धनगढीमा कोरोना बाट मृत्यु भएकी महिलाको शब बस्ती नजिकै गाडिएको भन्दै स्थानीयको विरोध

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–कोरोना सङ्क्रमणबाट मृत्यु भएकी एक महिलालाई धनगढी उपमहानगरपालिका वडा नम्बर–१ रहेको कब्रिस्तानमा गाडिए पछि स्थानीय विरोधमा उत्रिएका छन् ।  मानववस्ती सँगै रहेको कब्रिस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै स्थानीयले विरोधमा उत्रिएका हुन । स्थानीयको विरोध पछि त्यहाँ प्रहरी परिचालन गरिएको छ । बिरोधका बाबजुत उनको शब त्यही ब्यवस्थापन गरीएको छ । 

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित महिलाको मृत्यु भएपछि स्थानीय प्रशासन र सेनाको टोलीले आफन्तलाई शव बुझाएको थियो । शव बुझाएपछि स्थानीय प्रशासन र मृतकका परिवारजनले कब्रिस्तानमा शव गाडेका हुन् । यस अघि सम्म कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन नेपाली सेनाले मानववस्ती भन्दा अलग्गै रहेको स्थानमा गर्दै आएको थियो ।

धनगढी उप–महानगरपालिका वडा नम्बर २ कि ५७ बर्सिया महिलाको बिहीबार बिहान मृत्यु भएको थियो ।  कडा खालको निमोनिया देखिएपछि असोज १० गते भर्ना भएकी महिलाको बिहान साढे ५ बजे मृत्यु भएको हो । 

प्रकाशित:
2020/10/29, 2:06