एजेन्सी – क्रिस गेल र मन्दीप सिंहको अर्धशतकसँगै किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।
कोलकाताले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । पन्जाबको जितमा ओपनर मन्दीप सिंहले अविजित ६६ रन जोडे । उनले ५६ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गरे ।
मन्दीप र क्रिस गेलले दोस्रो विकेटका लागि १ सय रनको साझेदारी गरेपछि पन्जाब सहज जित हासिल गर्न सफल भएको हो । गेलले आक्रामक अर्धशतक प्रहार गर्ने क्रममा २९ बलमा ५१ रन जोडे । उनले २ चौका र ५ छक्का प्रहार गरेका थिए ।
त्यसअघि कप्तान केएल राहुल २८ रन जोड्दै पेभेलियन फर्किएका थिए । वरुण चक्रवर्तीको बलमा एलबीडब्लु आउट हुनुअघि उनले २५ बलमा ४ चौका प्रहार गरे । उनी आउट हुँदा टोली ४७-१ को स्थितिमा थियो । गेल १९ औं ओभरको पहिलो बलमा लोकी फर्गुसनको बलमा क्याच आउट भएपनि निकोलस पुरन २ रनमा नटआउट रहँदै जितसम्म डोर्याए ।
त्यसअघि शारजाह क्रिकेट रंगशालामा पहिलो ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन जोड्यो । खराब सुरुवात गरेको कोलकातालाई मध्यक्रमका ब्याट्सम्यानले सम्हालेका थिए । ओपनर नितिश राना इनिङको दोस्रो बलमा नै गोल्डेन डक आउट भएका थिए । दोस्रो ओभरमा मोहमद शामीले राहुल त्रिपाठी र दिनेश कार्तिकलाई शून्यमा कट बिहाइन्ड गराएपछि कोलकाता १०-३ को दयनीय अवस्थामा पुगेको थियो ।
कप्तान ओइन मोर्गन र शुभमनले चौथो विकेटका लागि ८१ रनको साझेदारी गर्दै इनिङ सम्हाले । मोर्गन २५ बलमा ५ चौका र २ छक्कासहित ४० रनको योगदान दिए । उनी दशौं ओभरमा रवी विश्नोईको बलमा क्याच आउट हुन पुगे ।
लगत्तै अर्को ओभरमा सुनिल नारायण ४ बलमा ६ रन जोड्दै क्रिस जोर्डनको बलमा बोल्ड भए । १५ औं ओभरमा कमलेश नगरकोटी १३ बलमा ६ रन जोड्दै मुरुगन आश्विनको बलमा बोल्ड हुन पुगे । अर्को ओभरमा कमिन्स ८ बलको सामना गर्दै मात्र १ रन जोड्दै विश्नोईको एलबीडब्लु धरापमा परे ।
शुभमन ४५ बलमा ३ चौका र ४ छक्कासहित ५७ रन जोड्दै १९ औं ओभरमा पेभेलियन फर्किए । उनी शामीको बलमा ठूलो सट खेल्ने धुनमा पुरनको हातबाट समातिए । अन्त्यतिर लोकी फर्गुसनले आक्रामक ब्याटिङ गर्दा कोलकाता मध्यम योगफलसम्म पुगेको थियो । फर्गुसनले १३ बलमा ३ चौका र १ छक्काको मदतले अविजित २४ रन जोडे । वरुण चक्रवर्ती अन्तिम ओभरमा २ रन जोड्दै जोर्डनको बलमा बोल्ड भएका थिए ।
पन्जाबका लागि मोहमद शामीले ३ विकेट लिँदा क्रिस जोर्डन र रवि विश्नोईले २-२ विकेट हात पारे । ग्लेन म्याक्स्वेल र मुरुगन आश्विनले १-१ विकेट हात पारे ।
यस जितसँगै पन्जाब कोलकातालाई नै उछिन्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । पन्जाब र कोलकाता दुवैको १२ खेलमा १२ अंक भएपनि नेट रनरेटमा पन्जाब अघि बढेको हो । मुम्बई, दिल्ली र बेंगलोर ११ खेलमा समान १४ अंकसहित क्रमश: शीर्ष तीन स्थानमा रहेका छन् । राजस्थानको १० अंक तथा हैदरावाद र चेन्नईको ८-८ अंक रहेको छ ।