बैतडीको झुलाघाट नाका ५ दिनका लागि खोलियो

jhulaghat
सुदूर प्रेस संवाददाता

बैतडी–भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि ५ दिनका लागि खोलिएको छ। भारतीय पेन्सनधारी नेपाली नागरिकको समस्यालाई ध्यानमा राखेर नाका खोलिएको हो।

पेन्सनधारी नेपाली नागरिकहरूलाई पेन्सन बुझ्ने प्रयोजनका लागि आजदेखि मंसिर १२ गते शुक्रबारसम्मका लागि  नाका खोलिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लाकेन्द्र सिंह नेगीले जानकारी दिए। पेन्सनरहरूलाई आवश्यक कागजात सहित झुलाघाटस्थित एसबिआई बैंकमा सम्पर्क राख्न आग्रह गरिएको छ।  

नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोलिएको हो।  कोरोना भाइरसका कारण सीमा नाका झुलाघाट गएको चैतदेखि बन्द छ। नाका बन्द भएका कारण पेन्सनधारीले पेन्सन बुझ्न पाएका छैनन्। 

नाका खुला भएको समयमा दुवै पक्षको समन्वयमा अत्यावश्यक र आकस्मिक काम परेकाहरूलाई पनि आवतजावत गर्न दिइनेछ। आवतजावतका बेला स्वास्थ्यका मापदण्ड भने पूर्ण रुपमा पालना गर्नुपर्ने जनाइएको छ। 

लामो समयपछि नाका खुलेसँगै पेन्सन बुझ्ने नागरिक खुसी हुँदै झुलाघाट पुगेका छन्।

लामो समयदेखि बन्द रहेको  भारतसँग सीमा जोडिएको झुलाघाट नाका खुलेपछि भारतीय पेन्सनधारी नेपाली नागरिक खुसी भएका हुन्। 

पेन्सनधारी नेपाली नागरिकले भारतीय बैंकमार्फत पैसा बुझ्ने गरेका छन्। बैतडीमा १ हजार २ सय बढी भारतीय पेन्सनधारी नागरिक छन्।

प्रकाशित:
2020/11/23, 5:20