टीकापुरका मेयर तपेन्द्र रावललाई कोरोना पुष्टि

Corona Update

धनगढी–कैलालीको टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावललाई कोरोना पुष्टि भएको छ ।धनगढीस्थित सेती प्रादेशिक अस्पतालको ल्याबमा गरिएको परीक्षणमा रावललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

नगर प्रमुख रावललाई सामान्य रुघाखोकी र केही दिन अघि ज्वरो आएको थियो । नगर प्रमुख रावलले आफ्नो फेसबुकमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् ।

रावलले लेखेका छन् ‘सावधानी अपनाउँदा अपनाउँदै पनि मलाई कोरोना पुष्टि भएको छ । हाल म घरमै आइसोलेसनमा बसिरहेको छु । यो अवधिमा मेरो सम्पर्कमा रहनु भएका सम्पूर्ण महानुभावहरुलाई सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।’

त्यस्तै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावललाई समेत कोरोना पुष्टि भएको छ ।

कोरोना रोकथामका लागि फ्रन्ट लाइनमा खटिँदै आएका रावललाई कोरोना पुष्टि भएको हो । उनले समेत फेसबुकमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका छन् । यसअघि नगर पालिकाका ६ जना कर्मचारीमा समेत कोरोना पुष्टि भएको थियो ।

प्रकाशित:
2020/11/02, 1:22