कैलाली कञ्चनपुरका बाढी प्रभावित क्षेत्रमा उखु खेती विस्तार र प्रवर्द्धन गर्न विशेष कार्यक्रम लागु

ukhu
सुदूर प्रेस संवाददाता

धनगढी–कैलाली र कञ्चनपुर जिल्लाका बाढी प्रभावित क्षेत्रमा उखु खेती विस्तार र प्रवर्द्धन गर्न सरोकारवाला निकाय बिच सम्झौता भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेश,मर्सिकोर नेपाल तथा  नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलाली र कञ्चनपुर, कृषि ज्ञान केन्द्र कैलाली र कञ्चनपुर र उखु किसान हकहित संरक्षण समिति बिच  यस्तो सम्झौता भएको हो । 

सम्झौता पत्रको पहिलो बुँदामा दुवै जिल्लाका बाढी प्रभावित करिब २५० बिघा बगरमा क्षेत्रमा उखु खेतीको माध्यमबाट नदीले गर्ने कटानी, पटानी र डुबानको समस्यालाई न्यूनीकरण गर्ने भनिएको छ । त्यस्तै आधुनिक प्रविधि रेजर, ट्रेन्चर आदीको प्रयोग गर्दै बगर क्षेत्रमा उखु खेतीको बिस्तार गर्ने, बाढी प्रभावित समुदायका किसान हरूलाई उखु खेतीका लागि आवश्यक बिउ बिजन, मल खाद, विषादी र प्राविधिक सेवा उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख गरिएको छ । 

न्यून आय स्तर भएका बाढी प्रभावित समुदायका किसान हरूलाई उखु तथा बगर खेतीका माध्यमले आय आर्जनको अवसर सृजना गरी जीविकोपार्जन सुधार तर्फ आकर्षित गर्ने पनि मुख्य उद्देश्य छ । 

सम्झौतामा कैलाली र कञ्चनपुर जिल्लाका नदी तटीय क्षेत्रमा पर्ने २५० बिघा बगर जमिनमा उखु खेती क्षेत्र विस्तार गर्ने उल्लेख छ  । उखु खेती क्षेत्र बिस्तार गर्न कैलाली र कञ्चनपुर जिल्लाका भागेश्वर र महाकाली चिनी मिल नजिक बाढीको उच्च जोखिममा रहेका पालीकाका बस्ती हरूलाई प्राथमिकता दिइने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका कार्यक्रम संयोजक कालीदास जोशीले जानकारी दिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरीको उपस्थितिमा भएको कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तर्फबाट सचिव डा. किसन लाल भट्ट, मर्सिकोर नेपालका तर्फबाट एमरेड परियोजनाका कार्यक्रम प्रबन्धक  डम्बर बोहरा र नेपाल रेडक्रस सोसाइटीका तर्फ बाट जिल्ला शाखा कैलालीका सभापति उत्तम जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताको अवधि हाललाई १७ महिनाको हुनेछ । 

 

प्रकाशित:
2020/11/11, 9:26