एजेन्सी–न्युजिल्यान्डमा शनिबार भएको संसदीय चुनावमा प्रधानमन्त्री जसिन्डा आर्डर्नले ऐतिहासिक जित हासिल गरेकी छन् । प्रारम्भिक नतिजाअनुसार आर्डर्नको मध्य वामपन्थी लेबर पार्टीले ४९ प्रतिशत, नेसनलले २८ प्रतिशत मत पाएका छन् भने अन्य मत ग्रिन, न्युजिल्यान्ड फस्टलगायत साना दलले बाँडेका छन् ।
करिब ९८ प्रतिशत मतगणना भइसकेको भए पनि केही मतदान हुलाकमार्फत गरिएकाले वास्तविक परिणाम आउन केही दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ ।
यसअघि सेप्टेम्बर १९ का लागि तोकिएको मतदान कोभिड–१९ को संक्रमणका कारण चार सातापछि सारिएको हो । न्युजिल्यान्डमा १ सय २० सदस्यीय संसद्का लागि हरेक तीन वर्षमा निर्वाचन हुने गर्छ ।
बहुमतको सरकार निर्माणका लागि तल्लो सदनमा कम्तीमा ६१ सिटको आवश्यकता पर्दछ । पछिल्लो परिणामअनुसार लेबर पार्टीले कम्तीमा ६४ सिट जित्ने निश्चित भइसकेको जनाइएको छ । न्युजिल्यान्डमा २४ वर्षयता कुनै पनि एक दलले बहुमत ल्याउन सकेको छैन ।
चुनावी परिणामअनुसार आर्डर्न पुनः प्रधानमन्त्री बन्ने भएकी छन् । उनी सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
नतिजासँगै न्युजिल्यान्डमा दशकौंपछि पहिलो पटक बहुमतको सरकार बन्ने भएको छ । ऐतिहासिक जितपछि समर्थकहरूलाई सम्बोधन गर्दै आर्डर्नले आफू देशका लागि अझै खट्ने बताएकी छन् । आफूले पाएको जनादेश अत्यन्तै विश्वासिलो भएको उनको भनाइ छ ।
‘आज न्युजिल्यान्डले ५० वर्षको लेबर पार्टीको इतिहासमा अहिलेसम्मकै उच्च समर्थन र विश्वास देखाएका छन्,’ उनले भनिन् । सयौं समर्थक तथा शुभचिन्तकसमक्ष बोल्दै उनले न्युजिल्यान्डवासीले दिएको विश्वासलाई पुनः व्यवहारमा परिणत गर्ने विश्वास दिलाइन् ।
निर्वाचनपछि जारी मतगणनाकै क्रममा विपक्षी दल नेसनलकी नेतृ जुडिथ कोलिन्सले हार स्वीकार गर्दै वर्तमान प्रधानमन्त्री तथा लेबर नेतृ आर्डर्नलाई बधाई दिएकी छन् । उनले आगामी चुनावमा जनमत आफ्नो पक्षमा पार्नका लागि आफू अहिल्यैदेखि क्रियाशील हुने बताइन् । ‘तीन वर्ष आँखा झिम्क्याउँदै बित्छ । हामी फेरि उठ्नेछौं,’ कोलिन्सले भनिन् ।
हरेक तीन वर्षमा हुने संसदीय निर्वाचनमा यस पटक १७ वटा राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए । जसमा आर्डर्नको पार्टी लेबर सबैभन्दा सशक्त देखिएको हो ।
कोभिड–१९ को संक्रमणलाई सहज रूपमा समाधान गर्न र क्राइस्टचर्चमा भएको आतंकवादी आक्रमणको घटनालाई समाधान गर्न उनले खेलेको भूमिकाका कारण उनी पुनः निर्वाचित हुने अनुमान गरिएको थियो । पूर्वानुमानलाई सत्य सावित गर्दै आर्डर्नले पुनः नेतृत्व पाउन सफल भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट न्युजिल्यान्डमा संक्रमित हुनेको संख्या २ हजारभन्दा पनि कम छ । भाइरसका कारण २५ जनाले मात्र ज्यान गुमाएका छन् ।
चुनावमा मृत्युवरणको अधिकार र गाँजा प्रयोगलाई मान्यता दिने विषयमा जनमतसंग्रहसमेत गरिएको छ । दुवै विषयमा गरिएको जनमतसंग्रहको नतिजा भने अक्टोबर ३० मा सार्वजनिक गरिने जनाइएको छ । ५० प्रतिशत जनताले अनुमोदन गरे पनि गाँजा प्रयोगका विषयमा भने सरकारले छुट्ट कानुन ल्याउने छ ।
करिब ४० लाख मतदाता रहेको न्युजिल्यान्डको आमनिर्वाचनमा करिब १० लाखले प्रारम्भिक मतदानमा मत जाहेर गरिसकेका थिए । प्रधानमन्त्री आर्डर्नलाई उनले पाएको सफलतामा अस्ट्रेलियाका लेबर पार्टीका नेता एन्थोनी अल्बानिज, उपनेता तान्या पिल्बरसेक लगायतले समेत बधाई दिएका छन् ।