सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री शाहको स्वास्थ्यस्थिति सुधारोन्मुख

mantri
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–काठमाडौँमा उपचाररत सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहको स्वास्थ्यस्थिति सुधारोन्मुख अवस्थामा रहेको  उनको सचिवालयले जानकारी दिएको छ ।  कोरोना सङ्क्रमित मन्त्री शाहको नाकबाट अत्यधिक रक्तस्राव हुन थालेपछि थप उपचारका लागि  शुक्रवार हेलिकोप्टर चार्टर गरेर धनगढीबाट काठमाडौँ लगिएको थियो । काठमाडौँको त्रि वि शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ । त्यहाँ उपचार पछि रक्तस्राव रोकिएको र ज्वरो समेत कम भई स्वास्थ्यमा सुधार हुँदै गएको मन्त्री शाहका स्वकीय सचिव जङ्ग विकले जानकारी दिए । 

कार्तिक १५ गते कोरोना पुष्टि भएका मन्त्री शाह होम आइसोलेसनमै बसेका थिए ।  शाहको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । अस्थायी अस्पतालमा उपचारपछि साँझ डिस्चार्ज भएका शाह धनगढीस्थित सरकारी निवासमै आइसोलेसनमा बसेका थिए तर मन्त्रीको स्वास्थ्यमा सुधार नभएपछि काठमाडौँ लगिएको हो ।  

प्रकाशित:
2020/11/07, 12:21