आईपीएल: राजस्थानले हैदराबादलाई ५ विकेटले हरायाे

ipl
सुदूर प्रेस संवाददाता

एजेन्सी – युवा अलराउन्डर रियान पराग र राहुल टेवाटियाको उत्कृष्ट प्रर्दशनमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादमाथि ५ विकेटको उत्कृष्ट जित निकालेको छ ।

आइपिएलमा दोस्रो जित निकाल्ने क्रममा राजस्थानले हैदराबादलाई ५ विकेटले पराजित गर्दै लगातार चार खेलमा हारको सिलसिला अन्त्य गरेको छ । जितका लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले एक बल अगाडि ५ विकेटको क्षतिमा पूरा गर्यो ।

एक समय १२ ओभरमा ७८–५ को कमजोर अवस्थामा रहेको राजस्थानलाई पराग र टेवाटियाले उत्कृष्ट प्रर्दशन गर्दै जित दिलाएका हुन् । अन्तिम ओभरमा राजस्थानलाई जितको लागि ८ रन आवश्यक थियो । जसमा पाँचौ बलमा खलिल अहमदलाई परागले उत्कृष्ट छक्का प्रहार गर्दै जित पक्का गरे ।

राजस्थानको जितमा नायक बनेका पराग २६ बलमा २ चौका र २ छक्का सहित ४२ रनमा अविजित रहे । त्यस्तै राजस्थानको जितमा हिरो बनेका टेवाटिया २८ बलमा ४ चौका र २ छक्का सहित ४५ रनमा अविजित रहे । छैटौं विकेटका लागि पराग र टेवाटियाले ७.५ ओभरमा ८५ रनको अविजित साझेदारी गर्दै हार नजिक पुगेको राजस्थानलाई उत्कृष्ट जित दिलाएका हुन् ।

राजस्थानले सुरुवात देखिनै खराब प्रर्दशन गरेको थियो । खलिल अहमदले दोस्रो ओभरको दोस्रो बलमा बेन स्टोक्सलाई ५ रनमा बोल्ड आउट गरे । चौथो ओभरको चौथो बलमा दुइ रन लिनेक्रममा कप्तान स्टिभ स्मिथ ५ रनमा रन आउट हुन पुगेपछि राजस्थान दबाबमा परेको थियो ।

खलिललेनै पाँचौ ओभरको पहिलो बलमा जस बटलरलाई विकेटकिपर जोनी बेयरस्टोबाट १६ रनमा क्याच आउट गराएपछि राजस्थान २६–३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि रोविन उथप्पा र सन्जु स्यामसनले ३७ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए ।

तर दशौं ओभरको पहिलो बलमा राशिद खानले उथप्पालाई १८ रनमा एलबिडब्लू आउट गर्दै हैदराबादलाई खेलमा हाबी बनाए । उथप्पाले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । १२ औं ओभरको अन्तिम बलमा राशिदले स्यामसनलाई २६ रनमा बेयरस्टोबाट क्याच आउट गराएपछि राजस्थानको जित कठिन बनेको थियो । स्यामसनले २५ बलमा ३ चौका प्रहार गरे ।
हैदराबादका स्पिनर राशिद खानले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । खलिल अहमदले ३।५ ओभरमा ३७ रन खर्चेर २ विकेट हात पारे ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५८ रन बनायो । हैदराबादका मनिष पान्डेले ४४ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ५४ रनको योगदान दिए । केन विलियम्सन १२ बलमा २ छक्का सहित २२ रनमा अविजित रहे । युवा ब्याट्सम्यान प्रियम गर्ग ८ बलमा १ छक्का र १ छक्का १५ रनमा रन आउट भए ।

हैदराबादले पहिलो विकेट पाँचौ ओभरमा गुमाएको थियो । पाँचौ ओभरको चौथो बलमा युवा तीव्र गतिका बलर कार्तिक त्यागीले सन्जु स्यामसनबाट ओपनर तथा विकेटकिपर जोनी बेयरस्टोलाई १६ रनमा क्याच आउट गराएका थिए । बेयरस्टोले १९ बलमा १ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि कप्तान डेभिड वार्नर र मनिष पान्डेले ७३ रनको साझेदारी गरेका थिए । तर १५ औं ओभरको चौथो बलमा तीव्र गतिका बलर जोफ्रा आर्चरले वार्नरलाई ४८ रनमा बोल्ड आउट गर्दै साझेदारी तोडे । वार्नरले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

१८ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका मनिष राहुल टेवाटियाबाट क्याच आउट हुन पुगे । जोफ्रा आर्चरले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । जयदेव उनादकटले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ३ ओभरमा २९ रन खर्चेर १ विकेट लिए ।

यो सँगै राजस्थान ७ खेलमा ३ मा जित र ४ मा हार सहित छैटौं स्थानमा उक्लिएको छ । हैदराबाद ७ खेलमा ३ मा जित र ४ मा हार सहित पाँचौ स्थानमा छ । दिल्ली शीर्ष र मुम्बई दोस्रो स्थानमा रहेका छन् । राजस्थानले अब बुधबार दिल्ली क्यापिटल्स खेल्ने छ । हैदराबादले मंगलबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ ।

प्रकाशित:
2020/10/11, 8:18