकाका ६ जना र गौरीगंगा नगरपालिकाका एक जना गरी कैलालीका १९ र कञ्चनपुरका पाँच जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । 

उनका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ४ जना, वडा नम्बर १ का ३ जना, वडा नम्बर ३ र ९ का २/२ जना, वडा नम्बर २ का एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १० जनामा सङ्क्रमण पुष्टि भएको छ। ७४ जनाको कोरोना परीक्षण भएकोमा १० जनालाई सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको साँफेबगर नगरपालिकाका ६ पुरुष र ४ महिला गरी १० जनामा कोरोना पुष्टि भएको बताए।

डडेलधुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय २९ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा सङ्क्रमण पुष्टि भएको छ।

डडेलधुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरि भट्टले आज गरिएको परीक्षणमा थप ७  जनामा सङ्क्रमण पुष्टि भएको हो। योसङै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार ४१ पुगेको छ।

प्रदेशमा हाल सम्म ७ हजार ८ सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ६ हजार ७ सय २ जनाले कोरोना जितेका छन् । अब १ हजार ९९ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

प्रकाशित:
2020/10/08, 7:08