ललित भण्डारी भन्छन्,‘सायद क्रिकेटकै लागि बाँचे’

चार दिन भेन्टिलेटरसहित तीन साता अस्पतालमा बिताएका  ललित अहिले निको हुने क्रममा छन्
lalit
फाइल तस्बिर

धनगढी–ललित भण्डारी, नेपाली राष्ट्रिय टिमले पछिल्लो समय पाएका एक उत्कृष्ट बलर हुन्  । नेपालको जर्सीमा आफूलाई अब्बल सावित गरिरहँदा चोटग्रस्त ललित पुनरागमनको  नजिक थिए । तर उनीमाथि अर्को बज्रपात आइलाग्यो, सडक दुर्घटना । उनी अहिले भन्छन्- सायद क्रिकेटकै लागि बाँचेजस्तो लाग्छ ।  

ललित भदौ २८ गते महेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा परेका हुन् । उनले चलाएको मोटरसाइकललाई ट्रकले ठक्कर दियो । उनी गम्भीर घाइते भए । तत्काल धनगढीको एक अस्पतालमा पुर्याइए पनि चिकित्सकले बचाउन सकिंदैन भने । क्रिकेटर भएका कारण सबैको सहयोग पाए । उनलाई नेपालगन्ज हुँदै काठमाडौं लगेर दायाँ हात र खुट्टाको शल्यक्रिया गरियो । चार दिन भेन्टिलेटरसहित तीन साता अस्पतालमा बिताएका  ललित अहिले निको हुने क्रममा छन् । 

चिकित्सकका अनुसार ललितलाई लागेको चोट निकै गम्भीर हो जसमा बाँच्ने सम्भावना एकदमै न्यून हुन्छ । तर चामत्कारिक रुपमा उनले नयाँ जीवन पाए । यसमा खुशी नहुने कुरै भएन । उनी दुर्घटनामा बायाँ हात जोगिएकामा अझ बढी खुशी छन् । किनभने त्यहि हातको जादुले उनी क्रिकेटरका रुपमा चिनिएका हुन् । चिकित्सकले एक वर्षमा खेल्न सक्ने आश्वासन दिएकाले उनी मैदानमा र्फकने दिनको प्रतिक्षामा छन् । 

घरेलु फ्रेन्चाइजी लिगमा २८ वर्षीय ललितलाई आफ्नो टिममा लिन प्रतिस्पर्धीबीच  हानाथाप जस्तै हुन्छ । धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग  र एभरेस्ट प्रिमियर लिगमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनलाई राष्ट्रिय टिममा महबुब आलम पछिको उत्कृष्ट बायाँ हाते तीव्र गतिका बलरको रुपमा हेर्ने गरिन्छ । नेपालले दुई वर्षअघि नेदरल्यान्डसविरुद्ध ऐतिहासिक पहिलो एकदिवशीय खेल जित्दा ललितले महत्वपूर्ण दुई विकेट लिएका थिए । खुट्टामा चोटका कारण उनी एक वर्षयता भने मैदान बाहिर थिए । 

ललितले भयानक दुर्घटनाबाट बाँच्नुलाई  क्रिकेटको दोस्रो इनिङका रुपमा लिएका छन् । पूर्णरुपमा निको भइ उनले राष्ट्रिय टिममा पुनरागमन गर्न सक्छन् सक्दैनन् त्यो भविष्यमा देखिनेछ ।

प्रकाशित:
2020/11/07, 11:09