आइपिएलः राशिद र बेयरस्टो चम्कँदा हैदराबादको सानदार जित

ipl

एजेन्सी – स्पिनर राशिद खानको घातक बलिङ र ओपनर जोनी बेयरस्टोको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को २२ औ सनराइजर्स हैदराबादले किंग्स इलेभेन पन्जाबमाथि सानदार जित हात पारेको छ ।

हैदराबादले बिहिबार राती पन्जाबलाई ६९ रनले पराजित गर्दै तेस्रो जित निकाल्दै अंक तालिका तेस्रो स्थानमा उक्लिएको छ । जितका लागि २ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको पन्जाब १६.५ ओभरमा अल आउट हुँदै १ सय ३२ रनमा समेटियो । पन्जाबका लागि निकोलस पुरनले ३७ बलमा ५ चौका र ७ छक्का सहित सर्वाधिक ७७ रनको योगदान दिए ।

१५ औं ओभरको पाँचौ बलमा स्पिनर राशिद खानले टि नटराजनबाट पुरनलाई क्याच आउट गराएपछि पन्जाबको जितको सम्भाबना सकिएको थियो । पुरनले १७ बलमा अर्ध शतक प्रहार गरेका थिए । पन्जाबका तीन खेलाडीले मात्र दोहोरो अंकमा रन बनाए । ८ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

दोस्रो ओभरको तेस्रो बलमा ओपनर मयंक अग्रवाल ९ रनमा रन आउट हुन पुगे । खलिल अहमदले पाँचौ ओभरको दोस्रो बलमा प्रभशिम्रन सिंहलाई ११ रनमा प्रियम गर्गबाट क्याच आउट बढाउँदै दबाब बढाए । युवा स्पिनर अभिषेश शर्माले सातौं ओभरको चौथो बलमा केन विलियम्सनबाट कप्तान लोकेश राहुल ११ रनमा खेलि रहेको अवस्थामा क्याच आउट गराए ।

११ औं ओभरमा ग्लेन म्याक्सवेल ७ रनमा रन आउट हुन पुगे । १३ औैं ओभरको तेस्रो बलमा मनदीप सिंहलाई राशिद खानले ६ रनमा बोल्ड आउट गरेपछि पन्जाब ११५–५ को कमजोर अवस्थामा पुगेको थियो । खलिल अहमदले रबि बिश्रोईलाई १ रनमा क्याच आउट गराए । मोहम्मद शामी, अर्शदीप सिंह र शेल्डन कटरेलले खाता खोल्न सकेनन् ।

राशिद खानले ४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ३ विकेट लिए । खलिल अहमदले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । टि नटराजनले ३.५ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । अभिषेक शर्माले एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । हैदराबादका ओपनर जोनी बेयरस्टोले सर्वाधिक ९७ रनको योगदान दिए । बेयरस्टोले ५५ बलमा ७ चौका र ६ छक्का प्रहार गरे । अर्का ओपनर डेभिड वार्नरले ५२ रन बनाए । वार्नरले ४० बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

पहिलो विकेटका लागि बेयरस्टो र वार्नरले १६ औं ओभरको पहिलो बलसम्म १ सय ६० रनको साझेदारी गर्दै विशाल योगफलको बाटोमा डोर्याएका थिए । तर १६ औं ओभरमा युवा लेगस्पिनर स्पिनर रबि बिश्रोईले यी दुबै ओपनरलाई आउट गरेपछि पन्जाब खेलमा फर्किएको थियो ।

बिश्रोईले १६ औं ओभरको पहिलो बलमै वार्नरलाई ग्लेन म्याक्सवेलबाट क्याच आउट गराए । ठूलो सट खेलेका वार्नर लङअनमा समातिन पुगेपछि उत्कृष्ट साझेदारी तोडिएको थियो । तीन बल पछि बेयरस्टो एलबिडब्लू आउटको शिकार बन्न पुगे । अम्पायरले आउट नदिएपनि कप्तान लोकेश राहुलले रिभ्यु लिदै बेयरस्टोलाई तीन रनले शतक बनाउन असफल बनाउँदै पेभिलिएन फर्काए ।

१७ औं ओभरको पहिलो बलमा युवा तीव्र गतिका बलर अर्शदीप सिंहले मनिष पान्डेलाई १ रनमा कट एण्ड बोल्ड आउट गरे । बिश्रोईको १८ औं ओभरको पाँचौ बलमा अब्दुल सामद ठूलो सट खेल्नेक्रममा अर्शलीपबाट ८ रनमा क्याच आउट भए । प्रियम गर्गले खाता खोल्न सकेनन् ।

केन विलियम्सन १० बलमा १ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । अभिषेक शर्मा ६ बलमा १ चौका र १ छक्का सहित १२ रनमा क्याच आउट हुन पुगे । हैदराबादले अन्तिम २४ बलमा ४१ रन जोड्न ६ विकेट गुमाएपछि ठूलो योगफल बनाउनबाट चुकेको हो । रबि बिश्रोईले ३ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीको नाममा १ विकेट रह्यो ।

पन्जाब ६ खेलमा ५ मा हार र १ मा जित सहित पुछारमा छ । हैदराबाद ६ खेलमा ३ मा हार र ३ मा जित सहित तेस्रो स्थानमा उक्लिएको छ । मुम्बई इन्डियन्स शीर्ष र दिल्ली क्यापिटल्स दोस्रो स्थानमा रहेको छ । हैदराबादले अव आइतबार राजस्थान रोयल्ससँग खेल्ने छ । पन्जाबले कोलकाता नाइट राइडर्ससँग शनिबार खेल्ने छ ।

प्रकाशित:
2020/10/09, 5:17