अब धनगढीबाट २५ मिनेटमै बझाङ, मङ्गलवारदेखि नियमित हवाई सेवा

भाडा कति लाग्ने ? यस्तो छ तालिका !
summit air
सुदूर प्रेस संवाददाता

बझाङ – बझाङमा मङ्गलवारबाट नियमित हवाई सेवा सञ्चालन हुने भएको छ । साताको बिहीबार र शुक्रवार उडान हुने गरी अबदेखि समिट एयर सेवा दिने भएको हो ।

धनगढी(बझाङको भाडा दर भने ५ हजार ४८ रुपैयाँ तोकिएको छ । समिट एयर पश्चिम क्षेत्रीय निर्देशक सरोज उप्रेतीका अनुसार २७, २८ र २९ गते निरन्तर उडान गरिने भएको छ भने त्यसपछि नागरिक उड्डयन प्राधिकरणको तालिकाअनुसार बिहीबार र शुक्रवार मात्रै उडान हुने छ ।

देवल विमानस्थल कालोपत्रे भएपछि १७ असोजमा शनिवार परीक्षण उडान भएको थियो । धनगढी–बझाङ यात्रा गर्न २५ मिनेट लाग्ने छ ।  

संविधानसभा सदस्य अफिलाल ओखेडाले जहाज सेवा सञ्चालन भएपछि बझाङवासीलाई अत्यावश्यक काम पर्दा धनगढी जान सहज हुने बताए ।

उनले भने, ‘भाडा दर नेपाल नागरिक उड्डयन प्राधिकरणले नै तोकेको रहेछ । पाँच हजार आधा घण्टाको यात्रा अत्यावश्यक काम पर्दा ठिकै हो । हाम्रो लागि हवाई सेवा सञ्चालन हुनु सुखद नै हो । लामो समयपछि बझाङबावासीको धोको पूरा भएको छ ।’

 

प्रकाशित:
2020/10/11, 1:29