बैतडीमा इन्सपेक्टरसहित ५ प्रहरीमा कोरोना पुष्टि

Corona Update

बैतडी–प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत ५ प्रहरीमा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।  कोरोना पुष्टि हुनेमा एकजना प्रहरी निरीक्षक, एकजना प्रहरी नायव निरीक्षक, एकजना प्रहरी सहायक निरीक्षक, एकजना हवल्दार र एकजना जवान रहेका छन्।  संक्रमण पुष्टि भएका सबै हाल क्वारेन्टाइनमा रहेका र आइसोलेट गर्ने काम भइरहेको उनले बताए। प्रहरी नायव उपरीक्षक अधिकारीले भने, ‘संक्रमण पुष्टि हुने प्रहरी निरीक्षक कैलालीबाट सरुवा भएर आएका हुन् , प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक काठमाडौंबाट सरुवा भएर आएका हुन् भने हवल्दार र जवान बिदामा कञ्चनपुरबाट फर्केका हुन्।’ संक्रमण पुष्टि हुने उनीहरुलाई स्वास्थ्य  अवस्था सामान्य रहेको छ। जिल्ला प्रहरी कार्यालयमा कार्यरत पाँचजनामा कोरोना पुष्टि भएपछि कार्यालयको काम प्रभावित भएको बताईएको छ। यसअघि पनि  जिल्ला प्रहरी कार्यालयमै कार्यरत एक जवानमा संक्रमण पुष्टि भएको थियो। ती जवान भने डिस्चार्ज भइसकेका छन्। यसका साथै यसअघि प्रहरी नायव उपरीक्षकसहित ४० जनाको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो।  हाल पनि शंका लागेका, बिदाबाट फर्किएका, सरुवा भएर आएकाहरुको कोरोना परीक्षण गरिदैं जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

प्रकाशित:
2020/10/10, 5:08