कञ्चनपुरमा उत्पादनमूलक उद्योगका लागि भारतबाट कामदार ल्याउन अनुमति

cdo
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–उत्पादनमूलक उद्योगका लागि विदेशी श्रमिक ल्याउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुमति दिने भएको छ। कोरोना भाइरस (कोभिड-१९) का कारण स्वदेशी तथा विदेशी लगानीमा स्थापित उत्पादनमूलक उद्योगमा निम्तिएको श्रमिक अभाव पूर्ति गर्न र उपभोग्य बस्तु उत्पादन र आपूर्ति सहज बनाउन भारत र चीन लगायत अन्य मुलुकबाट सुरक्षित रूपमा विदेशी श्रमिक ल्याउन अनुमति दिन जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो। श्रमिक ल्याउने उद्योगले नियम अनुसारको ढाँचामा निवेदन दिएमा अनुमति प्रदान गरिने भएको छ।

उत्पादनमूलक उद्योगका लागि विदेशी श्रमिक ल्याउने सम्बन्धी कार्यविधि, २०७७ को अनुसूचि १ बमोजिम तोकिएको ढाँचामा निवेदन दिएमा श्रमिक ल्याउन पाउने प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ। 

श्रमिक ल्याउने उद्योगले निवदेन साथ  उद्योग दर्ताको प्रतिलिपि, स्वदेशी/विदेशी लगानी खुल्ने कागजात, प्रचलित कानून बमोजिम कर चुक्ता गरेको प्रमाण पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।

साथै, विदेशबाट श्रमिक ल्याउनुपर्ने औचित्य सहित श्रमिक ल्याउने मुलुक, नेपाल प्रवेश गर्ने बिन्दु र उक्त श्रमिक बस्ने स्थान सहितको विवरण, श्रमिक ल्याउने मुलुक अनुसार श्रमिकको नाम र परिचय खुल्ने कागजात समेत पेश गर्नुपर्नेछ। 

प्रकाशित:
2020/11/12, 11:22