धनगढीमा उपचाररत अर्का कोरोना सङ्क्रमितको मृत्यु

Corona Update
फाइल तस्बिर

धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना पुरुष कोरोना सङ्क्रमितको आज फेरी मृत्यु भएको छ ।  धनगढी उपमहानगरपालिका–५ निवासी ५५ वर्षीय पुरुषको आज अपराह्न १२ बजे उपचारका क्रममा  अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि गत कार्तिक २५ गतेबाट सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उनको उपचार थालिएको थियो । उनमा डायबिटिज रोगको समेत समस्या थियो ।  नेपाली सेनाले उनको शव व्यवस्थापनको तयारी गरेको छ ।

यस अघि आज बिहान पनि एक जना कोरोना सङ्क्रमितको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

गौरीगंगा नगरपालिका वडा नम्बर ७ की ७५ वर्षीया महिलाको बिहान १० बजेर २५ मिनेटमा अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । गत कार्तिक २९ गतेबाट सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उनको उपचार थालिएको थियो । उनी मिर्गौला सम्बन्धी रोगबाट समेत ग्रसित रहेको अस्पतालले जनाएको छ । 

प्रकाशित:
2020/11/20, 2:47