घाँस काट्न गएकी बैतडीकी मायाको ज्यान लिने चितुवालाई स्थानीयले घेरा हालेर मारे

chituwa
सुदूर प्रेस संवाददाता

सोमबार बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी १८ वर्षीया माया महतालाई आक्रमण गरी ज्यान लिने चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेका छन्। छिमेकी डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाडमा घासँ काट्न गएका बेला चितुवाले सोमबार दिउँसो आक्रमण गरेर मायाको मृत्यु भएको थियो। 

चितुवाले मायाको लासलाई नछोडेपछि गाउँबाट गएका स्थानीयहरुले साँझ ५ बजेतिर ढुंगामुढा र घरेलु हतियार प्रहार गरेर चितुवा मारेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कणसिंह साउँदले जानकारी दिए। 

चितुवा मार्ने क्रममा तीन चार जना समान्य घाइते भएका जानकारी आएको समेत उनले बताए। मायाको शवलाई चितुवाले नछोडेपछि घाँस काट्न गएका महिलाहरुले स्थानीयहरुलाई बोलाएका थिए।

घटनास्थलमा प्रहरी पुग्नुभन्दा अघि नै स्थानीयले चितुवालाई मारेका हुन्। सोही ठाउँमा आइतबार मात्रै डडेल्धुराको भागेश्वरका १२ वर्षीय बालकको समेत चितुवाले ज्यान लिएको थियो  २०६८ सालयता तल्लोसोराडमा चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गइसकेको छ।

प्रकाशित:
2020/11/09, 8:32