मृत भेटिएका असइलाई तस्करले एक किलोमिटर नेपाल तर्फ मार्‍यो र घिसार्दै लगेर नदीमा फाल्यो

सुनियोजित हत्या भएको प्रहरीको आशङ्का
Dead Body

धनगढी – कैलालीको धनगढीमा गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । शनिवार रातीबाट बेपत्ता भएका धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको आइतबार बिहान नेपाल भरत सीमास्थित मोहना नदीमा शव फेला परेको थियो । 
घटनास्थलमा पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीसहितको टोलीले मृतक विकको शव पानीबाट निकालेको छ । ‘उनको घाँटीमा धारिलो हतियार प्रहार गरेको चोट देखिएको छ ।’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘उनलाई हत्या गरेर त्यहाँ फ्याँकिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाउँदछ ।’ 
उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउदको अवस्था भने अझै अज्ञात रहेको सिंहले जानकारी दिए । 
असईको शव फेला परेको धनगढी १० को बनकट्टी घाटमा करिब एक किलोमिटर नेपाल तिरबाट हत्या गरी घिसारेर लगेर शव नदीमा फालेको हो । 
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा केही व्यक्तिलाई पक्राउ समेत गरेको छ । उनको सुनियोजित तरिकाले हत्या गरिएको प्रहरीको आशङ्का छ । 
अस्थायी प्रहरी विट जुगेडाका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) बिक र प्रहरी जवान साउद नियमित गस्तीमा गएका बेला शनिवार रातीदेखि बेपत्ता भएका थिए । राती करिब ८ बजेतिर नियमित गस्तीमा गएका उनीहरू १२ बजेतिर फर्किनुपर्नेमा नफर्किए पछि प्रहरीले खोजी सुरु गरेको थियो । 
विकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल समेत प्रहरीले फेला पारको छ । शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ उनको मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ ।  विकसँग रहेको हतियार भने फेला नपरेको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा बेपत्ता रहेका जवान साउदको खोजीका लागि सशस्त्र प्रहरीको अत्तरियास्थित ७ नम्बर बाहिनीको गोताखोर टोली घटनास्थलमा पुगेको छ । 
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित:
2020/10/18, 1:50