२५ वर्षपछि दाङमा भेटियो दुर्लभ ‘तक्षक नाग’

घरका भित्तामा भेटिएको सर्पलाई स्थानीयले मारे
Nag sarpa

दाङ–तक्षक नागले राजा परीक्षितलाई डसेर मारेपछि उनका छोरा जनमेजयले सर्प यज्ञ गरेर सर्प प्रजातिलाई नष्ट गर्न खोजे । सर्प प्रजातिको अस्तित्वरक्षाका लागि तक्षक नागले स्वर्गका राजा इन्द्रसँग अनुरोध गरेका कथा हिन्दु धार्मिक ग्रन्थमा पढ्न पाइन्छ । कथाहरूले नागलाई अलौकिक शक्तियुक्त र सर्पहरूको राजा बताउँछन् । हामीलाई देख्ता–सुन्दा अनौठो लाग्ने शक्ति के सर्पमा साँच्चै हुन्छ ? 

यसको उत्तर अलि जटिल छ । केही सर्प आकारका डरलाग्दा हुन्छन्, विषालु हुँदैनन् । केहीलाई हेर्दा सामान्य लाग्ने केही सर्प निकै विषालु हुन्छन् । सर्पका थुप्रै प्रजातिमध्ये तक्षक नाग नाम दिइएको सर्प पनि छ । नाम राख्ने पौराणिक कथाबाट प्रभावित भएको हुनुपर्छ । यसको डसाइबाट मान्छे त मर्दैन तर यो सर्प उड्न सक्छ ।

असोज ११ मा दाङको घोराही–२ सुर्केडाँगीमा तक्षक नाग भेटियो । दाङमा सर्प उद्धार गर्दै आएका वसन्त सुवेदीले खबर पाए । उद्धार गर्न भनी गए तर उनी पुग्दासम्म स्थानीयले त्यसलाई मारिसकेका थिए । वसन्तलाई स्थानीय आशिष सुवेदीले खबर गरेका थिए । पुग्न अलिकति ढिलाइले उनले त्यो सर्प मरिसकेको मात्रै देख्न पाए । अंग्रेजीमा ‘अर्नेट फ्लाइङ स्नेक’ भनिने ‘तक्षक नाग’ नेपालमा सर्वत्र सजिलै देख्न पाइने सर्पमा पर्दैन । सर्पको यो प्रजाति निकै कम देखिएको छ ।

सरिसृप अध्ययनकर्ताहरूका अनुसार मान्छेले देख्यो कि मारिहाल्ने प्रवृत्तिले सर्पका प्रजाति त्यसै पनि संकटमा छन् । यस्तो अवस्था उनीहरूका प्रजाति छुट्याएर पहिचान गर्न झन् असजिलो छ । उद्धारकर्मी सुवेदीका अनुसार सुर्केडाँगीका स्थानीयले त्यो प्रकारको सर्प पहिलोपटक देखेको बताएका थिए । टोक्छ/टोक्दैन भन्ने थाहा नै नपाई डराएर मारिहाले । त्यस्तो सर्प २५ वर्षअघि दाङमै भेटिएको थियो । सन् १९९५ मा प्राध्यापक एवं सर्पविज्ञ करनबहादुर शाहको ‘इनुमुरेसन अफ द एम्फिबियन एन्ड रेप्टाइल्स अफ नेपाल’ नामक अनुसन्धानपत्रमा यो सर्पबारे उल्लेख छ ।

‘तक्षक नाग भनिने सर्प पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मकै भूभागमा पाइन्छ तर निकै कम देखिन्छ,’ प्राध्यापक शाह भन्छन्, ‘यो सर्प ५ सय मिटर उचाइ माथिदेखि नेपालका भित्री मधेसमा समेत पाइन्छ ।


यो सर्प नेपालबाहेक भारत, चीन, श्रीलंका म्यानमार इन्डोनेसिया तथा फिलिपिन्ससम्म पाइएका रेकर्ड भेटिएका छन् ।’ यो सर्पको पोथीभन्दा भाले केही सानो हुन्छ । भालेको लम्बाइ १.०४ हुन्छ भने पोथीको १.१ मिटरसम्म हुने प्राध्यापक शाह र सगेन्द्र तिवारीद्वारा लिखित ‘हर्पिटो फाउना अफ नेपाल’ पुस्तकमा उल्लेख छ । प्राध्यापक शाहका अनुसार यो नेपालमा पाइने एक मात्रै उड्ने सर्प हो । हेर्दा गहना जस्तो राम्रो देखिने, बुट्टेदार यो सर्पलाई ‘अर्नामेन्ट’बाट ‘अर्नेट’ राखिएको उनले बताए । यो सर्प हेर्दा सुन्दर देखिने र गहनाभन्दा पनि राम्रो भएकाले यसको नाम अर्नेट राखिएको विज्ञहरू बताउँछन् ।

बंगाराका पछाडि भागतिर विषथैली हुने यो सर्प मानिसका लागि विषालु होइन । चरा मार्न भने यसको विष काफी हुने उनले सुनाए । प्रायः चराका बच्चा र अन्डा खाएर बाँच्ने यो सर्पले माउसुली तथा रुखमा भेटिने स–साना जीव पनि खान्छ । यसले भ्यागुता कमै मात्र खाने गर्छ ।

यो सर्प एउटा रुखबाट अर्कोमा २७/२८ फिटसम्म उड्ने (ग्लाइड गर्ने) शाहले बताए । नेपालमा पाइने सर्पमध्ये उड्न सक्ने एक मात्र, अरूभन्दा सुन्दर देखिने, कम विषालु, कमै देखिनेलगायत अन्य विविध महत्त्व बोकेकाले हुलाक सेवा विभागले यसको चित्र अंकित टिकट पनि प्रकाशित गरेको छ । यसलाई केही समुदायले पूजासमेत गर्ने भएकाले यसको नाम तक्षक नाग राखिएको हुन सक्ने प्राध्यापक शाहले बताए । यो सर्प उड्ने बेलामा घाँटी चेप्टो बनाउने गर्छ ।


हलुका हरियो, पहेँलो, कालो र रातोलगायत रङका टाटा हुने यो सर्पले अन्डा पार्छ । प्रायः दिउँसो सक्रिय हुने यो सर्प घना वन तथा ठूला रुखमा बस्न रुचाउने अध्ययनले देखाएको छ ।

दाङमा मानिसले घरका भित्तामा भेटेपछि यसलाई मारेका थिए । प्राध्यापक शाहले यो अमूल्य सर्पलाई मार्नु गलत भएको बताए । उनले भने, ‘यो सर्प उसै पनि राम्रो देखिन्छ । त्यत्रो विषालु पनि होइन । अमूल्य छ ।’कान्तिपुरबाट

प्रकाशित:
2020/10/15, 11:13
SPA
KN
Priya Gahana Pasal