क्याप्टेन वेद उप्रेती ट्रस्टले कञ्चनपुरमा निर्माण गरेको स्टेच्यू अफ सिद्ध नाथ बाबा र म्युजियम परिसर खुला 

म्युजियम भित्र रहेको अप्स एन्ड डाउन म्युजियम सेक्सन नेपालकै पहिलो
capten bed
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरको भीमदत्त नगरमा क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा निर्माण गरिएको स्टेच्यू अफ सिद्धनाथ बाबा र म्युजियम परिसर आजबाट खुला गरिएको छ ।  क्याप्टेन वेद उप्रेती ट्रस्टका अध्यक्ष तथा सञ्चालक क्याप्टेन वेद उप्रेतीले आज एक विज्ञप्ति प्रकाशित गरी स्टेच्यू अफ सिद्ध नाथ बाबा र म्युजियम परिसर सबै नागरिकका लागी खुला गरिएको बताएका छन् ।  

विगत सात वर्षदेखि निर्माणाधीन यो म्युजियम २०७७ वैशाख महिनादेखि सञ्चालनमा ल्याउने लक्ष्य भए पनि लकडाउनका कारण निर्माण कार्य ठप्प हुँदा समयमै सञ्चालनमा ल्याउन नसकिएको उप्रेतीले बताए ।  फोटो खिच्ने, टिक टक बनाउने युवायुवतीहरूले निकै दबाब दिएपछि निर्माणाधीन म्युजियम बाहेक स्टेच्यू अफ सिद्ध नाथ बाबा  र म्युजियम परिसर खुला गरिएको उनको भनाइ छ । 

Image may contain: outdoor

यसअघि क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा धनगढीमा एअर क्राफ्ट म्युजियम र काठमाण्डौंमा एभिएसन म्युजियम सञ्चालनमा छ । 

ट्रस्टले तेस्रो प्रोजेक्टका रूपमा काठमाण्डौं र धनगढीको म्युजियम भन्दा यो म्युजियम पृथक् खालको रहेको उनको भनाइ छ । यस म्युजियम भित्र रहेको अप्स एन्ड डाउन म्युजियम सेक्सन नेपालकै पहिलो म्युजियम हुनेछ ।

म्युजियम परिसर बाहिर स्टेच्यू अफ सिद्ध नाथ बाबा, स्विमिङ पुल, नौ धारा, हेलिकोप्टर र सुदूर पश्चिमका पर्यटकीय स्थलहरूका हवाई चित्रहरू रहेका छन् ।

म्युजियम भित्र अप्स एन्ड डाउन, थ्रिडी र ईलुजन सेक्सनहरू छन् । खास गरी युवायुतीहरुलाई लक्षित गरेर बनाइएको म्युजियम धार्मिक दृष्टिकोणले पनि मुख्य भूमिका खेल्नेछ । सिद्ध नाथ बाबाको जटाबाट निस्किने पानीको फोहोरा र विभिन्न देवीदेवताका सालिकहरूले सबैलाई आकर्षित गर्नेछन् ।

यस म्युजियमले विद्यार्थीहरूलाई प्रेरणा, सिद्ध नाथ बाबाको दर्शन पश्चात् पाइने सन्तुष्टि, युवाहरूलाई थ्री डी र अप्स एन्ड डाउनको आकर्षण र गर्मीमा याममा नौ धारा सहितको स्विमिङ पुल र हेलिकोप्टर भित्र बसी जो कोहीले खिच्न पाउने फोटो ग्राफको अवसरले यो म्युजियम सुदूर पश्चिमको मुख्य पर्यटकीय स्थल बन्ने छ ।

यस म्युजियमका लागि माता सरस्वती उप्रेती र क्याप्टेन वेद उप्रेतीले वेद उप्रेती ट्रस्टका लागि जग्गा दान दिएका छन् । जग्गाको मूल्य करिब तीन करोड रुपैयाँ र म्युजियमको निर्माणमा चार करोड रुपैयाँ समेत गरी करिब सात करोड रुपैयाँको लागतमा यो म्युजियम निर्माण भएको हो । म्युजियम निर्माण गर्न क्याप्टेन वेद उप्रेतीले विदेशमा प्रशिक्षक पाइलटको जागिर वाट आर्जन गरेको चार करोड रुपैयाँ लगानी गरेका छन् । अमूल्य जग्गा दान र म्युजियम बनाउन हौसला प्रदान गर्ने माता सरस्वती उप्रेतीको म्युजियम परिसर भित्र सालिक बनाइएको छ ।

हाल फैलिएको कोरोना भाइरसको सङ्क्रमण कायम रहेसम्म महेन्द्रनगर म्युजियमको भित्री भाग भने बन्द रहनेछ । तर स्टेच्यू अफ सिद्ध नाथ बाबा र हेलिकोप्टर भित्रको फोटोग्राफी र म्युजियम परिसर बाहिर कोभिड– १९ बाट उच्च सतर्कता अपनाएर फोटो खिच्न सिद्ध नाथ बाबा दर्शनर्नार्थ बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला गरिनेछ ।

७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई म्युजियम प्रवेश निःशुल्क गरिएको छ । अन्यको हकमा प्रवेश शुल्क रु ५० निर्धारण गरिएको छ । म्युजियम पूर्ण रूपमा सञ्चालनमा आइसकेपछि भने विद्यार्थीहरूका लागि रु १०० र अन्यका लागि रु १५० प्रवेश शुल्क निर्धारण गरिने उप्रेतीले बताए । 

 

प्रकाशित:
2020/11/13, 11:17