साल्ट ट्रेडिङको मललाइ सुदूरपश्चिम प्रदेश कृषि मन्त्रालयद्वारा १ करोड अनुदान

किसान लाई राहत
mal
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिमका किसानले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्रिबितरण गर्दै आएको मलमा अब सहुलियत दरमा पाउने भएका छन् ।  सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड लाई एमोनियम सल्फेट, सिङ्गल सुपर फस्फेटमा सहुलियत दरमा बिक्री गर्न आज १ करोड रकम उपलब्ध गराउने सम्झौता गरे पछि किसानले सहुलियत दरमा मल पाउने भएका हुन । 

बिहीबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरी उपस्थितिमा मन्त्रालयका सचिव किसन लाल भट्ट र कर्पोरेसनका नायब महाप्रबन्धक केशव प्रसाद पाण्डेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । एमोनियम सल्फेट प्रति ५० किलोको बोरामा ४२६ रुपैयाँ अनुदान दिइने छ । यस अघि १४२६ रुपैयाँमा बिक्री गरिँदै आएको उक्त मल अब १ हजार रुपैयाँमा बिक्री  गरिने कर्पोरेसनका नायब महाप्रबन्धक पाण्डेले बताए । सिङ्गल सुपर फस्फेट यस अघि ११६६ मा बिक्री गरिँदै आएकोमा अब ९२० कायम गरिएको छ भने सिङ्गल सुपर फस्फेट जिङ्क सहित प्रतिबोरा ९०० कायम गरिएको कर्पोरेसनका नायब महाप्रबन्धक पाण्डेले जानकारी दिए । 

अब युरियाको विकल्पमा एमोनियम सल्फेट र डिएपीको विकल्पमा सिङ्गल सुपर फस्फेट प्रयोग गर्न सकिने भएकोले   प्रदेशमा मल अभाव कम भई यसले कृषि उत्पादन समेत बढ्ने नायब महाप्रबन्धक पाण्डेले बताए ।  साल्ट ट्रेडिङले आफ्ना सहकारी मार्फत सुदूरपश्चिममा मल बिक्री वितरण गर्दै आएको छ । चालु आर्थिक वर्षको चार महिना अवधिमा ३ हजार ४६५ मेट्रिक टन मल बिक्री भइसेको पनि उनले जानकारी दिए । 

 

प्रकाशित:
2020/11/19, 5:07