सुदूरपश्चिममा कोरोना सङ्क्रमणका कारण पहिलो स्वास्थ्यकर्मी निधन

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिममा कोरोना सङ्क्रमणका कारण पहिलो स्वास्थ्यकर्मीको निधन भएको छ ।

अछामको तुर्माखाँद गाउँपालिका–१ मा रहेको रहफ स्वास्थ्य चौकीका इन्चार्ज, सिनियर अहेब कपिल श्रेष्ठको शुक्रवार अपराह्न १२ बजे उपचारका क्रममा  सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा निधन भएको हो ।

धनगढी उपमहानगरपालिका–५ निवासी ५५ वर्षीय श्रेष्ठ लाई गत कार्तिक २५ गतेबाट अस्पताल भर्ना गरिएको थियो ।

श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

एक वर्ष अघि २०७६ कार्तिक २१ गते देखि उनी अछामको रहफ स्वास्थ्य चौकीका इन्चार्जका रूपमा कार्यरत थिए ।

दसैँ बिदा मनाउन उनी धनगढी घर आएका थिए ।

दसैँ मनाएर कार्यक्षेत्र अछाम फर्किएका उनी स्वास्थ्यमा समस्या देखिएपछि पुनः धनगढी फर्किएका थिए ।

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थिले कोरोनाका कारण सुदूरपश्चिममा ज्यान गुमाउने श्रेष्ठ पहिलो व्यक्ति भएको बताए । 

कैलालीको गोदावरी आर्य घाटमा नेपाली सेनाले शुक्रवार श्रेष्ठको हिन्दु संस्कार अनुसार अनतेष्टि गरेको थियो । 

प्रकाशित:
2020/11/21, 11:45