नेपाल प्रहरीमा जागीरको अवसर,माग्यो ३६० जना सहयोगी

police
सुदूर प्रेस संवाददाता

धनगढी–नेपाल प्रहरीले ‘प्रहरी कार्यालय सहयोगी’मा जागिर खुलाएको छ। विभिन्न पदमा गरी तीन सय ६० जनाका लागि शुक्रबार प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचना निकालेर दरखास्त आह्वान गरेको हो।

खुला र समावेशी गरी माली/बगैंचे, भान्छे, हजाम, सिलाइ/बुनाइ, कुचिकार र खेलाडीमा दरखास्त आह्वान भएको हो।

९ जना माली/बगैंचे, २ सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाइ/बुनाइतर्फ, ५० जना कुचिकार र १५ जना खेलाडीका लागि जागिर खुलेको हो।


खेलाडि सहयोगीतर्फ १५ जनामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, बक्सिङ, भारोत्तलन विधातर्फका महिला/पुरूष खेलाडीले मात्रै दरखास्त दिन पाउँछन्।

मंसिर २ गतेदेखि पुस ६ गतेभित्र दरखास्त फारम दर्ता गर्ने समय छ। खेलाडीतर्फ दरखास्त दिनेले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मात्रै दरखास्त बुझाउन पाउँछन् भने अरूका लागि ७७ जिल्ला प्रहरी कार्यालयबाटै दरखास्त दिन सकिन्छ।

दरखास्तका लागि एक सय रूपैयाँ राजश्व बुझाउनुपर्नेछ। साधारण लेखपढ गर्न सक्नेले दरखास्त दिन पाउँछन्। १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकाले दरखास्त दिन सक्ने प्रहरीले जानकारी दिएको छ।

प्रकाशित:
2020/11/06, 7:40