जनप्रतिनिधिकै संलग्नतामा कैलालीको खुटिया नदीबाट ढुङ्गा,गिट्टी र बालुवाको अवैध उत्खनन ,विरोध गर्नेलाई ज्यान मार्ने धम्की

khutiya
सुदूर प्रेस संवाददाता

धनगढी–स्थानीय तहका जनप्रतिनिधिकै संलग्नतामा कैलालीको गोदावरी नगरपालिकामा पर्ने खुटिया नदीबाट  ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन काम बढेको छ । गएको असोजमा  वैधानिकरुपमा खुला गरिनुपर्ने ढुङ्गा-गिट्टी तथा बालुवा उत्खननको काम अहिलेसम्म खोलिएको छैन । तर अवैध तरिकाबाट उत्खनन हुने कार्य भने दिनदहाडै खुलेआम चलिरहेको छ । स्थानीय तहलाई अवैध बाटो रोकिदिन आग्रह गरेका स्थानीयलाई उल्टै ज्यान मार्नेसम्मको धम्की आउने गरेको उनीहरूको गुनासो छ ।
 
कैलालीको गोदावरी नगरपालिकामा पर्ने खुटिया नदीबाट जिल्लामा बर्सेनि २५ प्रतिशतसम्म ढुङ्गा, गिट्टी र बालुवाको आपूर्ति हुने गरेको छ, र त्यसको जिम्मा अहिले स्थानीय तहमै छ । तर स्थानीय तहले त्यहाँ मनोमानी ढङ्गबाट ढुङ्गा, गिट्टी र बालुवा निकालेका छन् । गएको असोजमा राती-राती मात्रै उत्खनन हुने खुटिया नदीमा आजभोलि भने दिनदहाडै अवैध उत्खनन  हुन्छ । यस विषयमा स्थानीय तहका जनप्रतिनिधि आँखा चिम्लेर बसेका छन् । अवैध उत्खनन गरेको ढुङ्गा, गिट्टी र बालुवा नजिकैको शिव पार्वती सामुदायिक बनलाई दिउासोको सङ्कलन केन्द्र बनाएका छन् । त्यहाँबाट राती-राती गन्तव्यसम्म पुर्‍याउने काम हुन्छ । अवैध उत्खननमा बनका पदाधिकारी पनि  संलग्न रहेकाले यसलाई रोकिदिन आग्रह गरेका स्थानीयलाई उल्टै ज्यान मार्नेसम्मको धम्की आउने गरेको छ । 

स्थानीय तहले वर्षायाममा कारण  ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन् बन्द गरिएका खोलानालामा अहिले उत्खनन काम खुला गरेको घोषणा गरेका छैनन् । तर उनीहरूकै संरक्षण पाइरहेका व्यवसायीले दुई महिनादेखि अवैध उत्खनन र प्राकृतिक श्रोतको बढी नै दोहन गरिरहेका  छन्  । खुटियामा दुई महिनायता चोर बाटोबाट चलिरहेको दोहन रोक्न हारगुहार गर्दा पनि कसैले नसुनेपछि अहिले दोहन बढेको स्थानीयको गुनासो छ ।

गोदावरी नगरपालिकामा सात करोडमा आहृवान गरिएको टेण्डर नै विवादमा परेको छ । त्यसैले यस नगरपालिकाले टेन्डरबिनै आफूखुसी नदीको दोहन गर्न स्वीकृति दिएको छ । यसरी स्थानीय तहको मनोमानीले एकातिर नदीहरूको अवैध दोहनले प्राकृतिक विपत्ति निम्त्याउने खतरा बढेको छ भने अर्कातिर लाखौंको राजश्व समेत गुमिरहेको छ ।

प्रकाशित:
2020/11/10, 8:00