भारतीय नागरिकलाई नेपाली नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

नक्कली दाइभाउजू र नागरिकता लिने समेत पक्राउ 
Ganesh Joshi.
सुदूर प्रेस संवाददाता

धनगढी – कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने एक वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष गणेशप्रसाद जोशी भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा पक्राउ परेका हुन् । 

उनले २०७५ साल फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा बनाएर सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । 

उनका अनुसार चौधरीले नक्कली बुवा बनाएर भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस गरेको भेटिएको छ । 

अन्सारी टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन् । भारतीयलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा वडाध्यक्ष सहित अन्य चार जना समेत पक्राउ परेका छन् । प्रहरीका अनुसार अध्यक्ष जोशी, नक्कली नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी, दाइभाउजू बनेर नागरिकता दिलाउन सहयोग गर्ने वडा नम्बर १२ कै खुसीराम चौधरी र गीता चौधरीलाई पक्राउ गरिएको हो ।

बुवा बनेर नागरिकता दिलाउन सहयोग गर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ हिम्मतपुर शिविरका पुनिराम चौधरी भने फरार रहेको विष्टले जानकारी दिए ।

पक्राउ परेका चार जनामाथि नागरिकता ऐन अनुसार कारबाही हुनेछ । जोशी नेपाली काँग्रेसबाट विजयी भएका हुन् । उनलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

 

प्रकाशित:
2020/10/30, 11:16